कोरोनामा मानवीय हेलचेक्र्याइँ भयो

मेचीकाली संवाददाता

२२ श्रावण २०७८, शुक्रबार
1107 shares

लामो समयदेखिको निषेधाज्ञापछि पनि जनस्वास्थ्यको मापदण्ड पालना नभएकाले अहिले फेरि कोरोना संक्रमितको संख्या बढिरहेको छ । डेढ महिनाकै अवधिमा पुन ः कोरोनाबाट हुने क्षति बढ्ने खतरा उत्पन्न भएको छ । विशेषज्ञहरुले यसलाई मानवीय लापरबाहीको संज्ञा दिएका छन् । समुदायमा र अझ घरघरमा भाइरस रहिरहेकै बेला स्वास्थ्य मापदण्ड नअपनाउनेको संख्या बढ्यो र धेरैतिर भीडभाड पनि बढ्यो । यहीँ मानवीय हेल्चेक्र्याइँ र कमजोरीका कारणले कोरोना संक्रमण फेरि उकालो लागेको हो ।

कोरोनाको कुनै उपचार नरहेको र यसको औषधीसमेत नबनेको अवस्थामा कोरोनाबाट जोगिनु भनेकै स्वास्थ्य मापदण्डको पालना गर्नु हो । सावधानी अपनाउनु हो । साथै कोरोनाविरुद्धको खोप लगाउनु हो । यद्यपि खोप लगाउनेको संख्या कुल जनसंख्याको तुलनामा ज्यादै कम छ । अघिल्लो सरकारले धेरै मात्रामा कोरोनाको खोपको प्रबन्ध गरेको भएपनि अहिलेको सरकारले यसको उचित व्यवस्थापन गर्न सकिरहेको छैन । अरु नयाँ खोप ल्याउने र पहिले सम्झौता भएकोलाई उचित व्यवस्थापन गर्नेतर्फ वर्तमान देउवा नेतृत्वको सरकार अलमलिएको छ ।

अहिले जुन अनुपातमा संक्रमण फैलिएको छ त्यो हेर्दा फेरि मानवीय क्षति बढ्न सक्ने खतरा छ । पहिलेको गल्तीबाट केही पाठ नसिकेको कारणले पनि अहिले जोखिम बढेको विज्ञहरुको भनाइ छ । अब उपचारात्मक सेवा सँगसँगै महामारी नियन्त्रणको लागि परीक्षण बढाउन जरुरी छ । समुदायमा जतिसक्दो चाँडो र धेरै परीक्षणको दायरा बढाउनुपर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोजसम्ममा तेस्रो लहर आउने अनुमान गरेकाले पनि अहिले समुदायमा परीक्षणलाई विस्तार गर्नु पहिलो काम बनेको छ । हाम्रा सबै स्वास्थ्य प्रणाली तयारी अवस्थामा राख्नुपर्ने छ ।

समुदायबाट संक्रमण निस्तेज गर्न प्रयास नगरुञ्जेल संक्रमण बढ्ने क्रम जारी नै रहने विज्ञहरुको भनाइ संवेदनशील छ । जनस्वास्थ्यविद्हरुले समुदायमा लामो समयसम्म भाइरस रहन दिँदा धेरै क्षति गर्ने भएकाले यसलाई निस्तेज पार्न जरुरी रहेको बताउँदै आएका छन् । संक्रमणलाई नियन्त्रण गर्न प्रभावकारी प्रयास थाल्न अब ढिलाई गर्नु हुँदैन । भाइरस फैलिने वातावरण निर्माण गर्ने काम रोक्नुपर्छ । जबसम्म समुदायबाट भाइरस निस्तेज हुँदैन तबसम्म नयाँनयाँ भेरियन्ट बनेर भाइसले सताइरहन्छ । मानवीय गतिविधि र व्यवहारलाई अब सुधार्न जरुरी छ । हाम्रै हेलचेक्र्याइँका कारण संक्रमण बढेको यर्थाथलाई स्वीकार गरेर आजैदेखि सावधान र सजग रहौं ।