लिला गिरीलाई ज्येष्ठ नागरिकको आशिष र युवाको भरोशा

मेचीकाली संवाददाता

१७ कार्तिक २०७९, बिहीबार
217 shares

बुटवल । तिलोत्तमाका मतदाताले समृद्धि र विकासका अधुरा कामलाई टुंगोमा पुर्याउन उम्मेदवारलाई आग्रह गरेका छन् । तिलोत्तमामा चुनाबी कार्यक्रम लिएर घर दैलोमा गएका रुपन्देही क्षेत्र नं. २ (१) का नेकपा एमालेका उम्मेदवार लिला गिरी सहितका नेताहरुलाई मतदाताले समृद्ध देश र विकासका अधुरो काम टुंगोमा पुर्याउनेलाई आफुहरुले मत दिने बताए ।

योगिकुटीबाट सुरु भएको घरदैलो अभियानमा उम्मेदवार गिरीले जेष्ठ नागरिक, युवा तथा स्थानियका सुझावहरु समेत लिएका थिए । अधिकांश सुझाव दिनेहरुले एमाले नेतृत्वको सरकारले मात्र जनताका ईच्छा र आकांक्षा पुरा गर्ने बताएका थिए । एमाले सरकारमा रहँदा अघि बढाएका कतिपय योजना अधुरै रहेकाले पनि त्यी योजना टुंगोमा पुराउन एमालेलाई मत दिने योगिकुटीका आर.सी अर्यालले बताए । घरदैलो अभियानकै क्रममा विभिन्न टोलमा भएको चुनाबी कार्यक्रममा त्यहाँका बासिन्दाले राजनीतिक स्थायित्व र विकासका कामलाई टुंगोमा पुर्याउन र प्रदेशको नेतृत्व एमालेले गर्दा शुसासन कायम गर्न सुझाव पनि दिए ।

गठबन्धनले सरकार चलाउँदा आर्थिक मितिव्यीयता समेत नभएको र जम्बो मन्त्रिपरिषद् बनाउँदा राज्यको दोहन भएको भन्दै ४ मंसिरमा एमालेको नेतृत्व पछि बन्ने सरकार चुस्त बनाउनुपर्ने समेत उनीहरुको सुझाव थियो ।
साथै सो अवसरमा उनीहरुले योगिकुटी शारदा स्कुल सडक, अव्यवस्थित बसोबासीलाई लालपुर्जा, स्रोह छत्तिस नहरको व्यवस्थापन, भित्रि सडकका लागि कालोपत्रे गर्न सुझाव दिएका थिए । मतदाताले दिएको सुझाव पछि नेता गिरीले एमाले नेतृत्वको सरकार बन्न साथ भुमिहिन, अव्यवस्थित र सुकुमबासीहरुको समस्या समधान पहिलो प्राथमिकतामा राख्ने बताए ।

एमाले नेतृत्वको सरकारमा रहँदा भुमि आयोगनै गठन गरी यसको समधानको प्रयास गरेपनि सरकार परिर्वतन भएपछि उक्त काम अधुरो रहेको बताए । साथै उनले तिलोत्तमा क्षेत्रलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न बनबाटिकाका अलवा अनेत्र पनि बहुउपयोगी पार्क निर्माणको योजना अघि बढाउने बताए ।

बनबाटिका राष्ट्रिय स्तरमा समेत परिचित भइसकेको र बहुउद्देश्यीय टावर समेत सञ्चालनको प्रक्रियामा रहेको भन्दै अब तिलोत्तमा साच्चै समृद्ध बन्ने बताए । उनले तिलोत्तमा भित्र निर्माण हुन लागेको बुटवल मेडिकल कलेज पनि एमाले नेतृत्वको सरकार गठन भएपछि पुरा हुने बताए । तिलोत्तमालाई शिक्षा, स्वास्थ्य, पर्यटकिय हवको रुपमा विकास गर्ने बताउँदै नेता गिरीले समग्र तिलोत्तमाको विकास र प्रदेशको समृद्धिका लागि एमालेलाई मत दिन आग्रह गरे ।

तिलोत्तमामा अहिले पनि अधिकांश जमिन खेतियोग्य रहेको भन्दै नेता गिरीले सिचाईको प्रबन्ध र आवश्यक मल, विउ, विजनको व्यवस्था गरी कृषिलाई आधुनिक र व्यवसायीकरण गर्ने बताए । आफु पर्यटन मन्त्री रहँदा यस क्षेत्रमा विकासका योजना अघि बढाएको स्मरण गराउँदै उनले अधुरा सवै आयोजना सरकार गठन हुन साथ सुरु हुने मतदाता सामु प्रतिबद्धता जनाए ।