जनताको माग पूरा गर्न एमालेको सरकार आवश्यक छः उपाध्यक्ष पौडेल

मेचीकाली संवाददाता

१८ कार्तिक २०७९, शुक्रबार
401 shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताएका छन् ।

शुक्रवार रुपन्देही क्षेत्र नम्बर २ मा आसन्न निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका लागि घरदैलो कार्यक्रमको शुरुवात गर्दै उनले विश्वासको मार्गमा देशलाई अघि बढाउन, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न नेकपा एमालेको सरकार बन्न आवश्यक रहेको बताए । उनले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन आवश्यक रहेको बताए ।

उनले नेकपा एमालेको सरकार हुँदा विकास निर्माणका कामले गति लिएको र आगामी सरकार नेकपा एमालेको बनेपछि पनि गरेका प्रतिवद्धता पूरा गर्ने बताए । उपाध्यक्ष पौडेलले आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूलाई भारी मतले विजय गराउन पनि मतदातासमक्ष आग्रह गरे ।