तिलोत्तमामा छिट्टै मेडिकल कलेज र खेल पुर्वधार बन्छः पौडेल

मेचीकाली संवाददाता

१८ कार्तिक २०७९, शुक्रबार
147 shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधी सभा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलले तिलोत्तमामा मेडिकल कलेजको पुर्वधार निर्माण छिट्टै सुरु हुने बताएका छन् ।
तिलोत्तमा वडा नं. १ मा भएको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको कार्य अघि बढेको बताउँदै छिट्टै पुर्वधार निर्माणको काम सुरु हुने बताए ।

पुर्वधार निर्माणको काम सुरु भएको केही समयमा मेडिकल कलेज सञ्चालनमा आउने बताउँदै उनले त्यसपछि तिलोत्तमा १ का बासीहरुको मुहार बदल्ने बताए । मेडिकल कलेज निर्माण संगै सडक, पुर्वधार निर्माण हुने र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना पनि सो क्षेत्रमा हुने उनको भनाई छ । त्यसका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको उनले बताए ।

पौडेल अर्थमन्त्री भएका बेला तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको अवधारणा अघि बढेको थियो । तत्कालीन समयमै वरिष्ठ चिकित्सक डा. सरोज ओझाको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले प्रस्ताव गरिएको जग्गा कलेज स्थापनाका लागि उपयुक्त रहेको ठहर गर्दै शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।

त्यही प्रतिवेदनलाई कार्यान्वयन गराउन एमाले उपाध्यक्ष विष्णु पौडेलले लविङ गरेका थिए । त्यसपछि तिलोत्ततमा मेडिकल कलेज स्थापना कार्य सुरु भएको थियो । अहिले सरकारी मेडिकल कलेजको डिपीआर तयार भइसकेको बताउंदै नेता पौडेलले मेडिकल कलेज स्थापना पछि तिलोत्तमाले नै स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताए ।

तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको २ सय विगाह जग्गामा मेडिकल कलेज बन्नेछ । गुरुयोजना अनुसार १ हजार बेडको अस्पताल बन्नेछ । सुरुमा ३ सय बेडको हुने र क्रमश १ हजार बेडको अस्पताल बन्नेछ ।
बुटवल मेडिकल कलेजको ८ चैत २०७५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमामा कार्यालयको उद्घाटन गरेका थिए । रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरी सहित घरदैलो अभियानमा पुगेका पौडेललाई मतदाताले नाली निर्माण, डुवान रोक्न र सडक पुर्वधार निर्माण गर्न आग्रह गरेका थिए ।

सो क्रममा पौडेलले तिलोत्तमा १ मा नयाँ खेल मैदान सिद्धार्थ खेलमैदान आवश्यक रहेको जानाकारी आफुलाई आएको भन्दै नयाँ खेल मैदान निर्माण गर्ने प्रतिबद्धता जनाए । साथै उनले डुवानको समस्या समधान छिटो हुने बताउँदै सडक निर्माणको कार्य टेण्डर प्रक्रिया भइसकेको र अब निर्माण छिट्टै हुने बताए ।

सोही घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं .१ (१) का उम्मेदवार लिला गिरीले शान्ती र विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दिनको उज्यालो जतिकै छर्लङ रहेको बताए । केन्द्रमा र प्रदेशमा एमालेको सरकार निर्माण गरी जनता र राष्ट्रको पक्षमा सकारात्मक कार्य एमालेले गर्ने बताए । साथै उनले तिलोत्तमालाई पर्यटकिय हवको रुपमा विकास गर्ने एमालेको योजना रहेको बताए ।