एकीकृत समाजवादीको ‘खुद्रा पसल’ चुनावपछि बन्द हुन्छः सचिव विष्ट

मेचीकाली संवाददाता

१८ कार्तिक २०७९, शुक्रबार
226 shares

बुटवल । नेकपा एमालेका सचिव गोकर्ण विष्टले निर्वाचनपछि नेकपा एकीकृत समाजवादी राजनीतिक भविश्य सकिने दावी गरेका छन । ‘स्खलित’ हुँदै गएको एकीकृत समाजवादीको खुद्रा पसल चुनावपछि बन्द हुने विष्टले दावी गरे ।

गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका नेता विष्टले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरूसँग भने, ‘नेकपा एसको राजनीतिक भविश्य छैन । पार्टीबाट देशभर एमालेमा फर्किने क्रम निरन्तर बढदै गएको छ । खुद्रा पसल चुनावपछि पूर्ण रूपमा बन्द हुन्छ ।’
गुल्मीमा आफ्नो प्रतिष्पर्धी कोही नभएको उम्मेदवार विष्टले दावी गरे । आफ्ना प्रतिष्पर्धामा रहेकी रामकुमारी झाँक्रीलाई लक्षित गर्दै उम्मेदवार विष्टले थपे, ‘पर्यटन प्रवद्र्धन गर्न गाउँ डुले जस्तै गरेको देखेको छ । सांसद हुँदा १० हजार बजेट कही हालेको प्रमाण छैन । हामीले अगाडि बढाएका आयोजनालाई देखाएर चुनाव प्रचार गरिँदैछ । सांसद हुँदा ५ वर्षसम्म जिल्लामा नफर्किनेसँग तुलना हुँदैन । गुल्मीबासी सबै हेक्का राखेका छन ।’

स्थानीय तहमा ५६७ मत ल्याएको पार्टीसँग आफ्नो कुनै प्रतिष्पर्धा नहुने विष्टको भनाइ थियो । विष्टले एमालेले निर्वाचनमा बहुमत ल्याउने पनि दावी गरे । एमालेको बहुमत देशको लागि आवश्यक रहेको भन्दै त्यहीँ अनुसार देशभर चुनावी माहोल बनेको विष्टले दावी समेत गरे । गरिबी, बेरोजगारीबाट जनतालाई माथि उठाउन अहिलेको चुनाव महत्वपूर्ण रहेको बताउँदै सही पार्टी र उम्मेदवारलाई छनौट गर्न सचिव विष्टले मतदातालाई आग्रह गरे ।

‘हाम्रो पार्टी समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पूरा गर्न हामी अभियानमा जुटेका छौं त्यही अनुसार जनता पनि उत्साहित भएर चुनावमा लाग्नुभएको छ ।’ विष्टले भने । पूर्वमन्त्री विष्टले एमालेले घोषणापत्रमा समावेश गरेका सबै कार्यक्रमहरु पूर्ण कार्यान्वनमा आउने दावी गरे । आफूले अगाडि सारेका विकास आयोजना गुल्मीको विकासमा महत्वपूर्ण रहेको विष्टले बताए ।