मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छः नेता गैरे

मेचीकाली संवाददाता

२० कार्तिक २०७९, आईतवार
436 shares


पाल्पा । नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा पाल्पा क्षेत्र नं. २ का उम्मेदवार ठाकुर गैरेले आगामी मङसिर ४ पछि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार बन्ने बताएका छन् । तानसेनमा आयोजित युवा भेला तथा प्रशिक्षण कार्यक्रमका अवसरमा बोल्दै नेता गैरेले एमाले पार्टी हार्नु भनेको नेपाल र नेपाली जनताले हार्नु हो । राष्ट्र र राष्ट्रियताको हीतमा काम गर्ने एक मात्र पार्टी एमाले भएकोले अत्यधिक मत दिएर बिजयी गराउन उनले अपिल गरे ।


यसै अवसरमा विभिन्न पार्टी परित्याग गरि ३ सय जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । युवाहरुलाई संबोधन गर्दै आफू निर्वाचित भएपछि सिद्धबाबा सडक खण्ड जोखिममुक्त र सुरक्षित बनाउने, तानसेन लगायत बिभिन्न ठाउँका खानेपानी समस्या समाधान गरि एक घर एक धारा अभियानलाई सफल पार्ने, खानेपानीको बिद्युत महसुल निःशुल्क बनाउने, शैक्षिक इतिहास बोकेको पाल्पामा समयसापेक्ष प्राविधिक र गुणस्तरीय शिक्षाका लागि पहल गर्ने, प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै पाल्पालाई आत्मनिर्भर बनाउने गैरेले प्रतिबद्धता व्यक्त गरे ।
एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पा एमालेमय बनेको बताए । पाल्पाको इतिहासमा २०५१ साल देखि पाल्पाको एमालेको लालकिल्लाको रुपमा रहेको र आगामी निर्वाचनमा पनि पाल्पाका सबै एमाले उम्मेदवारले जित हासिल गर्ने पाल्पा लालकिल्लाकै रुपमा रहने ठोकुवा गर्नुभयो । भयरहित स्वच्छ र स्वतन्त्र ढंगबाट मत खसाल्ने वातावरण मिलाउन उहाँले युवालाई आग्रह गर्नुभयो ।

क्षेत्र नं. २ (१)का प्रदेशसभा सदस्य उम्मेदवार परशुराम भट्टराईले आफू पद र शक्तिमा नहुँदा पनि जिल्लाको समग्र विकासका निम्ति प्रसस्त काम गरेको र आफू निर्वाचित भएपछि निस्वार्थ भावले अझ धेरै काम गर्ने बताए । क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्य उम्मेदवार ओम बहादुर घर्तीले आफू निर्वाचित भएपछि जनताको माग र आवश्यकताको आधारमा विकास निर्माणका गतिबिधिलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार इन्द्राकुमारी गहतराजले उत्पिीडित समुदायको हितको निम्ति काम गर्ने एक मात्र पार्टी एमाले रहेको बताईन ।

तानसेनका युवा कुमार श्रेष्ठको पहलमा सुरज सुवाल, कुशल श्रेष्ठ लगायतका युवाहरुको नेतृत्वमा ३ सय बढी युवालाई नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा पाल्पा क्षेत्र नं. २ का उम्मेदवार ठाकुर गैरे, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराई, ओम बहादुर घर्ती, पार्टी सचिव रामजी पोखरेल लगायतले स्वागत गरेको कार्यालय सचिव दीपक बिश्वकर्माले बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका पार्टी परित्याग गरि युवाहरु एमालेमा प्रवेश गरेका एमाले पाल्पाले जनाएकोछ ।