देशलाई सुरुङ युगमा प्रवेश गरायौँः ज्ञवाली

मेचीकाली संवाददाता

२० कार्तिक २०७९, आईतवार
353 shares

गणेश पन्थ
गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई सुरुङ युगमा प्रवेश गराउने काम एमाले सरकारको पालामा सुरु भएको बताएका छन् । उनले नागढुंगामा एमालेकै पालाबाट सुरुङ निर्माण सुरु भएको बताउँदै बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा निर्माण हुने सुरुङ मार्गको डिपिआरको काम पनि एमालेकै पालामा भएको बताए ।

गुल्मीको क्षेत्र नम्बर–१ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारसमेत रहेका ज्ञवालीले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचित भएपछि पाँच वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडकपूर्वाधार, पर्यटन, विद्युत् जस्ता महत्वपूर्ण क्षेत्रमा उल्लेख्य काम अगाडि बढाइएको बताए ।

देश अहिले सुरुङ युगमा प्रवेश गरेको उल्लेख गर्दै यसको आधार एमालेकै सरकारले तयार गरेको उनले बताए । ज्ञवालीले भने,‘देशलाई एमालेकै सरकारको पालामा द्वन्द्वबाट मुक्त बनायौं, देशमा गणतन्त्र आएपछि पनि द्वन्द्व बाँँकी थियो, तराईमा द्वन्द्व चर्काएका सिके राउत चन्द्र–सूर्य झण्डा समाएर शान्तिको बाटोमा ल्याउन सफल भयौंं ।’

‘मधेशवादी दलहरुले संविधान जलाइरहेका थिए, सिके राउतले मधेशमा द्वन्द्व चर्काउँदै थिए, विप्लव शान्ति प्रकृया बाहिरै थिए तर जब नेकपाको सरकार बन्यो विगतका सबै द्वन्द्व समाधान भए ।’ उनले भने । उनले मुलुकलाई द्वन्द्वबाट मुक्त बनाउन एमाले नेतृत्वको सरकारले सफलता पाएको दावीसमेत गरे ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले नेकपा एमालेको राष्ट्रियताको अडानकै कारण देशले नयाँ नक्सा पाएको बताए । उनले कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर नयाँ नक्सा बनाएको बताउँदै देश सानातिना धक्काले देश झुक्दैन भन्ने प्रमाणि गरेको बताए ।

‘अहिले दलहरुबीच प्रतिस्पर्धा छ तर द्वन्द्व छैन, तीनै तहलाई सरकारलाई अधिकार सम्पन्न बनायौं, सविधान कार्यान्वयन ग¥यौं ।’ उनले भने । एमालेको राष्ट्रियताको अडानकै कारण देश अहिले विश्वका कुनैपनि मुलुकसँग झुक्न नपरेको उनले बताए ।
जनताको साथ मायाकै कारण देशमा नेकपाको नेतृत्वमा तीन वर्ष सरकार चलेको बताउँदै त्यस अवधीमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले विकासमा फड्को मारेको उल्लेख गरे । उनले नेकपाको नेतृत्वको तीन वर्षको सरकार इतिहासकै सफल सरकारको रुपमा रहेको बताए । ज्ञवाली अहिले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा व्यस्त छन् ।