नेपाल स्वयंसेवक संघः नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुद्धारा पदभार ग्रहण

मेचीकाली संवाददाता

२० कार्तिक २०७९, आईतवार
347 shares

रुपन्देही । केही समय अगाडी सम्पन्न नेपाल स्वयंसेवक संघको केन्द्रीय प्रथम साधारणसभा तथा अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीहरुको पदभार तथा सपथ ग्रहण समारोह लुम्बिनी विकास कोषको सभाहल लुम्बिनीमा सम्पन्न गरिएको छ ।

संस्थामा खेमराज पौडेलको अध्यक्षतामा ९ सदस्यीय नव निर्वाचत समिती चयन गरिएको थियो । जसको बरिष्ठ उपाध्यक्षमा रवीन्द्र पौडेल, उपाध्यक्षमा सन्तोष अधिकारी, महिला उपाध्यक्षमा सिन्धु जलसा बुढाथोकी, महासचिवमा कोमल खरेल, सचिवमा पार्वती आचार्य, कोषाध्यक्षमा सन्दीप गुप्ता निर्विरोध चयन हुनु भएको थियो ।

यस्तै सदस्यमा बिजया खत्री र गोम बिक्रम सदस्यमा चयन हुनु भएको थियो भने लेखा समितीमा ३ सदस्यीय चयन गरिएको थियो । जसमा गोपाल खनाल संयोजक, शारदा भुषाल र सुबास बेलबासेलाई सदस्यमा चयन गरिएको थियो ।

नव निर्वाचित पदाधिकारीहरुलाई गैसस महासंघका पुर्व केन्द्रीय सदस्य, ईन्चार्ज, मानव अधिकारकर्मी तथा निर्वाचन समितका संयोजक पोमनारायण पौडेलले गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । पौडेलले नव निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई कार्यकालको हार्दिक बधाई तथा शुभकामना समेत दिनु भएको थियो ।

यस्तै स्वयंसेवक संघका नव निर्वाचित केन्द्रीय अध्यक्ष खेमराज पौडेलले संस्थाको बारेमा जानकारी दिंदै यस संस्थालाई अगाडी बढाउन सदैब लागि पर्ने बताउनु भयो । साथै उहाँले यस संस्थालाई उच्च स्थानमा राख्न संस्थाका पदाधिकारीहरुको एक रुपता हुन आवश्यक भएको बताउँदै मानव अधिकारकर्मी तथा नागरिक सामाज लगाएत बिभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

नव निर्वाचित महासचिव कोमल खरेलले सामाजिक संस्थाहरुको भूमिका महत्वपुर्ण हुने भएको हुँदा लक्ष्य र उद्देश्य पुरा गर्न आफ्नो अहम भूमिका रहने बताउनु भयो । उहाँले समाजिक बिकासका एजेण्डाहरुबाट नै समाजिक बिकासको रुपान्तरण सम्भव भएको हुँदा यस संस्थालाई अगाडी बढाउन आवश्यक भएको बताउनु भयो ।

यस्तै समाजसेवी केशव खनालले नव निर्वाचित पदाधिकारीहरुलाई कार्यकालको शुभकामना दिंदै संस्थाकोलागि आवश्यक सहयोगकालागि सधैव तयार रहेको प्रतिवद्धता जनाउनु भयो । साथै यस संस्थाले समाज परिवर्तन गर्नकालागि लाग्न जरुरी देखिएको बताउनु भयो ।

यसैगरी समाजसेवी हेम बहादुर खड्का र खुश्बु चौधरीले संस्थाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिंदै समाज परिवर्तन गर्न युवा, युवतीहरुलाई शसक्तिकरणका लागि यस संस्थाले अगुवाई गर्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रम संस्थाका नव निर्वाचित सचिव पार्वती आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।