रूपन्देही क्षेत्र नं ५ मा एमालेका पाँच वर्षका १५ ग्यारेन्टी

मेचीकाली संवाददाता

२१ कार्तिक २०७९, सोमबार
253 shares

एस.आर पौडेल
बासुदेव घिमिरे रूपन्देहीको क्षेत्र नं ५ का नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । घिमिरे नेपाली जनताका आशाका धरोहर र युगान्तकारी परिवर्तनको सोच भएका योद्धा हुन् । उनी विकासको मार्गचित्र कोर्न सक्ने स्पष्ट वैचारिक दृष्टिकोण भएका विकासप्रेमी युवा नेता हुन् । युवाले नै भविष्यका बारेमा योजना बनाउन सक्ने भएकाले वर्तमानमा युवापुस्ताको खाँचो छ । त्यसैले युवा नेता वासुदेव घिमिरे अहिलेको नेपाली राजनीति र संसदका लागि आवश्यक नेता भएको स्पष्ट नै छ ।

बिना योजनाका कामबाट सफलता प्राप्त गर्न सकिँदैन तसर्थ हरेक कामको पूर्वयोजना आवश्यक हुन्छ भन्ने मान्यता राख्ने बासुदेव घिमिरे विकास र जनसेवाका लागि आफ्नो निजी क्यालेन्डर बनाएर सोहीअनुसार काम गर्ने सफल नेतृत्व हुन् । रूपन्देही जिल्ला मोफसलपछिको राजनीति र विकासको केन्द्र हो । रूपन्देही जिल्लाको केन्द्र क्षेत्र नं ५ मा १५ वर्ष शासन गरेका बादशाहबाट यस क्षेत्रको विकासका लागि कुनै चासो नदिएका कारण यस क्षेत्रमा विकास हुन सकेन ।

वासुदेव घिमिरेको नेतृत्वमा रहेका नेकपा एमालेका उम्मेदवारहरुले आर्थिक समृद्धिका लागि आधारशीलाको रूपमा रहेका कृषि, सडक, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, भाषा, कला तथा संस्कृतिको संरक्षण र सम्बर्धन तथा सामाजिक क्षेत्रको विकास गरी समुन्नत क्षेत्रका रूपमा विकास गर्न पाँच वर्षमा सम्पन्न गर्ने १५ बुँदे ग्यारेन्टीको घोषणा गरेका छन् ।

१. अव्यवस्थित बसोबासी, भूमिहीन दलित, भूमिविहीन सुकुम्बासीहरूको समस्याको समाधान
२. खेतीयोग्य जमीनमा भूमिगत सिंचाईको व्यवस्था
३. कृषि तथा पशुपालनको व्यावसायीकरण
४. किसान कार्ड र कृषक अनुदानको व्यवस्था
५. एक निर्वाचन क्षेत्र एक राष्ट्रिय उद्योगको अवधारणाको कार्यान्वयन
६. पर्यटन विकासको पूर्वाधार तयार पारी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास
७. विस्तृत सडक गुरु योजना र सबै सडकको स्तरोन्नति
८. गुणस्तरीय साधारण तथा प्राविधिक शिक्षा
९. स्वास्थ्य सेवा केन्द्र एवं अस्पतालहरूमा दक्ष चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूको व्यवस्था
१०. अत्याधुनिक तथा सुविधासम्पन्न कम्तीमा १०० शैयाको अस्पताल निर्माण
११. प्रत्येक गाउँपालिका र नगरपालिकामा सुविधा सम्पन्न बर्थिङ सेन्टरको स्थापना
१२. सबै जातजाति, वर्ग, र समुदायलाई सबै क्षेत्रमा निष्पक्ष र समान अवसरको ग्यारेन्टी
१३. युवाहरूलाई स्वरोजगारी बनाउन एवं उद्यमशीलता विकासका लागि व्यवसायिक तथा सिपमूलक शिक्षा
१४. युवा उद्यम तथा रोजगार कार्यक्रमहरू सञ्चालन
१५. एक घर एक खानेपानी धारा र एक घर एक शौचालयको राष्ट्रिय अवधारणालाई मूर्त रूप

सबल र समुन्नत क्षेत्र, समानुपातिक विकास, जनमुखी सेवाप्रवाह, भ्रष्टाचारमा शून्य सहनशीलता, शिक्षा, स्वास्थ्य र रोजगारीको प्रबन्धका साथै रूपन्देहीकै नमुना क्षेत्र बनाउनका लागि यसपटक आम जनसमुदाय र मतदाताले पार्टी र राजनीति नहेरी प्रतिनिधि सभामा वासुदेव घिमिरे र प्रदेश सभातर्फ भूमिश्वर ढकाल र रामचन्द्र यादवलाई सूर्य चुनाव चिन्हमा मत दिई विजयी गराउनु प्रमुख जिम्मेवारी हो ।