पुरानो बटौलीमा भोजप्रसाद श्रेष्ठको घरदैलो

मेचीकाली संवाददाता

२१ कार्तिक २०७९, सोमबार
304 shares

बुटवल, कार्तिक २१ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २(२) का प्रदेशसभा उम्मेदवार भोजप्रसाद श्रेष्ठ भोट माग्दै बुटवल–१ स्थित ऐतिहासिक पुरानो बटौलीमा जनताको घरदैलोमा पुगेका छन् ।

सोमबार घरदैलोमा पुगेका श्रेष्ठले आफूले जनताको हितको पक्षमा काम गरेको, विगतमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको, नगरप्रमुख हुँदा गरेको नमुना विकास, कोभिडको समयमा छोटो कार्यकाल स्वास्थ्य मन्त्री हुँदा गरेका उल्लेख्य कामहरु र अब पाँच वर्षमा के गर्ने भन्ने घोषणापत्रमा उल्लेखित २० ग्यारेन्टी नै आफ्नो विगत र भविष्यको योजना रहेको श्रेष्ठले बताए । निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी वृद्धि, भ्रष्टाचार विरोधी अभियानलगायत जनचासो र सरोकारका विषयमा आफू सधैँ प्रतिबद्ध रहेको घरदैलोमा पुगेका श्रेष्ठले बताएका छन् ।

घरघरमा पुगेका श्रेष्ठलाई जनताले आशीर्वाद दिँदै भन्छन्,‘हामी काम गर्नेलाई भोट दिन्छौं, तपाईं काम गर्ने मान्छे हो र एमाले सामाजिक र अन्य जनसरोकारको क्षेत्रमा काम गर्ने पार्टी हो ।’ घरदैलोमा पुगेका श्रेष्ठलाई पहिले सुकुम्बासी आयोगमा रहेर गरेको काम, २०५५ सालमा ज्योतिनगरमा गरेको पहिरो व्यवस्थापन, २०५४ सालमा बुटवल नगरपालिकाको नगरप्रमुख हुँदा गरेको काम साथै कोरोना कालमा गरेको उल्लेख्य काम सम्झिएको बताउँदै निश्चित हुन मतदाताले श्रेष्ठलाई विश्वास दिलाए ।

यसैबीच औषधी व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै श्रेष्ठले अहिलेको गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताउँदै प्रदेश सरकार चुस्त, जनमुखी, कम खर्चिलो बनाएको हाम्रो इतिहास छ, भविष्यमा पनि एमालेले त्यहीँ गर्ने श्रेष्ठले बताए । राष्ट्रियताको पक्षमा, जातीय, धार्मिक, सांस्कृतिक रुपमा समतामूलक समाज निर्माणमा नेकपा एमाले हिजो प्रतिबद्ध थियो, आज पनि छ र भोलि पनि हुने श्रेष्ठले बताए ।

लोकतन्त्रमा दल बदल हुन्छ, नयाँ पार्टी जन्मिन्छन्, पार्टी छनोटको अधिकार हुन्छ, कसलाई मत दिने जनताको रोजाइ हुन्छ तर राष्ट्रियताको पक्षमा काम गर्ने, जनताको पक्षमा काम गर्ने पार्टी एमाले रहेको हिजोका हाम्रा काम र गठबन्धनको सरकारको अहिलेको कामले पुष्टि गरेको श्रेष्ठले बताएका छन् । ‘गठबन्धनको सरकारको कारण मूल्य वृद्धि भएको, राष्ट्रहितविरुद्ध गतिविधि बढेको, राष्ट्रिय ढुकुटीमा बिचौलियाको प्रवेश पाएर धनी पोस्ने गरिबलाई सेक्ने काम भयो, जनतालाई भ्रममा राखेर देश बर्बादी बनाउने छुट कसैलाई छैन् ।’ श्रेष्ठले भने ।