ऐतिहासिक रामघाट मेलामा भक्तजनको घुइँचो

मेचीकाली संवाददाता

२२ कार्तिक २०७९, मंगलवार
249 shares

सुनिल आचार्य

कपिलवस्तु । जिल्लाकै ऐतिहासिक रामघाट मेलामा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । कपिलवस्तु नगरपालिका– ३ स्थित रामघाट नदीको किनारमा लाग्ने मेला हेर्न मंगलबार बिहानैदेखि हजारौं भक्तजनको घुँईचो लागेको थियो । धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकाले छिमेकी जिल्लाबाट र छिमेकी जिल्ला भारतका बिभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरु आएको रामघाट मेला व्यवस्थापन समितीले जानकारी दिएको छ ।

कार्तिक शुक्ल पुर्णिमा दिन बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनामा मंगलबार लागेको मेला हेर्न ठूलो संख्यामा श्रद्धालुहरु आउने गर्छन् । प्राचीन भागिरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व बोकेको श्रद्धालु भक्तजनहरु बताउँछन् । मेलामा टाढा टाढाबाट भक्तजनहरु आएका छन् । रामघाटमा भारतको शोहरतगढ, तुुल्सीपुर, शोहरतगढ, अलीगढवा र नेपालको छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाची र नवलपरासी लगायतका स्थानका भक्तजनहरु आउने गर्छन् ।

रामघाट मेला व्यवस्थापन समितिका अनुसार यस बर्ष गत बर्षको तुलनामा श्रद्धालु भक्तजनहरुको संख्या बढेको छ । मंगलबार लाग्ने मेलाका लागि सोमबार साँझैबाट रामघाटमा श्रद्धालु भक्तजन आउनेक्रम सुुरु भएको थियो । राति ३ बजेबाटै रामघाटमा नदीमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पूजाआजा गर्नेको भिडभाड रहेको थियो ।

सो अवसरमा मन्दिर वरिपरि र नदी किनारमा रातभर साधुसन्त जाग्राम बसेर ढोल, खैजडी, झाँज र हारमुनियम बजाई भजन, कीर्तन र चुड्का भन्दै बस्ने गर्दछन् । त्रेता युगमा भगवान राम वनवास जाने क्रममा रामघाट आई पुग्दा उनलाई तिर्खा लागेपछि अर्जुनले बाण हानेर पानी निकालेको धार्मिक किम्वदन्ती रहेको जेष्ठनागरिक संघका जिल्ला उपाध्यक्ष पशुपत्तिमणी त्रिपाठीले बताए । भगवान् रामले पानी पिएको हुँदा यस ठाउँको नाम रामघाट रहन गई धार्मिक तीर्थस्थल भएको बुढापाकाहरुको भनाई छ ।

रामघाटमा स्नान गरी नदी छेउमा गोदान गर्ने गर्दछन् । गोदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले धेरै भक्तजन यहाँ गोदान गर्न आउने गरेको स्थानियहरु बताउँछन् । यस दिन नदीमा स्नान गरी पुुजाआजा गर्नाले पाप नास भई पुण्यफल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । भक्तजनहरुले भगवान रामको बाणद्धारा उत्पत्ति भएको बाणगंगा नदीमा स्नान गरी गोदान गर्नाले ठूलो पुण्यफल मिल्ने बताउँछन् । साथै भगवान राम, सीता र लक्ष्मणले नुहाएको नदीमा स्नान गरी गाई सहित अन्नपात दान गर्नाले बैतरणी पार हुन्छ भन्ने बिश्वास छ ।

मेलामा जिल्ला सहीत भारत, छिमेकी जिल्लाहरु लगायतका स्थानहरुबाट ठूलो संख्यामा सन्त, महन्त, साधुहरुहरु आएको कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले बताए । परम्परा गत रुपमा लाग्ने ऐतिहासिक मेला भएको हुँदा रामघाट मेला लाग्दा एक दिन सार्वजनिक बिदा समेत दिईएको कपिलवस्तु नगरपालिका मेयर सुदिप पौडेलले बताए । मेला व्यवस्थापन संगै स्वास्थ्य शिबिर समेत राखिएको मेयर पौडेलले बताए । मेलामा हुन सक्ने विभिन्न घटनाहरुलाई नियन्तरण गर्नका लागि सुरक्षाकर्मी प्रहरी परिचान गरिएको थियो ।