

बुटवल । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले नवौं राष्ट्रिय खेलकुद–२०७९ मा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका खेलाडीहरुलाई सम्मान गरेको छ ।
बुधबार बुटवलको मिलनचोकस्थित ए एण्ड ए हेल्थ क्लबमा आयोजना गरिएको कार्यक्रममा सुनिल आले, बिजेन्द्रमान श्रेष्ठ र विष्णु निशाधलाई सम्मान गरिएको हो । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत १७ औँ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा सुनिलले ६० किलो तौल समूहमा कास्य पदक जितेका थिए । बिजेन्द्रमानले ७० किलो तौल समूहमा कास्य पदक जितेका थिए भने विष्णुले ८० किलो तौल समूहमा रजत पदक जितेका थिए । साथै, सोही कार्यक्रममा प्रशिक्षक केशबबहादुर शाक्य तथा निर्णायकद्वय शिवध्वज राई र राजकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै शारीरिक सुगठन फिटनेस संघ रुपन्देहीका अध्यक्ष सितुप्रसाद श्रेष्ठले खेलाडीहरूले रुपन्दे खेलमा निरन्तर सफलता हासिल गर्दै गएको र राष्ट्रिय खेलमा प्राप्त पदकले खेलाडीहरुको मात्र नभई संघको नामसमेत उच्च बनाएको बताए ।

खेलाडीहरुको मनोबल बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमीका खेल्ने उनले बताए । उनले आगामी दिनमा खेलाडीहरूले अझ अनुशासित, मेहनती र लगनशील भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा समेत उत्कृष्ट प्रदर्शन गर्न रुपन्देही जिल्ला र देशकै नाम राख्ने विश्वास व्यक्त गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी खेलाडीहरुलाई धन्यवाद दिँदै सरकारबाट खेलाडीहरुले सहयोग नपाएको गुनासो गरे ।

संघका अध्यक्ष श्रेष्ठको अध्यक्षता, संघका प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक केशबबहादुर शाक्यको प्रमुख आतिथ्यता तथा रुपन्देही व्यायाम व्यवसायी संघका अध्यक्ष बिजेन्द्रमान श्रेष्ठ, रुपन्देही पावर लिफटिङ संघका अध्यक्ष चन्द्रमान श्रेष्ठ, रुपन्देही स्ट्रेन्थ लिफटिङ संघका अध्यक्ष विष्णु निशाधको आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा संघका पदाधिकारी तथा सदस्य, जिल्लाका शारीरिक सुगठन खेलाडीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संघका सचिव राजकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।