पाल्पाको समग्र बिकासका लागि मेरो उम्मेदवारीः नेता गैरे

मेचीकाली संवाददाता

२४ कार्तिक २०७९, बिहीबार
299 shares

बुटवल । नेकपा एमाले पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुर गैरेले सबैको साझा प्रतिनिधिका रुपमा आफु निर्वाचनमा होमीएको बताएका छन् । पाल्पाली जनताले विकास र समृद्धि चाहेको बताउँदै उनले त्यसको नेतृत्वका लागि आफू तयार रहेको उल्लेख गरे ।

नेता गैरेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै ४४ वटा वडामा पुगेर भेटघाट गर्ने अभियानलाई तिब्रता दिएको बताए । अभियानकै क्रममा मंगलबार बुटवलमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै उनले पाल्पामा चुनाव जित्ने आधार बलियो हुँदै गएको दाबी गरे । ‘संसदीय चुनावमा आफू उम्मेदवार भएर मत मागेको पहिलो अनुभव हो । तर, जब म गाउँ पसे मतदाताका प्रतिक्रियाले अत्यन्तै उत्साहित बनाएको छ ।’ गैरेले भने, ‘विगतमा अरुलाई जिताउन गाउँ पुग्ने व्यक्ति आफै उम्मेदवार भएर अगाडी उभिँदा जनताले थप फराकिलो उत्साहजनक मनले स्वागत गर्नुभएको छ ।’ निर्वाचन आफ्ना लागि सहज हुँदै गएको उनले दाबी गरे ।

युवा नेता गैरेले सहि नेतृत्व नहुँदा पाल्पा विकासमा पछाडि परेको जनाउँदै कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासका लागि एमाले उमेदवारको जित आवश्यक रहेको बताए । ‘म पुरानोको निरन्तरता होइन । जिल्लाको मुहार फेर्न पहिलो पटक उमेदवारी दिएको छु । मलाई विश्वास छ जनताले साथ दिनुहुन्छ’, नेता गैरे भने । उनले गुल्मी, रुपन्देही, स्यांङ्जा लगायतका जिल्लासँग पाल्पालाई जोड्ने मुल सडकको स्तरोन्नती गरी धार्मिक र पर्यटकीय स्थलहरुसाग जोडेर जिल्लाको विकास गर्ने आफ्नो योजना सुनाए । बेरोजगारी समस्या समाधानका लागि उद्यमशीलतामा विशेष जोड दिने उनको भनाइ छ ।

‘पाल्पाली जनताको मुख्य चासो रहेको सिद्धबाबा सडक निर्माणको प्रक्रिया गतवर्षदेखि शुरु भएको छ । अब यो सडक निर्माणको अगुवाइ मैले गर्छु’, गैरेले भने । एउटै व्यक्ति पटकपटक निर्वाचित हुने तर आफ्नो क्षेत्रको विकासमा ध्यान नदिने परिपार्टीले पाल्पा क्षेत्र नं २ पछाडि परेको बताउँदै उनले अब यो क्षेत्रमा पुरानालाई निरन्तरता नभइ नयाँ नेतृत्वलाई जिताउन आग्रह गरे । ‘पाल्पाको विकास चाहानेले अब नयाँ नेतृत्वलाई साथ दिनुहुने छ भन्ने विश्वास छ । एउटै व्यक्ति धेरै पटक उठ्ने तर आफ््नो क्षेत्रको विकासमा ध्यान नदिँदा मतदातामाथि अन्याय भएको छ । अब यस्तो हुनुहुँदैन’, उनले भने ।

सिद्धबाबामा सुरुङ मार्ग बनाएर सडक यात्रा सुरक्षित बनाउने, पाल्पासँग जोडिएका सडकहरु पीच र स्तरोन्नति गर्ने, कृषिको व्यवसायिकरण र आधुनिकरण तथा पर्यटनमार्फत पाल्पालाई समृद्ध बनाउने, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानीमा लगानी बढाउने, रोजगारी सिर्जना गर्दै सुखी पाल्पाली समृद्ध पाल्पा नै आफ्नो चुनावी एजेण्डा रहेको गैरेले बताए । यस्तै मगर, नेवार लगायतका जातिको संस्कृति, भाषा, कला संरक्षण, किसानलाई मल र सिंचाई पनि आफ्नो प्राथमिकतामा रहेको गैरेले बताए ।

पार्टी स्थापना भएको दुई वर्ष नभएको पार्टीका उम्मेदवारले नेकपा एमालेको सरकार र पार्टीको संगठनको आधारमा गरेका कामलाई आफूले गरेको भन्दै डलर खर्चेर फेसबुकमा प्रचार गर्नु अराजनीतिक काम भएको गैरेको टिप्पणी छ । ‘पाल्पामा जे जति काम भएका छन् तयो एमालेको सरकार हुंदा पार्टीले गरेको हो, व्यक्तिले हैन’ गैरेले भने । आफूले युवा पुस्ताको भावना र आकांक्षा बुझेर काम गर्ने गैरेको वाचा छ ।
अखिलको अध्यक्ष हुंदा विद्यार्थीलाई बस भाडामा ४५ प्रतिशत छुटको व्यवस्था गराउन सरकारसंग सहमति गराई भूमिका खेलेको,राष्ट्रियताको पक्ष र संविधानसभाको लागि भएका आन्दोलनमा अग्रपंक्तिमा खटेको र संसदीय चुनावमा पहिलोपटक उम्मेदवार भएकाले मतदाताबाट सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको गैरेले बताए । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले ३० हजार ५३६ मत, कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३१३ र एकीकृत समाजवादीले ४३३ मत पाएका थिए ।

पाल्पाको इतिहासमा २०५१ सालदेखि पाल्पाको एमालेको लालकिल्लाको रुपमा रहेको र आगामी निर्वाचनमा पनि पाल्पाका सबै एमाले उम्मेदवारले जित हासिल गरी पाल्पा लालकिल्लाकै रुपमा रहने ठोकुवा गरे । ‘एमाले पार्टी हार्नु भनेको नेपाल र नेपाली जनताले हार्नु हो ।’ नेता गैरेले भने । राष्ट्र र राष्ट्रियताको हीतमा काम गर्ने एक मात्र पार्टी एमाले भएकोले अत्यधिक मत दिएर बिजयी गराउन उनले अपिल गरे ।