कोलेस्टेरोल र हृदयाघात

मेचीकाली संवाददाता

२३ श्रावण २०७८, शनिबार
128 shares

ओम बानियाँ
कोलेस्टेरोल शरीरमा पाइने एक किसिमको बोसो हो । कोलेस्टेरोल शरीरका लागि अति आवश्यक पदार्थ हो । कोलेस्टेरोलले शरीरमा बाएल, भिटामिन डी, सेल मेम्ब्रेन, सेक्स हार्मोन, नर्भ सेयथ बनाउन सहयोग गर्छ । शरीरले प्राकृतिक रूपमा आफैं कोलेस्टेरोल बनाउँछ । कलेजोले हरेक दिन शरीरलाई पूरै पुग्ने करिब एक ग्राम कोलेस्टेरोल बनाउँछ । त्यसैले मासु, दूध, घिउ, तेल, चीज आदिबाट प्राप्त हुने कोलेस्टेरोल शरीरलाई आवश्यक पर्दैन ।

शरीरलाई कोलेस्टेरोल अति जरुरी भएतापनि यदि रगतमा कोलेस्टेरोलको मात्रा बढी भएमा आर्टरीहरूलाई साँघुरो वा बन्द गराउन सक्छ । यदि मुटुमा रगतको आपूर्ति गर्ने आर्टरी बन्द भएमा हृदयाघात हुन सक्छ भने दिमागमा रगतको आपूर्ति गर्ने आर्टरी बन्द भएमा स्ट्रोक हुन सक्छ । रगतमा कोलेस्टेरोलको मात्रा बढी भएमा यसलाई मेडिकल भाषामा हाइपर कोलेस्टेरोलमिया भएको भनिन्छ । युवाहरुमा देखिने हर्टअट्याकको प्रमुख कारण हाइपर कोलेस्टेरोलमिया हो ।

कोलेस्टेरोलको प्रकारः
कोलेस्टेरोल तथा अन्य चिल्लो पदार्थहरू रगतबाट कोषहरूमा र कोषहरूबाट रगतमा विशेष प्रकारका भरियाहरूद्वारा बोकिने गर्छन् । यस्ता भरियाहरूलाई लिपोप्रोटिन भनिन्छ । लिपोप्रोटिनहरू धेरै प्रकारका छन् । तर प्रमुख लिपोप्रोटिनहरूमा लो डेन्सिटी लिपोप्रोटिन (एलडीएल) र हाई डेन्सिटी लिपोप्रोटिन (एचडीएल) हुन् । यी दुवै लिपोप्रोटिनहरू कोलेस्टेरोल बोक्ने भरियाहरू हुन् । एलडीएलले रगतबाट कोलेस्टेरोल र अन्य चिल्लो पदार्थहरू बोकेर रक्तनलीमा पुराई जम्मा गरिदिन्छ । यसका कारण रक्तनली साँगुरिन पुग्छ र हृदयाघात र मस्तिष्कघातको सम्भावना बढ्छ । यसले बोकेको एलडीएल कोलेस्टेरोललाई खराब कोलेस्टेरोल भनिन्छ ।

एचडीएलले रक्तनलीमा जम्मा भएको कोलेस्टेरोललाई रगतमा फिर्ता ल्याई कलेजोमा पुराउँछ । यसले रक्तनलीमा जमेको कोलेस्टेरोललाई घटाएर रक्तनली सफा गर्छ भन्ने विश्वास गरिन्छ । यस कारण एचडीएलले बोकेको कोलेस्टेरोललाई असल कोलेस्टेरोल भनिएको हो । एचडीएल कोलेस्टेरोलको मात्रा बढी भएम हृदयाघात र मस्तिष्कघातको सम्भावना कम रहन्छ । यदि यसको मात्रा कम भएमा हृदयाघात र मस्तिष्कघातको सम्भावना बढ्छ ।

तेस्रो किसिमको कोलेस्टेरोल पनि हन्छ, जसलाई भेरी लो डेन्सिटी लिपोप्रोटिन (भीएलडीएल) भनिन्छ । यसले थोरै परिमाणमा कोलेस्टेरोल र ट्राइग्लिसराइड लैजाने गर्छ । ट्राइग्लिसराइड खाएको खानाबाट आउँछ । खाएको खानामा बनेको क्यालोरी बोसोको रूपमा ट्राइग्लिसराइडमा परिणत हुन्छ ।

हाइपरकोलेस्टेरोलमिया कारण
कोलेस्टेरोल बढी हुनु वंशाणु कारण पनि हो । तर जीवनशैली तथा खानपिन नै कोलेस्टेरोल बढ्ने प्रमुख कारण हो । स्याचुरेटेटमा ट्रान्स फ्याटले कोलेस्ट्रोल बढाई मुटुको रोग लाग्ने जोखिम बढाउँछ । स्याचुरेटेट फ्याटभन्दा ट्रान्स फ्याट शरीरका लागि बढी हानिकारक हुन्छ । ट्रान्स फ्याट हार्डन फ्याट हो । यो बन्ने प्रक्रियालाई हाइड्रोजेनेसन भनिन्छ । यसले वनस्पति र जनावरका तरल तेललाई ठोस चिल्लोमा बदल्छ । यसको अन्तिम प्रक्रियालाई हाइड्रोजेनेरेटेट फ्याट (जस्तैःडाल्टा घ्यू) भनिन्छ । यसलाई अरू खाना जस्तै बिस्कुट, चकलेट, केक बनाउन प्रयोग गरिन्छ । ट्रान्स फ्याट प्राकृतिक रूपबाटै दूधको चिल्लोमा र बाख्रा तथा भेडाको बोसोमा पाइन्छ ।

कालेस्टेरोल जाँचः
रगतमा कालेस्टेरोलको मात्रा बढी भएको कुनै लक्षण देखिँदैन । हाइ कालेस्टेरोलको लक्षणको रुपमा एकैपटक हर्टअट्याक वा ब्रेन स्ट्रोक देखिन सक्छ । त्यसैले २० वर्षभन्दा माथिका सबै मानिसले कम्तीमा पनि वर्षमा एकपटक रगत परीक्षण गरी कालेस्टेरोलको मात्रा थाहा पाउनुपर्छ । खानपान, मोटोपना र शारीरिक गतिविधिमा कमीका कारण कोलेस्टेरोलको मात्रा बढ्दै जान्छ । उच्च रक्तचाप, मधुमेह, मुटु रोग र मोटा मानिसलाई कोलेस्टेरोल हुने सम्भावना बढी हुन्छ । कोलेस्टेरोल बढी भएमा सुगर, रक्तचाप, थाइराइड र मुटुको जाँच गराउनु पर्छ ।

रगतमा कालेस्टेरोलको मात्रा थाहा पाउन गरीने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । कालेस्टेरोलको मात्रा थाहा पाउन कम्तीमा ९ देखि १२ घण्टाको खालिपेटमा रगतको लिपिड प्रोफाइल परीक्षण गराउनुपर्छ । लिपिड प्रोफाइलमा रगतमा ५ वटा कोलेस्टेरोलको जाँच गरिन्छ ।

टोटल कोलेस्टेरोलः
टोटल कोलेस्टेरोलले रगतमा राम्रो र नराम्रो दुवै कोलेस्टेरोलको पूरै मात्रा देखाउँछ । यो परीक्षणबाट एलडिएल, एचडिएल वा ट्राइग्लीसराइडमध्ये कुन बढी छ भन्ने थाहा हुँदैन । तसर्थ टोटल कोलेस्टेरोलको जाँच मात्र गरेर ढुक्क हुनु हँुदैन ।

एलडिएल कोलेस्टेरोलः
एलडिएल कोलेस्टेरोललाई नराम्रो कोलेस्टेरोल भनिन्छ । यो बढ्नु सबैभन्दा बढी खतरा मानिन्छ । एलडिएल कोलेस्टेरोलको मात्रा बढेमा यो रक्तनलीको भित्ता बसेर नलीलाई साँघुरो बनाउँछ । सामान्य मानिसमा एलडिएल कोलेस्टेरोल १३० भन्दा कम हुनुपर्छ र १६० भन्दा बढी भएमा औषधी सेवन गर्नुपर्ने हुन्छ । तर मधुमेहका बिरामी, हर्टअट्याक भइसकेका र मुटुको रक्तनलिमा समस्या भएका बिरामीमा एलडिएल कोलेस्टेरोलको मात्रा १०० भन्दा कम हुनुपर्छ । एलडिएल कोलेस्टेरोलको मात्रा जति कम भयो हर्टअट्याकको सम्भावना त्यति नै कम हुन्छ ।

एचडिएल कोलेस्टेरोलः
एचडिएल कोलेस्टेरोललाई राम्रो कोलेस्टेरोल भनिन्छ । यसले रक्तनलीलाई साघुरो हुनबाट जोगाउछ । यो कोलेस्टेरोल मुटुका लागि राम्रो मानिन्छ । एचडिएल कोलेस्टेरोलको मात्रा जती बढी भयो त्यति नै राम्रो मानिन्छ । यसको मात्रा पुरुषमा ४० भन्दा बढी र महिलामा ४५ मिलिग्राम भन्दा बढी हुनुपर्छ ।

भिएलडिएल कोलेस्टेरोलः
भिएलडिएल कोलेस्टेरोलको त्यति महत्व हुँदैन । तर यसको मात्रा पनि सामान्य हुनु राम्रो मानिन्छ ।

ट्राइग्लीसराइड कोलेस्टेरोलः
ट्राइग्लीसराइड पनि मुटु रोगसँग सम्बन्धित हुन्छ । तर यसलाई एचडिएल र एलडिएलभन्दा कम महत्व दिइन्छ । ट्राइग्लिसराइड बढी भएकामा पनि मुटु रोग बढी भएको पाइन्छ । ट्राइग्लिसराइड मदिरा र चिल्लो पदार्थका खानाका कारणले बढ्छ । ट्राइग्लिसराइड ५०० मिलिग्रामभन्दा बढी भएमा प्यान्क्रियाजमा खराबी भएर प्यान्क्रियाटाइटिस भन्ने रोग लाग्न सक्छ । मधुमेही र मुटु रोगीमा ट्राइग्लिसराइड १५० देखि २०० मिलिग्रामभन्दा कम हुनुपर्छ ।

हाइपर कोलेस्टेरोलमियाको उपचारः
हाइपरकोलेस्टेरोलमियाको उपचार भनेको जीवनशैली परिवर्तन हो । हिँडाइ, दौडाइ तथा व्यायामका साथमा बोसोयुक्त मासु, दूध र दूधका परिकार, ट्रपिकल तेल कम खाने गरेमा कोलेस्ट्रोलमा सुधार हुन्छ । स्याचुरेटेट फ्याट र ट्रान्स फ्याट कम गर्नलाई कम मात्रामा बिस्कुट, व्यापारिक हिसाबले बनाइएका खानाहरू क्रिप्स, जाम, वटर आदिमा पनि कडाइ गर्नुपर्छ । विभिन्न अध्ययन अनुसार स्याचुरेटेट फ्याट बढी भएको खाना खाए कोलेस्ट्रोलको तह बढ्छ र यसको विपरीत धेरै चोकरयुक्त खाना, फलफूल र सब्जी खाएमा कोलेस्ट्रोल कम हुन्छ । धुम्रपान त्याग्नुपर्छ । ध्रम्रपान गर्ने र वरिपरि बस्नेलाई स्वास्थ्यवर्धक अक्सिडेन्ट जस्तै भिटामिन सी कम हुने कारण बन्नसक्छ । धुम्रपानले पाचन प्रक्रियामा एलडीएल बढाउन मद्दत गर्छ । परिवारमा मुटुरोगको इतिहास भएका व्यक्तिहरूले कोलेस्ट्रोल बढाउने र घटाउने दुवै खानाबारे पहिले नै जानकरी राख्नु उपयुक्त हुन्छ ।

कोलेस्टेरोल बढाउने पदार्थः
बिस्कुट, केक, चकलेट, पूरा चिल्लो भएको दूधका परिकारहरू जस्तैः चिज, क्रिम, बटर । खसी, कुखुराको छाला, सुँगुर, राँगाको चिल्लो मासु र बर्गर आदि । हाइड्रोजेनेरेटेट फ्याट तेल प्रयोग गरिएको क्रिप्स, चिप्स, फास्ट फुड, घिउ आदि ।

कोलेस्टेरोल कम गर्ने पदार्थः
चोकरयुक्त खाद्यान्न, फापर, नफलेको चामल, ओट्स, ओलिभ, सूर्यमुखी तेल, तोरीको तेल, भटमासको तेल आदि । हरियो सागपात, प्याज, लसुन, सिमी, बोडी, गेडागुडीजस्ता कोसेदार तरकारी । ताजा फलफूलहरू जस्तैः स्याउ, सुन्तला, आरु, केरा आदि । नट्सहरू जस्तै ओखर, हाडेबदाम, तील । सुन्तला वर्गमा पर्ने फलफूल जस्तै ः सुन्तला, कागती, ज्यामिर अनि प्याजले स्वस्थ कोलेस्ट्रोल राख्न मद्दत गर्छ ।

सोलुबल फाइबर पनि कोलेस्ट्रोलविरुद्ध अर्को हतिहार हो । यो खासगरी फापर, गेडागुडीमा पाइन्छ । स्याउ र अरू फलफूलमा हुने पेक्टिनले पनि कोलेस्ट्रोल कम गराउँछ । दैनिक रूपमा गाँजर खाँदा पनि एलडीएल कोलेस्ट्रोल तह कम गराउन सक्छ । स्वस्थकर सन्तुलित खानाको भागमा जब स्टेरोइस वनस्पति राखिन्छ, यसले कोलेस्ट्रोल कम गर्न सहयोग पुस्याउँछ । यिनीहरू प्राकृतिक रूपमा सानो परिणाममा सूर्यमुखी तेल, तोरीको तेल, तिल, सोया र अरू कोसे तरकारीमा पाइन्छ । मोनो अनस्याचुरेटेट पाइने ओलिभ, आभाकाडो आदिले एचडीएलको लेभललाई केही नगरी एलडीएललाई कम गराउन सक्छ ।

समग्रमा भन्नुपर्दा जीवनशैली तथा खानपिनमा परिवर्तन गर्ने हो भने कोलेस्टेरोल मात्र होइन सम्पूर्ण शरीर नै स्वस्थ हुन्छ । यदि जीवनशैली तथा खानपिनमा परिवर्तन गर्दा पनि कोलेस्ट्रोल कम नभएमा डाक्टरको सल्लाह वमोजिम औषधि खानुपर्छ ।