तिहारलाई फूल तयार: व्यावसायिक फूलखेतीमा युवा आकर्षण

मेचीकाली संवाददाता

३ कार्तिक २०८२, आईतवार
25 shares

रमेश पराजुली

बुटवल । पछिल्लो समय युवाहरू पुष्प व्यवसायमा आकर्षित भएका छन् । विभिन्न चाडपर्व, विवाह ब्रतबन्ध, पुजाआजालगायत मेला महोत्सव र कार्यक्रममा फूलको माग बढेपछि युवा किसानको रूचि फूल खेतीतर्फ बढेको हो । युवा फूल खेतीमा कस्सिएपछि लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर हुने बाटोमा छ । प्रदेशलाई फूलमा आत्मनिर्भर बनाउँदै विदेशबाट वर्षेनी आउने लाखौँ मूल्यको फूल/माला रोक्न पनि यहाँका युवाहरू जुटेका छन् ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ चम्कीपुरस्थित फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिर्सच सेन्टरमा यतिबेला ढकमक्क सयपत्री फूल फुलेका छन् । ढकमक्क फूलेका फूलले बगैँचा मनमोहक देखिएको छ । तिहार नजिकिदैँ गर्दा फार्ममा चहलपहल बढेको छ । कतिपयले आइपुग्नेबित्तिकै सेल्फी खिच्छन् भिडियो बनाउँछन् । फार्ममा आबद्ध युवाहरुको दैनिकी अहिले फूल बगैँचामा बित्ने गरेको छ । फार्मका प्रबन्ध निर्देशक राजेश कुँवरले ५ जना युवा मिलेर विगत ६ वर्षदेखि कृषि फार्म सञ्चालन गर्दै आएको बताए । फार्ममा कृषि विषय अध्ययन पूरा गरेका युवा सरोज भट्टराई, किरण तिमिल्सिना, विवेक ज्ञवाली, सञ्जय आचार्य र विशाल पन्थी आवद्ध छन् । उनिहरुले कृषि क्याम्पस तथा शिक्षालयहरूमा अध्यापनसमेत गर्छन् ।

यस वर्ष पनि १० कट्ठा क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । कर्मा–५५५ र टेनिस बल जातका करिब ४ हजार बिरुबा लगाइएको फार्मका प्रबन्ध निर्देशक कुँवरले बताए । ‘हामीले उत्पादन गरेको फूलमाला दसैंअघिबाटनै बिक्री हुँदै आएको छ ।,’ उनले भने, ‘तिहारका लागि अहिले फूल टिप्ने, माला गास्ने काम धमाधम भइरहेको छ ।’
कुँवरले यो वर्ष ७ हजार भन्दा बढी फूलको माला बिक्री गर्ने योजना बनाएको बताए । अहिले दैनिक १५ देखि २० जना गाउँका महिलाहरूलाई फूलको माला बनाउने तालिम दिएर आंशिक रोजगारी समेत दिएको जानकारी दिँदै उनले यो वर्ष तिहारको लागि भारतीय फूल विस्थापित गर्ने योजनासहित लागेको बताए ।

उनीहरूले तयार भएका माला स्थानीय बुटवल जैविक कृषि उत्पादन सहकारी संस्थाले निर्माण गरेको ‘कोल्ड स्टोर’मा भण्डारण गर्ने गरेका छन् । ‘भाडा तिरेर कोल्ड स्टोरमा राख्दा उत्पादनको लागत बढ्छ ।,’ कुँवरले भने, ‘उत्पादन भएको फलफूल, फूल राख्न सरकारी निकायबाट एउटा कोल्ड स्टोरको माग गरेका छौं ।’
फार्ममै पुग्ने ग्राहकलाई आफैले फूल टिपेर बजार भाउभन्दा केहि सस्तोमा बिक्री गर्नेसमेत व्यवस्था गरिएको छ । अहिले फार्मबाट माला सय र सयपत्री फूल प्रतिकिलो ४५० रुपैयाँमा बिक्री भइरहेको छ । बुटवलमा पहिलोपटक व्यावसायिक फूलखेती सुरू गरेका उनीहरूले विभिन्न जिल्लामा पुगेर पुष्प खेतीसम्बन्धी तालिमसमेत दिँदै आएका छन् । कृषि पढ्दै गरेका २०÷२५ जना विद्यार्थी ओजेटिको लागि वर्षेनी आउने गरेको उनले बताए । बिभिन्न जिल्लाका कृषक समूह र विभिन्न विद्यालयबाट विद्यार्थी शैक्षिक भ्रमणका लागिसमेत फार्ममा आउने गरेका छन् ।

अघिल्लो वर्ष ४ लाखको फूलमाला बिक्री भएकोमा यसवर्ष योभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको प्रबन्ध निर्देशक कुँवर बताउँछन् । पछिल्लो ३ वर्षदेखि बुटवल ट्राफिक चोकमा स्टलनै राखेर फूलमाला बिक्री वितरण हुँदै आएकोमा यसवर्ष पनि यसलाई निरन्तरता दिने उनले बताए । ‘नेपाललाई फूलमा आत्मनिर्भर बनाउने र विदेशबाट आउने फूल/माला सधैका लागि बन्द गर्ने योजना छ ।’ कुँवरले भने, ‘हामीले फार्म भित्रनै तालिम केन्द्र सञ्चालन गर्ने तयारी गरेका छौँ । साथै फूलखेती गर्न चाहाने किसानहरुलाई संगठित गर्दै आबश्यक मल, बिउ उपलब्ध गराउने तथा निःशुल्क प्राविधिक सहयोगसमेत प्रदान गर्दै आएका छौँ ।’

भारतबाट आउने अवैध फूलमाला रोक्न नसक्दा स्थानीय उद्यमी मारमा परिरहेको उनले बताए । यसरी अवैध रूपमा आउने प्लास्टिकलगायत फूलमालाको नियमन हुनुपर्ने उनको भनाइ छ । फार्ममा फूलखेतीसँगै बिभिन्न फलफूल र तरकारी खेती पनि गर्दै आएको फार्मका सञ्चालक सरोज भट्टराईले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका–२ का अगुवा किसान ईश्वरी भण्डारीले पनि डेढ बिघा जग्गा भाडामा लिएर सयपत्री फूल खेती गरेका छन् । ग्रीनजोन एग्रो फार्मका सञ्चालक भण्डारीले विगत ६ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका छन् । अहिले फूल प्रतिकिलो ४ सय रुपैयाँ र एउटा माला १००–१२० रुपैयाँमा बिक्री भइरहेको छ । यसवर्ष ५ लाखको फूल बिक्री गर्ने भण्डारीको लक्ष्य रहेको छ । सैनामैना नगरपालिका वडा नम्बर–१ परमेश्वर टोलकी पेमा खनाल पोखरेलले पनि यो वर्ष ३ कट्ठा क्षेत्रफलमा फूल खेती गरेकी छिन् । बोलबम कृषि फार्म सञ्चालन गरी विगत लामो समयदेखि फूल खेती गर्दै आएकी उनले यो वर्ष पनि निरन्तरता दिएको बताइन् ।

उता, गुल्मीको धुर्कोट गाउँपालिका–३, हाडहाडेका युवा भविन्द्र घर्तिमगरले दुई वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आएका छन् । दसैँबाट फूल बेच्न सुरु भएको उनको भनाइ छ । तिहारमा राम्रो फूल बेच्न सक्ने गरेर व्यावस्थापकीय काम भइरहेको छ । उनको टर्नेलमा दुई हजार बढी सयपत्री फूलका बोट छन् । टर्नेलभित्र खेति गरीएकाले माघ–फागुनसम्म पनि फूल उत्पादन हुने घर्तिमगरले बताए । अहिले प्रतिमाला १००–१५० र प्रतिकिलो ५ सय रुपैयाँमा फूलको बिक्री भइरहेको छ ।

गत वर्ष पनि टर्नेल र बाहिर गरेर तीन हजार बढी फूल थिए । उनले बाहिर लगाएको छिटो कुहिएर सकिने भएकाले अहिले सबै टर्नेलभित्र लगाइएको बताए । घर्तिलाई कहिल्यै प्रदेश मोह जागेन । स्नातक पढ्दा–पढ्दै कृषि कर्म गर्ने सोँच पलायो । उनले रेसुङ्गा नगरपालिका–१०, सिमीचौरमा २०७२ सालबाट व्यावसायिक रूपमा कृषि र पशुपालन थाल्नुभयो । घर्तिमगरले आठ वर्ष सिमिचौरमा काम गरेपछि २०७९ सालबाट रेसुङ्गा नगरपालिका–३, को बेहोरेमा व्यावसायिक रूपमा तरकारी, पशुपालन र फूल खेती गरिरहेका छन् ।

यस्तै, गुल्मीकै सत्यवति गाउँपालिका–१ अस्लेवा मोहोलेका हुमा न्यौपानेले पाँच रोपनी जग्गामा चार हजार २०० बढी फूल रोपेका छन् । अहिले उनलाई फूल टिप्ने र बेच्ने चटारो छ । यो न्यौपानेको पहिलो अनुभव हो । योभन्दा पहिले २५ मुरी धान फल्ने खेतमा अहिले फूलको बगैँचा छ । नयाँ खेतीको चाहनाको कारण धान छोडेर फूल रोपेको न्यौपानेले बताए । अहिले गाउँपालिका भित्रकै बजार र छिमेकहरुको पूजाहरुमा फूल बिक्री भइरहेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–२ दोभानकी रितु श्रेष्ठले यसवर्षदेखि सयपत्री फूलको व्यावसायिक खेति सुरु गरेकी छिन् । पहिलो वर्ष परीक्षणका लागि गरीएको फूलखेतिबाट राम्रो उत्पादन भएपछि उनि उत्साहित भएकी छिन् । सामाजिक सञ्जाल मार्फत उत्पादन भएको सयपत्री फूलको प्रवद्र्धनमा लागेकी श्रेष्ठले अर्को वर्ष पनि सयपत्री खेतीलाई निरन्तरता दिने योजनामा छिन् । २ रोपनी क्षेत्रफलमा उनले सयपत्री खेती गरेकी छन् । जसबाट करिब १ लाख रुपैयाँ देखि १ लाख ३० हजार भन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ ।

‘धान फल्ने खेतमा यो वर्ष फूल खेती गरेकी हुँ, यसले राम्रै बजार पाएको छ ।’, उनी भन्छिन्, एक सिजनमा करिब २५ देखि ३० हजार रुपैयाँको धान उत्पादन हुँदै आएकोमा त्यसको विकल्पमा एक सिजनबाट लाख भन्दा बढी आम्दानी गर्न सकिने भएको कारण पुष्प व्यवसायमा लागेको उनको तर्क छ । आफू पनि साना किसान सहकारीको कोषाध्यक्ष समेत भएको कारण सोही अनुसार खेतीमा अग्रसर भएको उनको भनाइ छ । पूर्व जनप्रतिनीधिसोत रहेकी श्रेष्ठको धान फल्ने खेतमा ढकमक्क सयपत्री फूलेपछि त्यहाँका अन्य किसानहरु पनि त्यसतर्फ आकर्षित भएका छन् ।

यस्तैगरी पूर्वी पाल्पाको रामपुर नगरपालिका–४ देविस्थानका दिलबहादुर थापा मगरले व्यवसायिक फूलखेती सुरु गरेको ७ वर्ष भयो । लामो समय वैदेशिक रोजगारीमा विताएका मगरले स्वदेश फर्किएर तरकारी र फूल खेति गर्दै आएका छन् । यो वर्ष करिव २ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । पछिल्लो समय गाउँघरमा फूल कम उत्पादन हुँदै गरेका बेला मगरले सुरू गरेको फूलखेतीले छोटो समयमा धेरै चर्चा बटुलेको छ । उनको फूलखेती देखेर नै गाउँका अरू कृषकले पनि फूलखेती गर्न थालेका छन् ।

गत वर्ष भने उनले उत्पादन गरेको फूल आधाजति बिक्री नै भएन यसबाट उनले ठूलो नोक्सानी बेहोर्नुप¥यो । तर, पनि उनले २ लाखको फूलमाला विक्री गर्न सफल भए । ‘बोटमा रोग नलाग्ने र उत्पादनले बजार पाए अरु खेतीमा भन्दा फूलमा राम्रो आम्दानी हुँदो रहेछ त्यसैले अहिले पाल्पाका अन्य ठाउँमा पनि व्यवसायिक फूल खेती हुन थालेको छ ।’ मगरले भने । अहिले एउटा मालाको मूल्य १००–१५० रूपैयाँ र एक किलो फूलको मूल्य ४–५ सय रूपैयाँ कायम गरिएको छ । विगतमा बुटवल, पोखरालगायतका शहरमामा पु¥याएर फूल र माला विक्री गरेका उनले यो वर्ष भने स्थानीय बजारमै फूल बिक्री गर्ने योजना बनाएका छन् ।

उता, दाङको घोराही उपमहानगरपालिका–१४ झिंगौराका लोकेन्द्र रोकामगर फूलखेती गर्ने पुराना किसान हुन् । जलजला पुष्पखेती तथा नर्सरी दर्ता गरेर उनले विगत १३ वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएका छन् । फूलखेतीको लामो अनुभव बटुलेका रोकाले यो वर्ष ३ विघा जमिनमा फूलखेती गरेका छन् । गतवर्ष उत्पादन भएको फूलले बजार नपाउँदा नोक्सानी बेहोरेका उनले यसवर्ष क्षेत्रफल घटाएको बताए । उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र नहुँदा लामो समयसम्म राख्न समस्या भएको उनको भनाइ छ ।

उमेरले ४० वर्ष पुगेका किसान मगरले बाह्रै महिना फूल उत्पादन गर्छन् । चाडपर्वको समयमा मात्रै नभइ अन्य समयमा पनि आफूले बारीमा फूल फुलाइरहेको उनले बताए । उनले सजावटका लागि फूलका विरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आएका छन् । जिल्लामा फूलको माग र बजारको अध्ययन गरेर परम्परागत मकै र धानखेती छोडेर केही नयाँ गर्ने भन्दै सबैभन्दा पहिले व्यवसायिक फूलखेती रोजेका उनी यो व्यवसायमा सन्तुष्ट छन् । उनले उत्पादन गरेको धेरैजसो फूल दाङमै खपत हुने गरेको छ । उनले वार्षिक रूपमा ३५ लाख बढीको फूल, मालाको कारोबार गर्छन् । यसबाट रु १०–१५ लाख वार्षिक रूपमा बचत हुने उनको भनाइ छ । उनले स्थानीय केही नागरिकलाई रोजगारीसमेत दिएका छन् ।

यस्तै कपिलवस्तुका भाष्कर पंगेनी र कैलालीका दशरथ साउदले दाङको घोराही–१७ गैरागाउँमा व्यावसायिक फूलखेती गरेका छन् । कृषि प्राविधिक पढेर कृषिमा लागेका साउदले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष आफैले हेर्छन् । कपिलवस्तुमा ६ वर्ष पहिलेदेखि फूलखेती गरेका पंगेनी र साउदले ४ वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गरेका हुन् । करिब १५ कट्ठा जमिन भाडामा लिएर उनीहरुले फूलखेती गरिरहेका छन् । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको व्यावसायि पंगेनीको भनाइ छ । राम्रो चिस्यान केन्द्र भएमा स्वदेशमा उत्पादित सयपत्री विदेश निर्यात गर्न सकिने उनले बताए । फूलमा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाहरूमा क्षेत्र विस्तारको योजना बनाएको पंगेनीको भनाइ छ ।

उता, बाँकेको कोहलपुर नगरपालिका–३ स्थित सुविबी पुष्प उद्यान केन्द्रकी सञ्चालक विष्णु चौधरी पुष्पखेतीबाट राम्रो आम्दानी भइरहेको बताउँछिन् । उनि आठ वर्षदेखि पुष्पखेतीमा रमाइरहेकी छिन् । वार्षिक ६० हजार रुपैयाँमा जग्गा भाडामा लिएर पुष्पखेती गरीरहेकी चौधरीका खेतमा हाल टेनिस बल र कर्मा–५५५ जातका सयपत्री फूल रहेका छन् । कोहलपुरमा रहेको उद्यानबाट यस वर्ष कम्तीमा पाँच क्विन्टल फूल उत्पादन हुने चौधरीले बताइन् । यस विषय तिहारका लागि स्थानीयले राखेका बोटमा धेरै फूल नफुलेकाले माग बढी हुने भन्दै बाहिरबाट खरिद गरेर भए पूर्ति गर्ने योजना रहेको उनले सुनाइन् । करिब १० क्विन्टल फूलको व्यापार हुने चौधरीको अनुमान छ ।

बिस्तार हुँदै फूलखेति, बढ्दै उत्पादन
नेपालमा करिब ६ सय जातका फूल पाइने भएपनि तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको माग बढी हुन्छ । लुम्बिनी प्रदेशमा फूलखेतीका लागि अनुकूल र सुहाउँदो हावापानी रहेको छ । प्रदेशका १२ वटै जिल्लामा विभिन्न जातका फूलखेती हुने गरेको लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी मिलन गैरेले जानकारी दिए ।
उनका अनुसार लुम्बिनी प्रदेशमा यसवर्ष फूलखेती गरेको क्षेत्रसँगै उत्पादन पनि बढेको छ । गत वर्ष सयपत्री फूल २५.७२ हेक्टरमा लगाइएकोमा अहिले २७.०१ हेक्टर पुगेको छ । गत वर्ष ३ लाख ८ हजार ५ सय किलो सयपत्री फूल उत्पादन भएकोमा यस वर्ष ३ लाख २३ हजार ९२५ किलो उत्पादन भएको तथ्यांक छ । लुम्बिनी प्रदेशमा गत वर्ष सयपत्री फूल १२ करोड ३४ लाख रुपैयाँको बिक्री भएकोमा यस वर्ष १२ करोड ९५ लाख ७० हजार रुपैयाँको कारोबार हुने अनुमान कृषि निर्देशनालयले गरेको छ ।

यस्तै तिहारमा प्रयोग हुने मखमली फूल पनि गत वर्षको तुलनामा बढेको पाहिएको छ । मखमली फूल गत वर्ष शून्य दशमलव ३३ हेक्टरमा खेति भएकोमा अहिले शून्य दशमलव ३५ हेक्टरमा विस्तार भएको सूचना अधिकारी गैरेले बताए । गत वर्ष २४ हजार ४९५ माला उत्पादन भएकोमा यो वर्ष २६ हजार माला उत्पादन हुने अनुमान गरीएको छ । गत वर्ष ८ लाख ५७ हजार रुपैयाँको मखमली फूल बिक्री भएकोमा यसवर्ष १० लाख ४० हजार रुपैयाँ बराबरको कारोबार हुने अनुमान कृषि निर्देशनालयले गरेको छ ।

लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको र अहिले करिब ८० प्रतिशत फूल आन्तरिक उत्पादनबाट धानिएको सूचना अधिकारी गैरेले बताए । बिरुवा रोपेको दुई महिनाबाट उत्पादन लिन सकिने र वर्षमा तीन पटकसम्म खेती गर्न सकिने भएकाले किसान फूलखेतीमा आकर्षित भएको उनको भनाइ छ । प्रदेशका बाह्रवटै जिल्लामा पुष्प व्यवसाय प्रवद्र्धन गर्न ज्ञान केन्द्रबाट किसान अगुवालाई पुष्पखेतीको तालिम दिने, बजारीकरणमा सहयोग गर्ने, केही कृषि उपकरणसमेत प्रदान गर्ने काम भएको उनले बताए ।