सपना बोकेर गए, काठको बाकसमा फर्किए

श्रम, अध्ययन र घुमफिरमा विदेशिएका नेपालीहरू हिंसात्मक नियतिको चपेटामा, विदेशका ८० भन्दा बढी मुलुकमा पुगेकामध्ये हजारौंको श्रम–यात्रा मृत्युमा अन्त्य, इजरायलदेखि कश्मीर र इराकसम्म युद्धमा संलग्न नभएका नेपालीहरू विदेशी भूमिमै जीवन गुमाउँदै ।

मेचीकाली संवाददाता

१ कार्तिक २०८२, शुक्रबार
1208 shares

अमृत गिरी

बुटवल । नेपालका युवा वैदेशिक रोजगारीका लागि विश्वभर छरिएर गएका छन् । विश्वका ८७ भन्दा बढी देशहरूमा पुगेर श्रम गरेका नेपालीहरूमध्ये हजारौंले विदेशी भूमिमै जीवन गुमाएका छन् । उनीहरु फर्किएनन्–फर्किए त केवल काठको बाकसमा शव बनेर ।

यो तितो यथार्थले प्रियजनका परिवार मात्रै होइन, सारा नेपालीको मन अमिलो बनाइरहेको छ । नेपाल सरकारको आधिकारिक तथ्यांक अनुसार विश्वका फरक–फरक देश वा क्षेत्रमा नेपाली कामदारहरू पुगेका छन् । पुगेजतिका सबैको अद्यावधिक विवरण सरकारसंग भने छैन् । किनकि कतिपय नेपालीहरु विदेशी भूमिबाटै अन्य देशहरुमा सर्ने गरेका पनि छन् ।
ती सबैजसो विदेशको भूमिमा नेपालीको प्राकृतिक र अप्राकृतिक दुबै प्रकारले मृत्यु भइरहेको छ । तथ्यांकमा कतिपय देशहरू दोहो¥याएर जस्तै यूएइ, युनाइटेड अरब इमिरेट्स पनि उल्लेख भएको देखिन्छ । तर, यिनलाई छुट्याएर गनिँदा कुल ८७ अनौठा मुलुकहरूमा नेपालीहरु पुगेको पत्ता लाग्छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरू वर्षौं पहिलेदेखि गइरहेका छन् । विदेशी भूमिमा मृत्युसम्बन्धी आधिकारिक तथ्यांक भने नेपाल सरकारले विस.२०६५ सालदेखि राख्न थालेको हो । हालसम्मको सरकारी विवरण अनुसार, नेपालीहरू कम्तीमा ८७ वटा देशहरूमा मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

के कस्ता देशहरूमा भएको छ नेपालीको मृत्यु ?
एशियाका मलेसिया, साउदी अरेबिया, कतार, युएई, कुवेत, बहराइन, जापान, दक्षिण कोरिया, ओमान, माल्दिभ्स, अफगानिस्तान, लेबनान, साइप्रस, जोर्डन, इजरायल, मकाउ, ब्रुनाइ, कम्बोडिया, भियतनाम, श्रीलंका, चीन, हङकङ, सिंगापुर, थाइल्याण्ड, इन्डोनेसियामा नेपालीहरुको संख्या अधिक छ ।

यस्तै युरोप अन्तर्गत रोमानिया, क्रोएशिया, माल्टा, पोर्चुगल, ग्रीस, बेलारूस, चेक गणराज्य, स्पेन, स्लोभेनिया, स्लोभाकिया, आयरल्याण्ड, इटली, जर्मनी, हंगेरी, बुल्गेरिया, नर्वे, फिनल्याण्ड, लाट्भिया, उत्तर म्यासेडोनिया जस्ता मुलुकमा पनि नेपालीहरु उल्लेख्य मात्रामा पुगेका छन् ।
यसैगरी अफ्रिकाका सेशेल्स, युगान्डा, इजिप्ट, अल्जेरिया, मोरिसस, कमोरोज, केन्या, ग्याबोन, लिबिया, अमेरिकाका संयुक्त राज्य अमेरिका र क्यानडा तथा ओसियानाका न्यूजिल्याण्ड, पपुवा न्युगिनी जस्ता मुलुकमा नेपालीहरु कामदार र अध्ययनका लागि पुगेका छन् । भारतमा त नेपालीको संख्या अधिक छ ।

विदेशी भूमिमा १५ हजारभन्दा बढी नेपालीको मृत्यु
वैदेशिक रोजगारीका लागि विदेश गएका नेपाली कामदारको मृत्युसम्बन्धी आधिकारिक विवरण अनुसार हालसम्म कुल १५,६८२ जनाको मृत्यु भइसकेको छ । यीमध्ये ८६ जनाको त विदेशी भूमिमा हत्या भएको विवरण छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयमा प्राप्त तथ्यांक अनुसार, सन् २०२५ अक्टोबर १७ सम्म यो संख्या पुगेको हो । नेपाल सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरूको मृत्यु सम्बन्धी अभिलेख वि.सं.२०६५ सालदेखि राख्न थालेको हो ।

चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा मात्रै दुई सय ३८ नेपालीले विभिन्न देशमा ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै एक हजार पाँच सय १७ जना युवाले विदेशी भूमिमा ज्यान गुमाए । यो संख्या अघिल्ला वर्षहरूमा भन्दा क्रमशः बढ्दो क्रममा छ । आव २०८०/८१ मा एक हजार तीन सय ७८ र आव २०७९/८० मा एक हजार दुई सय आठ जनाले ज्यान गुमाएको विभागका सूचना अधिकारी वसन्तबहादुर बोहोराले उपलव्ध गराएको विवरणमा उल्लेख छ ।

यो तथ्यांक केवल श्रम स्वीकृति लिएर गएका र बोर्डबाट क्षतिपूर्ति पाउनेहरूको मात्र हो । अवैध रूपमा वा श्रम स्वीकृति नवीकरण नगरी बसेकाहरूको मृत्यु संख्या जोड्ने हो भने यो आँकडा अझै भयावह हुने निश्चित छ, तर सरकारसँग त्यसको यकिन तथ्यांक छैन ।

मृत्यु हुनेमा अधिकांश पुरुष
मृत्यु हुनेमध्ये १५,२४० जना पुरुष, ४४० जना महिला र २ जना अन्य लैङ्गिक रहेका छन् । यो तथ्याङ्कले वैदेशिक रोजगार अझै पनि मुख्यतः पुरुषकेन्द्रित रहेको र जोखिमको सामना गर्नेमा उनीहरू नै बढी पर्ने देखाउँछ ।

कस्ता छन् मृत्युको कारण ?
प्राकृतिकदेखि कार्यस्थल दुर्घटना र रोगसम्मले नेपालीको मृत्यु भइरहेको वैदेशिक रोजगार विभागको विवरणमा छ । वैदेशिक रोजगारीमा मृत्यु हुने नेपालीहरूको मुख्य कारण प्राकृतिक मृत्यु (२८७६), हृदयघात÷कार्डियाक अरेस्ट (१७४५), रोग (२४३०) तथा कार्यस्थलमा दुर्घटना (९१२) रहेको देखिन्छ । यस्तै कोभिड–१९ का कारण पनि २४९ जनाको मृत्यु भएको उल्लेख छ । यसका साथै हालसम्म १९०२ वटा मृत्युहरू अझै पनि अनुसन्धानकै क्रममा रहेको विभागका सूचना अधिकारी बोहोराको भनाइ छ ।

देश अनुसार नेपाली मृत्यु हुने संख्या
तलका विवरण अनुसार, मलेसिया, साउदी अरेबिया, कतार, युएई, कुवेतलगायतका खाडी तथा एसियाली मुलुकहरूमा मृत्यु संख्या अत्यधिक छ । तर अफ्रिका, युरोप, अमेरिका, दक्षिण एसिया, र एशिया–प्रशान्त क्षेत्रका अन्य देशहरूमा पनि नेपालीको मृत्यु भएका छन् ।

मलेसिया, साउदी अरब र कतारमा सबैभन्दा बढी मृत्यु
देश अनुसार मृत्यु विवरण हेर्दा, सबैभन्दा धेरै मृत्यु मलेसिया (४७५५) मा भएको छ । त्यसपछि साउदी अरेबिया (४१२१), कतार (२९५०), यूएई (११६७) र कुवेत (६५८) रहेका छन् । यी देशहरू नै नेपाली कामदारका प्रमुख गन्तव्यस्थल समेत हुन्, जहाँ निर्माण, कारखाना र घरेलु कामजस्ता श्रम–आधारित कार्यमा नेपालीहरू संलग्न हुन्छन् । कतारले चमत्कारिक रुपमा फुटबल मैदानहरु बनाउँदा त्यहाँ अधिकांशमा नेपाली कामदारहरु थिए । जोखिमपूर्ण काममा नेपाली कामदार सहभागी हुने गरेको पाइन्छ ।

७,१४७ शववाहन परिचालन
विदेशमा मृत्यु भएका नेपालीहरूमध्ये १,९८८ शव वैदेशिक रोजगार बोर्डमार्फत नेपाल झिकाइएको छ भने ७,१४७ शव गाडी वा शववाहन प्रयोग गरेर गृह जिल्ला पु¥याइएको छ । यस सेवामार्फत शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशभरका जिल्ला पु¥याउने व्यवस्था गरिएको विभागका सूचना अधिकारी बोहोराले बताए ।

सबैभन्दा बढी मृत्यु भएका जिल्ला
वैदेशिक रोजगारीमा गएर मृत्यु भएका नेपालीमा सबैभन्दा धेरै मोरङ, झापा, रौतहट जिल्लाबाट गएकाहरु रहेको विभागकोे विवरणमा छ । जिल्ला अनुसार विवरण हेर्दा, सबैभन्दा बढी मृत्यु भएका व्यक्तिहरू मोरङ (७५७), सिराहा (७१८), झापा (७०१), मकवानपुर (२४२) र रुपन्देही (४७०) जिल्लाका रहेका छन् । विभागको विवरण अनुसार तराई क्षेत्रका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या अत्यधिक रहेको छ, जसले गर्दा मृत्युदर पनि त्यहीं बढी देखिएको छ ।

शान्तिपूर्ण यात्रामा गएका नेपालीहरू आतंकको चपेटामा
विदेशमा नेपालीहरूको मृत्यु सामान्य भइसकेको छ, तर आतंकवाद वा सशस्त्र संघर्षको अप्रत्यक्ष चपेटामा परेर ज्यान गुमाउनु भने असामान्य, पीडादायी र गम्भीर छ ।
विदेशमा रोजगारी, अध्ययन वा घुमफिरका लागि गएका नेपालीहरू प्रत्यक्ष रूपमा युद्धमा नसमेटिए पनि विभिन्न समय र ठाउँमा आतंकवाद र हिंसात्मक घटनाको सिकार बन्न पुगेका छन् । पछिल्लो दुःखद उदाहरण बनेका छन् इजरायलमा कृषि अध्ययनका लागि गएका कञ्चनपुरका विपिन जोशीसहितका ११ विद्यार्थी र भारतको कश्मीरमा घुम्न गएका बुटवलका सुदीप न्यौपाने ।

सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आतंकवादी आक्रमणमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि प्रशिक्षण लिइरहेका कम्तीमा ११ नेपालीको मृत्यु भयो । कञ्चनपुरका विपिन जोशी लामो समय सम्पर्कविहीन रहेपछि केही दिनअघि मृत भेटिएका थिए । उनी साथीहरूलाई बचाउन प्रयासरत रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनको शव डीएनए परीक्षणबाट पुष्टि भएको हो ।
सन् २०२५ अप्रिल २५ मा भारतको कश्मीरमा भएको आतंकवादी हमलामा, घुमफिरका लागि गएका बुटवल सेमलारका २७ वर्षीय सुदीप न्यौपाने मारिए । सुदीपसंगै त्यहाँ २६ जनाको हत्या भएको थियो । उनी आमासहित परिवारका अन्य सदस्यसँग घुम्न गएका थिए । आमा, बहिनी र ज्वाइँ भने ज्यान जोगाउन सफल भएका थिए ।

यस्ता घटना पहिलो पटक होइनन् । सन् २००४ मा इराकमा १२ जना नेपाली श्रमिकलाई अपहरणपछि हत्या गरिएको थियो, जसले देशभर आक्रोश र हिंसा निम्त्याएको थियो । त्यसयता पनि रूस–यूक्रेन द्वन्द्वजस्ता संकटमा अप्रत्यक्ष रूपमा संलग्न भई नेपालीहरू मारिएको समाचार आए पनि आधिकारिक तथ्यांक अझै अपूरा छन् । यी घटनाहरूले देखाउँछन्–नेपालीहरू केवल श्रमिक वा विद्यार्थीका रूपमा मात्र होइन, कहिलेकाहीं संघर्षले नछोएको भूमिमा समेत हिंसाको शिकार बन्न सक्छन् ।