भुसालका वाचाः इमानदारिता, संविधानको रक्षा र विकास

मेचीकाली संवाददाता

२९ कार्तिक २०७९, मंगलवार
267 shares

बुटवल । रुपन्देही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल घरदैलो कार्यक्रममा व्यस्त छन् । मतदाता भेटघाटको क्रममा भुसालले आफ्नो त्रिभुज चुनाव चिन्हमा मत मागेसँगै मतदाताहरूसँग तीनवटा ‘वाचा’ गर्ने गरेका छन् । भुसाल आफ्ना तीनवटा वाचामध्ये पहिलो वाचा ‘इमानदारिता अर्थात् ‘भ्रष्टाचारको अन्त्य’ हो भन्ने गरेका छन् ।

उनी भन्छन्,‘जनताले उपभोग गने र अब पनि नखाने कुरामा प्रतिबद्ध रहेको बताउने गरेका छन् र्। हरेक कुरामा कर लाग्ने गर्छ । जनताले तिरेको कर राज्यको ढुकुटी हो र त्यो ढुकुटी कहाँ खर्च गर्ने र कहाँ नगर्ने यही चुनावले निर्धारण गर्ने गर्छ । म मेरो राज्यको ढुकुटी निजी लाभको लागी, निजी फाइदाका लागि कुनै पनि हिसाबले दुरुपयोग गर्दिनँ,’उनी भन्छन्,‘इमान जनप्रतिनिधिमा चाहिन्छ र त्यो इमान हामीले राख्छौँ ।’ उनले आफूले आजसम्म राज्यको ढुकुटी, पैसा र सार्वजनिक सम्पत्ति नाजायज तरिकाले नखाएका मतदातासमक्ष भुसालको दोस्रो वाचा हो–संविधानको रक्षा । भुसाल भन्छन्,‘राज्यभित्र सरकार, सरकारी निकाय, अड्डा अदालत सबै संयन्त्र हुन्छ । जसको व्यवस्था गर्ने संविधान हुन्छ र त्यो यताउता भयो संविधान बिग्रियो भने सबैकुरामा भाडभौलो सुरु हुन्छ । हामी आफैँआफैँमा लड्छौँ र मुलुक बर्बाद हुन्छ । संविधान, कानुन र लोकतन्त्रको रक्षा गर्नु जनप्रतिनिधिकै काम हो ।’ आफू हिजो पनि संविधानको रक्षाका लागि लडेको र भोलि पनि संविधान र परिवर्तनले संस्थागत गरेको व्यवस्थाको रक्षाका लागि लड्ने प्रण उनले मतदातामाझ गरेका छन् ।

त्यसैगरी, भुसालको तेस्रो वाचा हो– क्षेत्रको विकास । यस क्षेत्रका पालिका, पार्टी, आमासमूह, क्लबहरू, बुद्धिजीवी, उद्योगपति, व्यवसायी, किसान, मजदुर सबैलाई मिलाएर लिएर जान सकियो भने, यसक्षेत्रमा आउने स्रोत–साधनहरूको राम्ररी प्रयोग गर्न सकियो भने र आवश्यक पर्ने स्रोत साधन ल्याउन सकियो भने क्षेत्रको समग्र विकास सम्भव छ भन्ने भुसालको ठहर छ । उनी भन्छन्,‘विकास कार्यलाई बजेटको अभाव हुन दिनेछैन, आवश्यकताका आधारमा सबै विकास निर्माणको काम क्रमैसँग हुँदै जानेछ । अधुरा योजनाहरू पूरा गर्ने र विद्यालय, स्वास्थ चौकी, सडक पूर्वाधार, खानेपानी, सिंचाइलगायत नयाँ योजना प्राथमिकताका आधारमा आवश्यक स्रोत–साधन ल्याउनेछौं ।’

यसरी त्रिभुज चिन्हसँगै तीनवटा वाचा लिएर मतदातामाझ पुगेका भुसाल उत्साहित देखिन्छन् । उनको घरदैलोको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीसँग कुरा गर्दै उनले मतदाताको सुझाव संकलनसँगै आफ्ना भनाइ राख्दै र बुझाउँदै अगाडि बढिरहेको प्रतिक्रिया दिए । ‘कस्तो छ माहोल ? चुनाव जितिन्छ त भन्ने जिज्ञासामा उनी भन्छन्,‘निर्वाचन त जितिसकिएको छ । तर, हाम्रो काम निर्वाचनमा भोट संकलन गर्ने मात्रै होइन । यो त एउटा अभियान हो । निर्वाचन जितेपछि म यसैगरी नागरिकसँग एकाकार भएर यही क्षेत्रको विकासमा योगदान पु¥याउनेछु ।’

भुसालले आफू कृषिमन्त्री हुँदा समयमै मल खरिद नगर्ने ठेकेदारलाई पहिलोपटक कारबाही गरेर राज्यको ढुकुटीमा करोडौं रुपैयाँ जम्मा गर्न सफल भएको बताए । ‘पहुँचका आधारमा ठेकेदारले मल खरिदमा गर्ने बदमासीलाई मैले कारबाही गरेर एउटा थिति बसालेँ’, उनले भने, ‘त्यसपछि बंगलादेशसँग मल खरिद प्रक्रिया सुरु गरेँ । यो कुराले राष्ट्रियरुपमा निकै महत्व राखेको छ ।’
उनले कृषि विकासमा आफूले नीति बनाउन सकेको र यसले आगामी दिनमा मुलुकको कृषिलाई सुधार गर्न महत्त्वपूर्ण योगदान दिने जनाए । ‘मलाई मल दिन सकेन भनेर दुष्प्रचार गरियो, एउटा मन्त्रीले गर्ने काम मैले गरेको छु, सरकार र किसान ठग्ने ठेकेदारलाई कानुनी दायरामा ल्याएको छु,’ उनले भने, ‘यो ऐतिहासिक कदम थियो । अर्कातर्फ नीतिगत सुधार धेरै भएका छन्, ती नीति कार्यान्वयन हुँदा नेपालको कृषि क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छ ।’ भुसाललाई सत्ता गठबन्धनको साथ छ । यो क्षेत्रमा एमालेबाट छविलाल विश्वकर्मा उम्मेदवार छन् । पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा रोचक बनेको छ ।