टलक्कै गुल्मीका विपन्न बस्तीहरू

मेचीकाली संवाददाता

२९ कार्तिक २०७९, मंगलवार
301 shares

बुटवल । गुल्मीमा अब खरका छाना इतिहास बन्दै छन् । पानी परे चुहिने, आगलागीको उत्तिकै डर । विपन्न परिवारका थुप्रै रात पीडामै बिते । कतिपय गरिव परिवारले खरकै झुप्रोमा थुप्रै पुस्ता फेरे । तर, स्थानीय तहले संचालन गरेको खरका छानामुक्त गर्ने कार्यक्रमले त्यस्ता कैयौँ परिवार अहिले ढुक्कले निदाउन पाएका छन् ।

केही वर्ष पहिले जिल्लाको मुसिकोट नगरपालिका–४ दजाकोटमा आगलागी भएर थुप्रै खरे घर जलेपछि पूर्वमन्त्री तथा हाल नेकपा एमाले गुल्मी २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गोणर्क विष्टले आफ्नो निर्वाचन क्षेत्रमा ल्याएको खरका छाना बिस्थापन अभियान अहिले देशव्यापी बनेको नेकपाका नेता गणेश श्रीपालीले बताए । दुई÷चार वर्षमै जिल्लाका थुप्रै बिपन्न परिवारको झुप्रे घरहरु पनि टिनले टलक्क देखिएकाले अत्यन्तै खुसी लागेको बताए ।

नेता विष्टले आफू फेरि निर्वाचित भएपछि गुल्मी दुई को मुहार फेर्न बताए । उनले भने, ‘गुल्मी २ मा विकासले फड्को मारेको छ । आगामी दिनमा धेरै आयोजना ल्याएर जिल्लामा नमूना जिल्ला बनाउने मेरो फेरि पनि उम्मेदवारी हो । विकास लागि हामी सधै प्रतिबद्ध छौं ।’
०७४ सालको तीनै तहका निर्वाचनमा खरका छाना मुक्त प्रमुख चुनावी एजेण्डा हो । चुनावमा कैयन् विपन्न परिवारले त्यही आशमा भोट हाले । फलस्वरुप अहिले त्यहि भोटले ओत पाएका छन् । अहिले मदाने गाउँपालिका–७ पुर्कोटदहका प्रेम विकको घर टीनले छाएर चिटिक्क भएको छ । उनको ऊर्जाशील उमेर खरकै झुपडीमा बित्यो । उनलाई सुरुमा नेताले चुनावी बाचा पूरा गर्लान् र आफ्नो घर टीनले छाइएला भनेर पत्यार पनि थिएन । गत बर्ष गाउँपालिकाबाट टीन ल्याएर घर छाए । अहिले कुनै कुराको डर छैन ।

‘रातमा ढुक्कले सुत्न पाए दिनमा काम गरेर परिवार पाल्छु,’उनले भने,‘अहिले आगो, पानी र हुरीको चिन्ता छैन ।’ यो कार्यक्रम बिपन्न परिवारसँग जोडिएकाले स्थानीय तहले प्रभावकारी रुपमा अगाडी बढाए । अहिले गुल्मीका रेसुंगा र मुसिकोट नगरपालिका तथा इस्मा, मालिका, मदाने धुर्कोट र छत्रकोट गाउँपालिकाले लगभग खरका छानामुक्त घोषणा गर्ने अन्तिम चरणमा पुगेका छन् । जिल्लाका १२ स्थानीय तहमा यो अभियान जारी छ । यो अभियान पूरा हुँदा करिब ८ हजार घरधुरी घरका छानामुक्त हुनेछन् । जिल्लाका क्षेत्र नं.२ का स्थानीय तहले मात्रै अहिलेसम्म करिब चार हजार घरलाई खरका छानामुक्त गरिसकेका छन् भने करिब २० करोड बजेज खर्च गरेका छन् ।

धुर्कोट गाउँपालिकाले पनि अहिले घोषणा गरिएको छ । अहिलेसम्म करिब साढे ५ सय घर परिवारले खरको छाना हटाएर टीन लगाएका छन् । जसका लागि गाउँपालिकाले अहिलेसम्म दुई करोड बजेट खर्च गरेको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिए । उनले स्थानीय चुनावमा भोट माग्न पुगेका खरे बस्तीहरुमा कार्यकालभित्रै टीनका छाना टल्किदा देख्न पाउँदा निकै सन्तुष्टि मिलेकोे बताए । आफूहरुले कृषि र पशुपानलको माध्यमबाट जनताको आर्थिक समृद्धि पनि अगाडी बढाएकाले त्योसंगै सुरक्षित आवासको लागि खरका छाना बिस्थापन अभियानलाई प्राथमिकता दिइएको पोख्रेलले बताए ।

मालिका गाउँपालिकामा १ हजार ४७ घर छरका छाना भएका थिए । अहिलेसम्म ९ सय २८ घरधुरी खरका छानामुक्त भएका छन् । यो वर्ष बाँकी १ सय १९ घर धुरीमा पनि टीनका छाना लगाएको छ । गाउँपालिकाले अहिलेसम्म खरका छाना बिस्थापन गर्न ३ करोड ९० लाख खर्च गरेको छ । यो काम स्थानीय तहहरुले गरेकामध्येको उत्कृष्ट काम हो ।