दीप बोर्डिङमा नमुना निर्वाचन

मेचीकाली संवाददाता

१ मंसिर २०७९, बिहीबार
209 shares

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बुधबार नमुना मतदान सम्पन्न भएको छ । मङ्सिर ४ गते हुन गइरहेको संघ र प्रदेश तहको निर्वाचनको सन्दर्भमा विद्यार्थीहरूलाई प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

नमुना मतदानमा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक गरी ४ वटा मतपत्रमा मतदान गरेका थिए । निवार्चनमा ५५४ जना विद्यार्थी मतदाताहरूको नाम प्रकाशित भए तापनि जम्मा ५४१ जना विद्यार्थी मतदाताहरूले मतदान गरेका थिए । नमुना मतदानमा ९७.६५ प्रतिशत मतदाताले मतदान गरेको कुरा नमुना मतदान कार्यक्रम संयोजक अमर खत्रीले जानकारी गराए ।

मतदानमा नेपाल सरकार मातहतका म्यादी प्रहरी र विद्यालयका स्वयम्सेवकले सुरक्षा प्रदान गरेका थिए । प्रत्यक्ष निर्वाचनतर्फ संंघमा एक सिट, समानुपातिकका लागि ३ सिट, प्रदेशतर्फ प्रत्यक्षमा २ सिट, प्रदेश तर्फ समानुपातिकका लागि ३ सिट निर्धारण गरी गरिएको नमुना निर्वाचनमा डाँफे, लुम्बिनी, सगरमाथा, जनकपुर र कर्णाली गरी जम्मा ५ वटा दलले उमेदवारी दिएका थिए भने स्वतन्त्रतर्फ कसैको उमेदवारी परेको थिएन । चारवटा मतदान केन्द्रमा सम्पन्न नमुना मतदानमा एक वटा मतदान केन्द्रबाट विद्युतीय मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो भने बालकृष्ण पाठक, विकास हमाल, दीपकचन्द्र भुसाल र पुरुषोत्तम पाण्डेयले मतदान अधिकृतको भूमिका निर्वाह गरेका थिए ।

नमुना मतदान कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मतदाता शिक्षाका लागि निर्वाचन आयोगले गर्ने काम दीप बोर्डिङ हाई स्कुलले गरेको र यसले आउँदो मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि विद्यार्थीमार्फत अभिभावकहरूलाई मतदाता शिक्षामा महत्वपूर्ण योगदान पु¥याउने बताए । साथै उनले यसपटक गर्न नसकिए पनि आगामी निर्वाचनको सन्दर्भमा बुटवल उपमहानगरपालिकाले यस क्षेत्रमा रहेका विद्यालयहरूमा नमुना निर्वाचनका लागि सहयोग र समन्वय गर्ने बताए ।

विद्यालयका प्राचार्य तथा नमुना निर्वाचनका प्रमुख निर्वाचन आयुक्त टीकाराम न्यौपानेले नमुना निर्वाचनले संघ र प्रदेशमा प्रत्यक्ष र समानुपातिकतर्फ जनताको प्रतिनिधित्व कसरी हुन्छ ? मतदान कसरी गर्ने ? मतदानमा के कति मतपत्र हुन्छन् ? मत कसरी पट्याउने भन्ने कुरा विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

नमुना मतदानमा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले प्रमुख निर्वाचन आयुक्त, उपप्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्लस टु संयोजक वसन्तकुमार जोशी, लेखा प्रमुख रेखा श्रेष्ठले निर्वाचन आयुक्त, विज्ञान सङ्कायका संयोजक कमल नेपाल, कक्षा ९ र १० का संयोजक केबी. खाम्चा, गणित विषय प्रमुख जनक पन्थीले पर्यवेक्षक, एकराज गुरागाईं र अनिल पङ्गेनीले विद्युतीय मतदानको संयोजन, विजय सापकोटाले सुरक्षा संयोजन, सन्दिप बस्याल र रेखा आचार्यले स्थलगत व्यवस्थापन, कृष्ण भुसालले मतदानको कार्यालयीय व्यवस्थापन गरेका थिए ।

नमुना मतदानको मतगणना बिहीबार बिहान १० बजेदेखि गरिने र त्यसको नतिजा दिउँसो २ बजेभित्र घोषणा गरिने कुरा प्रमुख निर्वाचन आयुक्त टीकाराम न्यौपानेले बताए ।