गुल्मी–२ मा गोकर्ण विष्ट विजयी, को हुन् विष्ट ?

मेचीकाली संवाददाता

७ मंसिर २०७९, बुधबार
239 shares

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन् ।

विष्टले २८ हजार ४७६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत प्राप्त गरेकी छन् ।

विष्टले झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेका हुन् । गुल्मीबाट विष्ट चौथो पटक निर्वाचित भएका हुन् । २०५६ यता ५ वटा निर्वाचन लडेका विष्ट २०६४ मा पराजित भएका थिए ।

को हुन् विष्ट ?
गुल्मीको इस्मामा जन्मिएका विष्ट २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । उनी गुल्मी अनेरास्ववियु अध्यक्ष हुँदै २०५६ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको अध्यक्ष बने ।

२०६५ मा एमालेको केन्द्रिय सदस्य भएका उनी २०७१ मा केन्द्रीय सचिव भए । हाल उनी एमालेकै सचिव रहेका छन् । विष्टले कानुन र व्यवस्थापनमा स्नातक गरेका छन् । विष्ट उर्जा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहित दुईपटक मन्त्री भइसकेका छन् ।