स्याङ्जामा मतगणना अन्योलमा

मेचीकाली संवाददाता

८ मंसिर २०७९, बिहीबार
356 shares

मुक्ति न्यौपाने
वालिङ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सकिएर देशका धेरै स्थानमा मतगणनाको परिणाम आइरहेको समयमा बेलामा स्याङ्जा २ को मतपरिणाम अन्योलमा परेको छ ।
निर्वाचन आयोगले मतगणना सकिएका स्थानहरुका परिणाम घोषणासमेत गरिरहेको छ । स्याङ्जा क्षेत्र नम्वर २ मा भने निर्वाचन भएको ४ दिनसम्म पनि मतगणना कार्य अन्योलमै रहेको छ ।

निर्वाचन भैरहँदा चापाकोट नगरपालिकाको ३ वटा वडामा नेपाली काङ्ग्रेसबाट बुथ नियन्त्रणमा लिई एकलोटी भोट खसालिएको भनी नेकपा एमालेले आयोगमा उजुरी हालेपछि मतगणना हुन नसकेको हो ।
बुथ नियन्त्रणमा लिई एकलौटीरुपमा भोट खसालिएका बुथहरुमा पुनः मतदान गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी गरेको एमालेले जनाएको छ । पुनः मतदान हुनुपर्ने माग एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र उम्मेदवार लगायत ११ दलको समर्थन रहेको विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

चापाकोट—३, को दिसीङकोट आधारभूत विद्यालय , वडा नं ४ को राम मन्दिर मावि , वडा नं ५ को दिन दयालु आधारभूत विद्यालय र जन सक्रीय आधारभूत विद्यालयमा गरी ४ वटा बुथ कब्जा भएको जारी विज्ञप्तीमा उल्लेख छ ।
मतदाता नामावलीबाट नाम नहटाइएका कतिपय मृत्यु भएका व्यक्तिका साथै विदेशमा रहेकाहरुका नाममासमेत भोट खसालिएको एमालेको दावी छ ।
यसैगरी नेपाली काङ्ग्रेसले विधिवत भएको मतदानको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आइसकेपछि तुरुन्त मतगणना गर्नुपर्ने भन्दै धर्ना दिइरहेको छ ।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं। २ का अधिकृत रामचन्द्र शर्मा पौडेलले प्राप्त निवेदन निर्वाचन आयोगमा पठाइएको बताउनुभएको छ । पुनः निर्वाचन हुन्छ कि गणना हुन्छ भनी पत्रकारहरुद्वारा सोधिएको प्रश्नको जवाफ दिदै अधिकृत शर्माले माथिको निर्देशन अनु्सार हुने उल्लेख गर्नुभयो । निर्वाचनमा कर्मचारी पठाउने, मतपेटिका बुझ्ने र मतगणना गराउने बाहेक अरु कुनै अधिकार आँफूमा नभएको अधिकृत शर्माले बताउनुभयो ।