पाल्पा–२ मा एमालेका ठाकुर गैरे विजयी

मेचीकाली संवाददाता

९ मंसिर २०७९, शुक्रबार
235 shares

बुटवल । पाल्पाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुर गैरे विजयी भएका छन् । उनले गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका हुन् ।

गैरेले २७ हजार ८१७ मत ल्याएर विजयी हुँदा पाण्डेले २३ हजार ८५१ मत पाएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टिका सोमप्रसाद गैरेले ५ हजार १८०, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार ४८८, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगरले ५१५ र स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेले ५०१ मत पाएका छन् । यो क्षेत्रमा ६४ हजार २०३ मत खसेको थियो ।
२०७४ को चुनावमा पाल्पा २ मा पाण्डेले ३४ हजार ८९९ मत ल्याएर विजयी भएका थिए । त्यसबेला उनलाई माओवादी केन्द्रको साथ थियो । २०५१ सँगै २०५६, २०७० गरी उनी चार पटक सांसद भइसकेका छन् । २०६४ को चुनावमा भने उनी पराजित भएका थिए ।

यता गैरे पहिलो प्रयासमै सफल भएका छन् । २०५३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेका गैरे केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय सचिव, महासचिव हुँदै २०६३ सालमा सो संगठनको केन्द्रीय अध्यक्ष भएका थिए । २०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनयता गैरे एमालेको केन्द्रीय सदस्य छन् ।
एमाले विभाजनअघि गैरे पार्टीभित्र माधव नेपालको पक्षमा थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गर्दा सडकमा ओर्लेर विरोध गरे । तर, पार्टी विभाजन हुँदा उनी माधव नेपाल पक्षमा गएनन्, एमालेमै बसे ।

२०७८ मंसिरमा चितवनमा भएको एमालेको दसौँ महाधिवेशनमा खुल्लातर्फ केन्द्रीय सदस्य निर्वाचित हुँदा गैरेले दोस्रो बढी लोकप्रिय मत प्राप्त गरेका थिए । गैरै यूवामाझ लोकप्रिय मानिन्छन् ।
यसैगरी, प्रदेशसभातर्फ प्रदेशसभा (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर राना र (ख) मा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर विजयी भइसकेका छन् ।