चुनाव नजिते पनि जनताको मन जित्न सफल भएँः थापा

मेचीकाली संवाददाता

१२ मंसिर २०७९, सोमबार
502 shares

बुटवल । कपिलवस्तु २ (१) प्रदेशका लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार विक्रमसिंह थापाले झिनो मतान्तरले चुनाव हारेपनि छोटो समयमा कपिलबस्तुवासीको मन जित्न भने सफल भएको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आगामी दिनमा पनि रणनीतिका साथ अघि बढ्ने र कपिलवस्तुवासीको यस्तै माया, प्रेम, सद्भाव र स्नेह प्राप्त भइरहने अपेक्षा राखेको समेत बताए ।

‘प्राविधिक रुपमा झिनो मतले चुनावमा पराजित भएपनि छोटो समयमा म तपाईंहरुको मनमा बस्न सफल भएको छु,’सामाजिक सञ्जालमा लामो लेख प्रकाशित गर्दै थापाले भनेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा बुथगत वा वडागत बाकसबाट मत गणनाको नयाँ परिपाटी बसालेर यस क्षेत्रमा पहिले देखि चल्दै आएको मतदातालाई प्रलोभनमा पार्ने ठेकेदारी प्रथालाई उजागर गरिदिएको उनको भनाइ छ । ‘यसबाट पार्टीभित्रका छद्मभेषी ठेकेदारहरुको मुखडा उजागर भएको छ,’ उनले भने,‘कांग्रेसप्रति गरेको गद्धारी, घिनलाग्दो खेल र द्वैध चरित्र उदाङ्गो भएको छ । ’
कांग्रेसका कर्मशील कार्यकर्ताहरुले गद्धारहरुलाई पहिचान गर्ने मौका पाएको उनको भनाइ छ । मत गणनाको यो विधिले आगामी दिनमा सकारत्मक नतिजा दिने उनले बताए ।
उक्त प्रदेश क्षेत्रमा नेपाली कांग्रेसको लुम्विनी प्रदेश कार्यसमिति सदस्यका रुपमा पार्टीको नीति निर्देशनबमोजिम अघि बढ्ने बताउँदै थापाले कपिलवस्तुको बुद्धभूमी र महाराजगञ्ज क्षेत्रको विकासका लागी क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रहरी सेवामा रहँदा अब्बल अधिकृतका रुपमा कहलीएका थापा प्रहरीको सर्वोत्कृष्ट सम्मान पूर्ण शान्ति पुरस्कारवाट पुरस्कृत व्यक्तित्व हुन् । प्रहरी सेवामा रहँदा पनि कपिलवस्तुवासी सोझा, सिधा, दुःखीजनको सेवामा समर्पित रहेको उनको भनाइ छ । कांग्रेसजस्तो गौरवशाली इतिहास बोकेको पार्टीको तर्फबाट उम्मेदवार बन्न पाएकोमा गौरव गर्दै थापाले पार्टीप्रति कृतज्ञता व्यक्त गरेका छन् । चुनावमा अहोरात्र खट्ने गठबन्धन दलका कार्यकर्ता, मतदाता, सुरक्षाकर्मी सबैप्रति थापाले आभार प्रकट गरेका छन् ।