मानव बेचबिखनविरुद्ध अन्तरक्रिया

मेचीकाली संवाददाता

१२ मंसिर २०७९, सोमबार
256 shares

पार्वती आचार्य

कपिलवस्तु । मानव बेचबिखन बिरुद्धको एक दिने अन्तरक्रिया कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको । ”सभ्य समाजको पहिचान , लैंगिंक हिंसा बिरुद्धको अभियान” भन्ने मुल नाराका साथ एक कार्यक्रमको आयोजना गरि अन्तरक्रिया सम्पन्न गरिएको हो । महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेश कार्यालयको आयोजना रहेको सो कार्यक्रममा स्थानियतहका उपप्रमुखहरु , उपाध्यक्षहरु , मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध जिल्ला समिती , स्थानियतहका महिला शाखा प्रमुख , सरोकारवालाहरु संघ संस्थाहरुका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कपिलवस्तु नगरपालिकाका उप प्रमुख सुनिता गुप्ताले महिला बालबालिकाहरु माथि हुने हिंसा न्यूनिकरण गर्न सबैले हातेमालो गर्न आवश्यक भएको बताउनु भयो । घरभित्र देखि अझैपनि महिलाहरुलाई बाहिर निस्कन समाजले स्वीकार गर्न नसकेको बताउनु भयो ।

यस्तै बाणगंगा नगरपालिकाका उप प्रमुख रिता कुमारी चौधरीले लैंगिंक हिंसा न्यूनिकरण गर्न धेरै चुनौती रहेको बताउनु भयो । उहाँले लैंगिक हिंसा न्यूनिकरण गर्न आफै बाट सुरुवात गर्नुपर्ने बताउनु भयो । महिलाहरुलाई धेरै चरणहरु पार गर्नु पर्ने भएको चुनौतीको कैयौं खुड्किलाहरुलाई पार गर्न बाध्य भएको बताउनु भयो । समुदायमा बसोवास गर्ने नागरिकहरुलाई सभ्य रुपमा अगडी बढाउनुपर्नेमा जोड दिनु भयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले लैंगिक हिंसाको समस्याको अवस्था , व्यवस्था र समाधान कसरी गर्नुपर्छ भन्ने बिषयमा अगाडी बढ्न आवश्यक देखिएको बताउनु भयो । मानव बेचबिखनको बिषयमा बोल्दै उहाँले बेचबिखन श्रमशोषण र यौन शोषणबाट समेत भएको हुन सक्ने प्रतिदेबेदनले देखाएको हुँदा यस बिषयमा सबै क्षेत्र लाग्नुपर्ने देखिएको बताउनु भयो ।

जनचेतननाको अभाव र आर्थिक अभावले पनि मानव बेचबिखन तथा ओसारपसार हुन सक्ने भएको हुँदा ६३ किलो मिटर खुल्ला सिमानाको निगरानी गर्नुपर्नेमा जोड दिनुभयो । लैंगिक हिंसा लगाएतका बिभिन्न हिंसाहरुलाई न्यूनिकरण गर्न समाजमा जनचेतना फैलाउन आवश्यक भएको उहाँले बताउनु भयो ।

भारतसंग जोडिएका ६ वटा जिल्लामा कार्यक्रम संचालन गर्ने लक्ष रहेको जानकारी दिंदै यस जिल्लाको मानव बेचबिखन तथा ओसार पसारको अवस्थाको बारेमा जानकारी लिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको सामाजिक बिकास मन्त्रालयका सचिव दिपक राज नेपालले बताउनु भयो । लैंगिक हिंसा लगाएतका बिभिन्न हिंसाहरु न्यूनिकरण गर्न स्थानियतहहरुले बजेट बिनियोजन गरी सचेतनामूलक कार्यक्रमहरु गर्नसके समाजमा यस्ता घटनाहरुमा कमी आउने उहाँको भनाई छ ।

कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख सारदा बस्याल बेल्बासेले लैंगिक हिंसा बिरुद्धको लुम्बिनी प्रदेशको निती तथा कार्यक्रम , लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान , सेतो रिवनको अभियान लैंगिंक हिंसाको परिभाषा लगाएतको बिषयमा जानकारी दिनु भएको थियो ।

यस्तै लैंगिक हिंसा निवारणमा प्रदेश सरकार लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आव ०७९÷०८० को कार्यक्रम तथा बजेट , आव ०७९÷०८० को नीति तथा कार्यक्रममा लैंगिंक हिंसा निवारण र सामाजिक सशक्तिकरण लगाएतको बिषयमा मन्त्रालयका उपसचिव डिल्लीराज बेल्बासेले जानकारी दिनुभयो ।

अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक सैलेश्वरी बोहराले जिल्लामा मानव बेचबिखन तथा ओसार पसारको अवस्था , चुनौती , रोकथामको प्रयासबारेमा सहजीकरण गर्नु भएको थियो । अधिकांस पीडितहरु १६ देखि २५ बर्ष सम्मको उमेर समूह बढी देखिएको छ । मानव बेचबिखन तथा ओसार पसारमाका घटनामा पुरुष भन्दा महिला बढी रहेको तथ्याँकमा उल्लेख छ । चाकडचौडा , मर्यादपुर , कृष्णनगर लगाएतका नाकाहरुबाट बढी यस्ता घटनाहरु घटेको प्रहरी निरीक्षण बोहोराले बताउनु भयो ।

यस्तै साथी महिला आश्रय गृह कपिलवस्तुका प्रमुख बिमला घिमिरेले आश्रय गृहको अवस्थाको बारेमा जानकारी दिंदैं स्थानियतहहरुसंग सहयोगको अपेक्षा रहेको बताउनु भयो । सन् २००८ देखी हाल सम्म २ हजार १ सय ९८ जनाले साथी सस्ंथाको आश्रय केन्द्रबाट सेवा प्राप्त गरेका छन् । महिला बालबालिका तथा जेष्ठ नागकि मन्त्रालयका अधिकृत कृष्ण पौडेलको संचालनमा कपिलवस्तुको तौलिहवामा सम्पन्न कार्यक्रममा मन्त्रालयका सहायक महिला बिकास निरीक्षक कमला ज्ञवाली , संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।