बुटवल र नेपालगञ्जमा सामाजिक सुरक्षा कोषको सम्पर्क कार्यालय स्थापना

मेचीकाली संवाददाता

१३ मंसिर २०७९, मंगलवार
365 shares

बुटवल । सामाजिक सुरक्षा कोषले बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालय स्थापना गरेको छ । पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आइतबार एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेशका दुई स्थानमा एकसाथ सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

सम्पर्क कार्यालयबाट हाल श्रमिक तथा रोजगारदाता सूचीकरणलगायतका काम हुनेछन् । सेवा विस्तार गर्दै केन्द्रीय कार्यालयबाट हुँदै आएका सम्पूर्ण काम नयाँ शाखा कार्यालयबाट हुने कोषका प्रशासकीय अधिकृत डिपी सुन्दर पराजुलीले जानकारी दिए । उनले कोषमा सेवाग्राहीको पहुँचमा वृद्धि हुने विश्वास व्यक्त गरे । कोषले सञ्चालनमा ल्याएका योजना आवश्यकताका आधारमा परिमार्जन हुँदै आएको उनले बताए । कोषले हाल औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजना र सापटी योजना सञ्चालन गर्दै आएको छ ।

षले यसअघि नै विराटनगर र सिमरामा सम्पर्क कार्यालय स्थापना गरेको थियो । गण्डकी प्रदेशको पोखरामा छिट्टै सम्पर्क कार्यालय खोलिने कोषले जनाएको छ । कोषमा १७ हजार पाँच सय सात रोजगारदाता र तीन लाख ७५ हजार नौ सय चार योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा २६ अर्ब योगदान रकम संकलन भएको छ । कोषले हालसम्म दुई अर्ब ७० करोड दाबी भुक्तानी गरेको छ ।

विसं.२०६७ मा सामाजिक सुरक्षा कर संकलनका लागि भन्दै कोषको स्थापना गरिएको थियो । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ । २०७५ मंसिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा संशोधन गरी सुविधालाई योगादनमैत्री बनाउँदै लगिएको बताए । योगदानकर्ताका पति वा पत्नीको औषधी उपचार खर्च र योगदानकर्ताको घातक रोग उपचारको खर्च कोषले व्यहोर्ने गरी कार्यविधि संशोधन गरिएको उनको भनाइ छ ।

स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने तयारी कोषले गरेको छ । कोषको दायरा बढाउँदै श्रमिकका परिवारलाई उद्यमशीलतासँग जोड्ने सरकारको योजना रहेको छ ।