

बुटवल । नेकपा एमालेबाट निर्वाचित लुम्बिनीका चार प्रदेश सभा सदस्यहरूले प्रदेशको राजधानी बुटवलबाट दाङ सार्ने प्रयास गरिएकोमा आपत्ति जनाएका छन् । आइतवार विज्ञप्ति जारी गर्दै नव निर्वाचित प्रदेश सभा सदस्यहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले तत्काल राजधानी नसार्न आग्रह गरेका हुन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको तत्कालीन प्रदेश सरकारले राजधानी दाङ, अर्घाखाँचीको राप्ती र शितगंगा नगरपालिकामा स्थापित गर्ने निर्णय गरेको थियो । त्यहाँ व्यवस्थित गुरुयोजना र डीपीआर तयार गरी भौतिक पूर्वाधार बनाएर राजधानी स्थापित गर्ने निर्णय भए पनि अहिले कुनै संरचना नबनाई सार्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा राजधानी सार्ने कुरा केही दिनमै गठन हुने प्रदेश सभा र प्रदेश सरकारको जिम्मेवारीमाथि हस्तक्षेप भएको ठहर गर्दै त्यस्तो नगर्न आग्रह गरिएको छ ।
