बुटवलबाट रातारात दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय

मेचीकाली संवाददाता

२० मंसिर २०७९, मंगलवार
566 shares

बुटवल । आबश्यक पूर्वाधार तयार नहुँदै लुम्बिनी प्रदेशका मन्त्रालयहरू दाङ सार्न नहुने भन्दै चौतर्फी बिरोध भईरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचर लगायत सामानहरू रातारात दाङ पुर्‍याइएको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको बताए । अबदेखि मुख्यमन्त्री कार्यालय दाङमै खुल्ने तयारी रहेको उनले बताए । ‘अब मुख्यमन्त्री कार्यालय बुटवलमा खुल्दैन, सामान र कार्यालय व्यवस्थापन भएपछि दाङमै खुल्छ,’ उनले भने ।

३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान सहितको कार्यालयका सम्पूर्ण सामाग्री बोकेर मुख्यमन्त्री सहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी गएको थियो । सोमबार मध्यरातमा मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा आज बिहान झारिएको छ ।

प्रदेशसभाले पनि निर्वाचित भएर आएका प्रदेशसभा सदस्यहरुको शपथ देउखुरीमै गराउने तयारी गरिरहेको छ । स्रोतका अनुसार मुख्यमन्त्री कुलप्रसादकेसीले आफ्नो सचिवालय, मन्त्रीपरिषद्को कार्यालयसँगै अर्थ तथा सहकारी मन्त्रालय र प्रदेश कोष तथा लेखा नियन्त्रणको कार्यालय पनि एक साताभित्रै देउखुरीमै सार्ने गरी व्यवस्थापन गर्न पूर्वाधार विकास प्राधिकरणलाई निर्देशन दिएका छन् ।

यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरू नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए । नेकपा एमाले रुपन्देही, नेपाली कांग्रेस रुपन्देही र एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित ४ सांसदहरू लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नया बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरू सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए । कर्मचारीहरुले समेत पूर्वाधार बिना राजधानी सार्दा समस्या हुने भन्दै नसार्न मागसहित ज्ञापनपत्र बुझाएका थिए ।