एमाले सरकार गठनको अदृश्य प्रयासमा छैनः पौडेल

मेचीकाली संवाददाता

२३ मंसिर २०७९, शुक्रबार
204 shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार गठनको अदृश्य प्रयासमा एमाले नलागेको बताएका छन् । सिट संख्याको हिसाबमा बहुमत नभएकाले सरकार गठनको पहल कदमी लिन आवश्यक नभएको बताउँदै उनले सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिका निभाउने बताए ।

बुटवल कालिका क्याम्पसको ९औँ वार्षिकोत्सवलाई शुक्रवार सम्बोधन गर्दै नेता पौडेलले भने, ‘एमाले सरकार गठनको खेलमा लागेको छैन । सत्ता गठबन्धनसँग पनि बहुमत त छैन । तर, बहुमतको नजिक छ । त्यस कारणले हामी चाहन्छौँ गठबन्धनले जोडजार गरेर बहुमत पु¥याई सरकार बनाओस् । हामी प्रतिपक्षमा रहन्छौँ ।’

माओवादी केन्द्रसँग सरकार गठनका लागि एमाले कुनै छलफल नगरेको समेत पौडेलले स्पष्ट पारे । ‘जनमतको हिसाबले एमाले एक नम्बर पार्टी हो’, पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले भने, ‘एमालेलाई रोक्नका लागि गरिएका प्रयास असफल भएको छ । एमालेको अग्रता र शिष्टतालाई कसैले चुनौती दिन सक्दैन । तर, प्राविधिक रूपमा केही सिटले हामी दोस्रो भएका हौँ ।’
सत्ता गठबन्धनसँग एक्लै लडेर एमाले अहिले अवस्थामा आउनु ठूलो सफलता भएको पौडेलको भनाइ छ । निर्वाचनको एमालेले छिट्टै समीक्षा गर्ने पनि पौडेलले बताए । रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पौडेलले एमाले सरकारमा रहँदा वा प्रतिपक्ष रहे पनि रुपन्देहीको विकासलाई कुनै अप्ठ्यारो नपर्ने पौडेलले बताए । सबैसँग एकताबद्ध भएर रुपन्देहीको विकासमा आफू सधैं लाग्ने पौडेलले बताए ।

माओवादी केन्द्र र अन्य दलसँग मिलेर सरकार गठनको प्रयास भइरहेकोबारे पत्रकारको प्रश्नमा नेता पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको बताए । ‘वामपन्थी बीच सहकार्यको प्रश्नै छैन, एमाले मात्रै वामपन्थी पार्टी हो अनि कोसँग सहकार्य ? पौडेलले प्रश्न गरे । पौडेलले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनाहरू पूरा गर्न सक्रिय भूमिका खेल्ने बताए ।

पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालय लगायत संरचनाहरु पुर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको टिप्पणी गरे । प्रदेशको राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेश सभाको भएपनि अहिलेको सरकारले विधि प्रकृया मिचेर हतारमा मन्त्रालय सार्ने निर्णय गलत भएको बताए ।
उनले रुपन्देहीलाई पुर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र दक्ष जनशक्तिका हिसाबले मुलुककै अग्रणी र रोलमोडल जिल्ला बनाउने आफ्नो अभियानमा कमी आउन नदिने समेत बताए ।