गार्गी एकेडेमीद्धारा क्यान्सर पीडित विद्यार्थीलाई ९० हजार आर्थिक सहयोग

मेचीकाली संवाददाता

२५ मंसिर २०७९, आईतवार
587 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले आइतबार विद्यालयमा अध्ययनरत क्यान्सर रोग पीडित छात्रलाई आर्थिक सहयोग गरेको छ । बुटवल–११ बेलबास निवासी भेषराज भुसालको छोरा कक्षा ४ मा अध्ययनरत एन्जिल भुसाललाई एक कार्यक्रमकाबीच विद्यालयमा सहयोग हस्तान्तरण गरेको हो ।

विद्यालयका अध्यक्ष रणबहादुर थापा, प्राचार्य भुवन अधिकारी र शिक्षा उपसमिति सदस्यहरूको सहभागितामा विद्यार्थीका अभिभावक भेषराज भुसाललाई ९० हजार ८८५ रूपैयाँ हस्तान्तरण गरिएको हो । उक्त रकम सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले गार्गी एकेडेमीको सक्रियतामा विद्यालयमा अध्यनरत विद्यार्थीहरू, अभिभावक, शिक्षक, कर्मचारी र विद्यालयको तर्फबाट गरी संकलन गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य भुवन अधिकारीले एकेडेमीले विगतदेखि नैं विद्यार्थी तथा अभिभावहरुलाई यस्ता खालका समस्याहरुमा आर्थिक सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि यस्तै परोपकारका कार्यहरू निरन्तरता दिने बताए ।

प्राचार्य अधिकारीले बिरामी छात्र एन्जिलको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालय सञ्चालक समितिका सदस्य लोकराज शर्माले गरेका थिए ।