पटुकाले घाँटी कसेर श्रीमानको हत्या

मेचीकाली संवाददाता

२७ मंसिर २०७९, मंगलवार
255 shares

बुटवल । अर्घाखाँचीको छत्रदेवमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी ५५ वर्षकी लक्ष्मी नेपालीले आफ्नो पति ७० वर्षीय श्रीमान बलबहादुर सार्कीको हत्या गरेकी हुन् ।

बलबहादुर र लक्ष्मीबीच शनिबार साँझ घरायसी झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई सामान्य कुटपिट गरेका थिए । रिसको झोकमा लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुका निकाली श्रीमान्को घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिए ।

लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुण्डाई हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको इन्पेक्टर घिमिरेले जानकारी दिए । हत्या गरेपछि आफूलाई श्रीमान्ले कुटपिट गरेको भन्दै गाउँमा गुहार मागेकी थिइन् । सार्की दाम्पतीले झगडा हुनुअगाडि मदिरा सेवा गरेका थिए ।
‘हत्या गरी झुण्डाएर छिमेकीसँग मलाई श्रीमान्ले कुटपिट गरे भनेर सहयोग माग्न पुगेकी रहिछन्,’ घिमिरेले भने, ‘छिमेकी त्यहाँ पुग्दा बलबहादुर झुण्डिएको अवस्थामा भेटिए । रक्सीको मातमा घटना घटेको देखिन्छ । अनुसन्धान गर्दै जाँदा हत्या गरेर झुण्डिाएको स्वीकार गरिन् ।’ लक्ष्मीलाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ ।

यसैबीच, अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका २ ठुलाखर्क भित्री सड़कमा लु ४ त ९२२ नम्बरको ट्याक्टर बालुवा लोड गरी खाकादेसी बाट ढाकावाङतर्फ जाने क्रममा अनियन्त्रित भई पल्टिदा सोही ठाउँका ३५ वर्षिय ठाकुर पाण्डेको मृत्यु भएको हो । ट्याक्टर सडकबाट करिब १५० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।