‘सहकारीको माध्यमबाट बेरोजगारीको समस्या समाधान गर्न सकिन्छ’

मेचीकाली संवाददाता

१ पुष २०७९, शुक्रबार
211 shares

पार्वती आचार्य
कपिलवस्तु । सहकारीको माध्यमबाट देशको बेरोजगारीको समस्या समाधान गर्न सकिने लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थीले बताउनुभएको छ । दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेपाली अर्थतन्त्रमा सहकारी महत्वपुर्ण अंगको रुपमा रहेको हुँदा निजी, सहकारी र सरकारी तिन किसीमको अर्थब्यवस्थाको बिकास गर्न सके मुलकको अर्थब्यवस्था माथि उकास्न सकिने बताउनु भयो ।

यस्तै सहकारीले बर्तमान समयमा गरेको आर्थिक उपलब्धिको प्रशंसा गर्दै सांसद पन्थीले मुलुकका संम्पुर्ण सहकारीले अब उत्पादनका क्षेत्रमा लगानी गर्न सुझाब दिनुभयो । सहकारी मार्फत संकलन भएको सामुहिक बचतको सही सदुपयोग र उत्पादन क्षेत्रमा केन्द्रिकृत गर्दै नेपाली अर्थतन्त्रलाई मजबुत बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । देश धनि भयो भने राज्यकै ईज्जत बढ्ने भएको हुँदा हाम्रो देश नेपाललाई धनि र संमृद्ध बनाउन सबै लाग्नुपर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सहकारी संयोजक तेज प्रसाद आचार्यले सहकारीले आर्थिक संगै सामाजिक दुबै क्षेत्रलाई समायोजन गर्दै अगाडी बढेको बताउनुभयो । बर्तमान समयमा कपिलवस्तुमा धेरै सहकारीको उदय भैरहेको अवस्थामा यसले अर्थतन्त्रलाई उकास्नमा ठुलो योगदान गर्ने बताउनु भयो ।

कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष छबि रेश्मीले १५ औं बार्षिक साधारण सभाको शुभकामना दिंदै बचतलाई बृद्धिगर्न सके आर्थिकमा संमृद्धि हुने बताउनु भयो ।

यस्तै दर्शन बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार झलक बहादुर मल्ल ठकुरीले सहकारी बिकास र बिस्तारका लागी बचत आवश्यक पर्ने भएकाले दर्शन बचत तथा ऋण सहकारी संस्था शेयर सदस्यहरुको बिस्तारमा तत्परताका साथ लागेको बताउनुभयो । सुरुवाती चरणमा ३ सय २८ जना शेयर सदस्यबाट शुरुवात गरेको सहकारीमा अहिले बढेर करिब १३ सयको हारहारीमा पुग्नु सहकारीको महत्वपुर्ण उपलब्धी रहेको बताउनुभयो ।

सहकारीका जिल्ला तथा केन्द्रिय प्रतिनिधी राजेन्द्र बिक्रम शाहले यस दर्शन बचत तथा ऋण सहकारी लाई अगाडी बढाउन सम्पुर्ण सेयर सदस्यहरु लागिपर्न आवश्यक भएको बताउनु भयो । सहकारीको शब्दलाई अर्थमा रुपान्तरण गर्दे जाँदा कार्यन्वयन पक्षलाई जोड दिंदै जाँदाखेरी सहकारीका शेयर सदस्यहरु अभिभावक हुन कर्मचारी लगाएत कार्यसमिती कारिन्दा हुन तर्सर्थ शेयर सदस्यहरु चनाखो हुन आवश्यक भएको शाहले बताउनु भयो ।

मेचिकाली राष्ट्रिय दैनिकका जिल्ला ईन्चार्ज तथा संचारिका समूह कपिलवस्तु शाखा अध्यक्ष पार्वती आचार्यले आर्थिकको क्षेत्रलाई बढाउँदै लैजान सके बिभिन्न हिंसाहरु कमी हुँदै जाने बताउनु भयो । यस सहकारी मार्फत बिभिन्न व्यवसायीक मूलक कार्यक्रमहरु संचालन गरी महिलाहरुलाई आर्थिक रुपमा शसक्तिकरण गराउनु पर्नेमा जोड दिनु भयो ।

साधारण सभामा गत बर्षको प्रस्तावित कार्यक्रम र उपलब्धीका बारेमा सहकारीका सचिब निर्मल कुमार शाहीले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सहकारीका कोषाध्यक्ष मुक्ति बहादुर मल्लले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको र यि दुबै प्रतिबेदन सर्बसहमत बाट पारित भएको छ ।

सहकारीको प्राङ्गणमा आयोजना गरिएको १५ औँ बार्षिक साधारण सभामार्फत ज्येष्ठ शेयर सदस्य महिला, पुरुष, असल ऋणी, असल बचतकर्ता, असल ब्यवसायी लगाएतलाई नगद , दोसल्लाह र कदरपत्रले सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष कृष्ण बहादुर शाही (बिजय) को अध्यक्षता , उपाध्यक्ष कमला खाण (सुस्मा) को स्वागत तथा सचिव निर्मल शाहीको संचालनमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य बिष्णु पन्थीको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेशका सहकारी संयोजक तेज प्रसाद आचार्य, वडा नम्बर ४ का वडा अध्यक्ष छबि रेश्मी मगरको बिशिष्ट आतिथ्यता रहेको थियो । भने कार्यक्रममा सहकारीका निबर्तमान अध्यक्ष, सल्लाहकार, लेखा परिक्षक, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।