औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन मात्र राखिने

मेचीकाली संवाददाता

३ पुष २०७९, आईतवार
344 shares

बुटवल । बुटवलमा यहीँ पुस ७ गतेदेखि सञ्चालन हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनमा स्वदेशी उत्पादन मात्रै प्रदर्शनमा राखिने भएको छ । नेपाली उत्पादनलाई बजारीकरण गर्दै उपभोक्तामा स्वेदशी वस्तुको प्रयोग गर्ने बानीको विकास गराउने प्रदर्शनीले प्रमुख लक्ष्य लिएको छ । प्रदर्शनी आयोजक रूपन्देही उद्योग संघले स्वेदशीलाई उद्योगलाई प्रवद्र्धन गर्दै कृषि, प्रविधि तथा पर्यटन महोत्सव आयोजना गर्न लागेको हो । राष्ट्रिपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रदर्शनी मूल समितिका संयोजक माधव पौडेलले बुटवलमा प्रदर्शनीको अभियानले पछिल्ला दिनहरूमा नयाँ रूप धारण गर्दै आएको बताए । ‘आयोजनालाई परिस्कृत र परिमार्जन र आम उपभोक्ता तथा दर्शकहरुको चाहनालाई केन्द्रमा राखेर अगाडि बढाउँदै छौं । स्वदेशी उत्पादनलाई बजारीकरण गर्ने हाम्रो लक्ष्य हो ।’ बुटवलमा २०४५ सालमा पहिलो प्रदर्शन लागेपछि यसले निरन्तरता पाउँदै आएको छ ।

कोरोना महामारीका कारण दुई वर्ष सञ्चालन हुन नसकेको महोत्सवमा अहिले दर्शक र कारोबार बढी हुने आयोजकले अपेक्षा लिएका छन् । महोत्सवमा ७ लाख दर्शक र २५ कारोडको कारोबार हुने आयोजकले अपेक्षा लिएको छ । त्यस्तै प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणलाई ६० र विद्यार्थीलाई ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको उद्योग संघका महासचिव हरिबहादुर खत्रीले जानकारी दिए । प्रदर्शनीमा टिकटको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्ने गरी छुटटाइने भएको छ । प्रदर्शनी १३ दिने चल्नेछन् । स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार सिर्जना, गोष्ठी र अन्तक्र्रिया पनि हुनेछन् ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटीलगायतका करिब ४५० स्टलहरु रहनेछन् । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायकगायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय अन्तरकलेज वक्तृत्वकला प्रतियोगिता, लोकभजन प्रतियोगिता, प्रदर्शनी आइडल, टिकटक हन्टलगायतका प्रतियोगिताहरु रहने छन् ।