बिजयनगर अपाङ्गता सञ्जालमा पुनः दुर्गा काफ्ले चयन

मेचीकाली संवाददाता

५ पुष २०७९, मंगलवार
262 shares

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका स्तरीय अपाङ्गता सञ्जालको अध्यक्षमा पुनः दुर्गा प्रसाद काफ्ले चयन भएका छन् । काफ्लेको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका स्तरीय अपाङ्गा सञ्जाल गठन भएको छ । जसको उपाध्यक्षमा डीला कार्की, सचिवमा रामप्रसाद लोनिया, कोषाध्यक्ष दयाराम कलवार रहेका छन् ।

त्यस्तै सदस्यहरुमा बब्बु भर, विश्व प्रसाद कोरी, अन्जुमा वानो, मुस्तकिम मुसलमान, सफेदा देवी मुराउ, मुम्ताज आलम मनिहार र दनिसरा सोमै रहेका छन् । गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले अपाङ्ग भएका व्यक्तिका लागि गाउँपालिकाले थप कार्यक्रमहरु ल्याउने बताए ।

उनले अपाङ्ग भएका व्यक्तिलाई प्राथमिकतामा राखी गाउँपालिकाले रोजगारीसमेत दिँदै आएको बताउँदै उनीहरुको क्षमतालाई सदुपयोग गर्ने स्थानीय सरकारको दायित्व भएको बताए । उनले गाउँपालिकामा छुट्नु भएका अपाङ्ग भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

यसैगरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विगतका दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई दिँदै आएको सेवा सुविधालाई निरन्तरता दिने बताइन् । उनले नवगठित समितिका पदाधिकारीलाई बधाई दिँदै अपाङ्ता भएका व्यक्तिका लागि सरकारले थप प्रभावकारी कदम चाल्नुपर्ने बताइन् । उनले अपाङ्ग व्यक्तिका हक र अधिकारका लागि गाउँपालिकाले पूर्ण जिम्मेवारी निर्वाह बताइन् ।
कार्यक्रम रामप्रसाद लोनियाको स्वागत मन्तव्य र बालबालिकाका शाखा प्रमुख यमकला रेश्मीको सञ्चालन सम्पन्न भएको थियोे ।