अन्तर पालिका स्तरिय दिगो खानेपानी सुरक्षा योजना तथा सुरक्षित खानेपानी युक्त समुदाय स्व–घोषित

मेचीकाली संवाददाता

६ पुष २०७९, बुधबार
398 shares

बसन्ती आचार्य
कपिलवस्तु । बाणगंगा र गजेहडा भुपु–सैनिक खानेपानी तथा सरसफाई उपभोक्तालाई अन्तर पालिका स्तरिय दिगो खानेपानी सुरक्षा योजना तथा सुरक्षित खानेपानी युक्त समुदाय स्व–घोषित गरिएको छ । नेपाल सरकारको दिगो लक्ष्य अन्तर्गत सन् २०३० सम्म देशैभरका सम्पुर्ण खानेपानी आयोजनाहरुलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने लक्ष्य अनुरुप कपिलवस्तु जिल्लामै पहिलोपटक उक्त उपभोक्ता समिती सुरक्षित खानेपानीयुक्त समुदाय स्व–घोषित भएको हो ।

बाणगंगाको वडा नम्बर १ र ४ का उपभोक्तहरुले उपभोग गर्ने उक्त खानेपानी उपभोक्ता समितीको बुधबार एक बिशेष कार्यक्रमको आयोजना गरि सुरक्षित खानेपानी युक्त समुदाय स्व–घोषित गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर ४ का वडा सदस्य तथा नगर कार्यपालिका सदस्य चन्द्रावती थारुले हरेक समुदायका लागी स्वच्छ पानी आवश्यक पर्ने बताउनु भयो । बाणगंगा र गजेहडा भुपुसैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीले उपभोक्ताको स्वास्थ्य हितलाई मध्यनजर गर्दै सुरक्षित खानेपानी घोषणा गर्नु सराहनीय कार्य भएको बताउनुभयो । यस्तै थारुले बिपन्न बर्गका उपभोक्ताहरुलाई निशुल्क खानेपानीको ब्यवस्था गर्ने खालको बातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा वडा नंम्बर १ र ४ का वडा सदस्यद्धय लक्ष्मी बहादुर खत्री र चिन्का थारुले बातावरण सफा भएमात्र सफा खानेपानी उपभोग गर्न सकिने बताउनुभयो । यस्तै सुरक्षित खानेपानी कार्यक्रमका लुम्बिनी प्रदेश ईन्चार्ज प्रेम न्यौपाने, कपिलवस्तु नागरिक समाजका अध्यक्ष तथा संस्थाका सल्लाहाकार दोलख बहादुर पछाई, सल्लाहकार द्रोणराज सुवेदी, नन्द किशोर शुक्ला, टिकाराम पौडेल, संस्थाका अनुगमन समितिका संयोजक बालाराम ज्ञवाली, बिभिन्न संस्थाका प्रतिनीधी, बुद्धिजीवी लगाएतले सुरक्षित खानेपानी घोषणा गर्नु आफैमा सराहनीय कार्य भएपनि यसलाई जोगाईराख्नु आफैमा चुनौतीपुर्ण रहेको बताउनुभएको थियो ।

उक्त कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै कुष्ण प्रसाद पौडेलले शुद्ध खानेपानीका उदेश्य, यसका चुनौति लगायतका बारेमा बताउनु भएको थियो । बाणगंगा र गजेहडा भुपुसैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष राजेन्द्र बिक्रम शाहले अन्तरपालिका स्तरिय दिगो खानेपानी सुरक्षा योजना तथा सुरक्षित खानेपानी युक्त समुदाय स्व–घोषित गर्दै नेपाली समाजमा असुरक्षित पानीको कारणले बिभिन्न रोगब्याध लागेर अकालमै ज्यान गुमाईरहेको कारण पनी पानीको शुद्धीकरण गर्नु अहिलको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रम बाणगंगा र गजेहडा भुपुसैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष राजेन्द्र बिक्रम शाहको अध्यक्षता , समितीका उपाध्यक्ष झलक बहादुर मल्ल ठकुरीको स्वागत मन्तव्य तथा सचिव कुष्ण बहादुर शाही (बिजय) को संचालनमा सम्पन्न कार्यक्रममा बिभिन्न संस्थाका प्रतिनीधी, बुद्धिजीवी, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।