जाडोमा स्वास्थ्यको ख्याल

मेचीकाली संवाददाता

१० पुष २०७९, आईतवार
117 shares

ओम बानियाँ
चिसो बढेसँगै जाडो मौसममा देखिने समस्याले धेरैलाई सताउन थालेको छ । जाडो मौसममा बालबालिका, महिला र वृद्धवृद्धालाई बढी नै समस्या हुने गरेको छ । बालबालिकामा पनि भर्खर जन्मेका शिशुमा समस्या बढी देखिने सम्भावना रहन्छ । चिसो मौसम र वातावरणको प्रत्यक्ष सम्बन्ध रहने भएकाले अहिले अस्पतालमा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास तथा निमोनिया आदिका बिरामीहरु बढेको वरिष्ट चिकित्सक डा. नन्दु पाठक बताउँछन् ।

डा.पाठकका अनुसार जाडोयाममा चिसोको एलर्जी, घाँटीको संक्रमण, चिसोमा हुने झाडापखाला, छाला, ओठ फुट्ने, चिलाउने, सुन्निने, शरीरमा सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुने, ब्रोङ्काइटिस, दादुरा, ठेउलालगायत मुटु कमजोर हुने जस्ता समस्या पनि देखिन्छन् । यो बेलामा शरीरका बाहिरी भाग हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने जस्ता समस्या पनि हुन्छ ।

चिसोले विशेष गरी मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रमण गर्छ । साथै शीतलहर हुँदा मुटु र मस्तिष्कमा असर पुग्ने र हृदयाघात हुने, कोलेस्ट्रोल बढाउने, पक्षघात गराउने र बालबालिकामा दादुरा, ठेउला पनि देखिने गर्छ । जाडो मौसममा केटाकेटी, असक्त तथा वृद्धवृद्धाका साथै दम र मुटुका बिरामीहरुको विशेष ख्याल राख्नुपर्छ । जाडोयाममा बिरामी तथा वृद्धवृद्धालाई हृदयाघात हुने सम्भावना बढी हुने बुटबलमा कार्यरत वरिष्ट मुटु रोग विशेषज्ञ डा. लक्ष्मण दुबेको भनाइ छ ।

डा.लक्ष्मण दुबे

डा. दुबे भन्छन्,‘हो, गर्मीयामको तुलनामा जाडो मौसममा मानिसमा मुटु रोगसम्बन्धी जोखिममा बढी रहन्छ ।’ रक्तचाप कहिले धेरै कहिले कम हुने समस्या जाडो बेला बढी हुन्छ । यसको एउटा कारण चिसोले रक्तनली र शरीरमा पार्ने सिधा प्रभाव हो । अर्को कारण, चिसोका कारण शरीरमा उत्पन्न हुने रसायन वा हर्मोनहरू हुन् जसले मुटुको धड्कन बढाउन मद्दत गर्छन् । मुटुभित्रका नलीमा रक्त सञ्चार अबरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढाइदिन्छ । खासगरी ६० वर्ष नाघेका मानिसहरू, मधुमेह वा दमका रोगी, अन्य रोग लागेका वा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या भएका बिरामीहरूले जाडोमा विशेष मुटुको हेरचाह गर्नुपर्छ । मुटु बचाउन चिसोबाट बच्नु पहिलो र महत्वपूर्ण उपाय हो । त्यसैले बिहानै अति चिसोमा गरिने हिँडडुल नगर्ने । न्यानो लुगाहरू लगाएर घाम लागेपछि मात्र हिँड्ने । खानपिनमा विशेष ध्यान दिने । जाडो छल्न भन्दै चुरोट र मदिरापानमा नियन्त्रण गुमाउँदा धेरै मानिसहरूमा मुटुको जोखिम बढ्ने र कसैकसैको यही बेला हृदयाघात भइ मृत्युसमेत हुने गर्छ ।

तर केही साधारण कुराहरुमा ध्यान दिन सकियो भने यस्ता धेरै समस्याहरुबाट बच्न सकिन्छ । अतः मौसम अनुसार मानिसले आफ्नो आहारबिहारमा ध्यान दिने हो भने निश्चित रुपमा रोगहरुबाट बच्न सकिन्छ, शरीरलाई निरोग र बलवान् राख्न सकिन्छ ।

जाडो मौसमको आहारः
आयुर्वेदका अनुसार जाडो मौसममा जठराग्नि तीव्र हुन्छ, जसले गर्दा पाचन शक्ति प्रवल रहन्छ अर्थात् जाडो मौसममा खाएपिएको आहार राम्रोसँग हजम हुन्छ । त्यसैले जाडो मौसमको सही तथा पूरा सदुपयोग गर्नका लागि पौष्टिक, बलवद्र्धक तथा गुणवद्र्धक पदार्थहरु सेवन गर्नुपर्छ । जस्तो कि शुद्ध घिउबाट बनेका पदार्थ, मुंगको दालको हलवा, मासको खीर, शुद्ध घिउको जेरी र दुःध । मौसमी फलफुल । कागजी बदाम, ओख्खर, किशमिश, छोहोडा, मुंगफली, अमला । सुत्नेबेलामा गोल्डेन मिल्क ।

गोल्डेन मिल्क बनाउने तरिकाः
गोल्डेन मिल्क तयार गर्ने विधि यस प्रकार छः बिहान २–४ वटा बदाम(आलमन्ड) एक कप पानीमा भिजाएर राख्ने । आफ्नो पाचनशक्तिअनुसार बदामको संख्या कमबेसी गर्न सकिन्छ । तर ४ वटा बदामभन्दा बढी प्रयोग नगर्ने । अब एक गिलास मनतातो दुधमा बदामको छिल्का हटाएर बनाएको लेप, एकतिहाइ चम्चा बेसार, आधा चम्चा शुद्ध घिउ (गाईको घिउ उत्तम हन्छ ।) पनि हालेर राम्रोसँग मिलाउने । यस दूधमा एक चम्चा मह मिसाउने तथा अलँैची र दालचिनीको अलिकति चूर्ण माथिबाट छर्कन सकिन्छ । गोल्डन मेमोरी मिल्क तयार भयो । अब एक चम्चा त्रिफला चूर्ण फाँकेर गोल्डन मेमोरी मिल्क पिउने ।
बिहानको नास्तामा राति भिजाएर राखेको एक मुठी चना, सकिन्छ भने राति नै भिजाएर राखेको १०–१५ दाना किशमिश तथा २–४ वटा जति छोहोरा तथा कागजी बदाम खुबसँग चपाएर खानु राम्रो हुन्छ । स्वादको लागि चनामा अलिकति पिसेको सिँधेनुन, मरिचको धुलो तथा कागतीको रस मिसाउन सकिन्छ । अझ अंकुरित गेडागुडीको भोजन अमृत भोजन, नास्ताको रूपमा सेवन गर्नु सर्वोत्तम हुन्छ ।

अमृत भोजनः
अमृत भोजन भनेको नमरेको भोजन हो । यस्तो भोजनमा भरपुर प्राणशक्ति हुन्छ । त्यसैले यो पौष्टिक तथा बलवद्र्धक हुन्छ । बिहानी नास्ताका लागि अमृत भोजनमा निम्नलिखित अंकुरित गेडागुडीहरूलाई लिन सकिन्छ ।
चनाः १५ ग्राम
गहुः १५ ग्राम
मँुगः १० ग्राम
मुगफलीः १० ग्राम
मेथीः १० ग्राम
तिलः ५ ग्राम

उपर्युक्त अंकुरित गेडागुडीमा प्याज, टमाटर, पालकको पत्ता, हरियो धनियाँ, पत्तागोपी, गाजर इत्यादिका स–साना टुक्राहरू काटेर मिसाउन सकिन्छ । स्वादकोलागि अलिकति पिसेको सिँधेनून, अदुवा, मरिचको धुलो तथा कागतीको रस मिसाउन सकिन्छ र यो अमृत भोजनलाई खुब राम्रोसँग चपाएर खानुपर्छ । जाडो मौसममा मात्र होइन, अन्य मौसममा पनि यो अमृत भोजन सेवन गर्न सकिन्छ ।

जाडो मौसमको बिहारः
जाडो मौसममा आहार अनुसारको बिहार अर्थात् रहनसहन बहुतै महत्वपूर्ण हुन्छ । त्यसैले जाडो मौसममा गर्न योग्य बिहार गर्नुपर्छ । यदि गर्न योग्य बिहार नगर्ने तथा गर्न अयोग्य बिहार गर्ने हो भने शरीरलाई हानी गर्छ तथा रोग पैदा हुन्छ ।
जाडो मौसममा शीतबाट बच्ने । शरीरमा तेल मालिस गर्ने । व्यायाम तथा योगासन गर्ने । घाम ताप्ने । बिहान हिँड्ने या दौडिने । न्यानो लुगा लगाउने । सुत्दा न्यानो कपडा जस्तै कम्बल, सिरक आदिको प्रयोग गर्ने । मनतातो पानीले नुहाउने । यी सबै जाडो मौसमका उचित बिहारहरु हुन् ।

जाडो मौसममा मानिसहरुले बिहान नुहाउने अल्क्षी मान्छन् । तर जस्तोसुकै जाडो भएपनि बिहान नुहाउने अल्क्षी गर्नु हँुदैन । बिहानै सबेरै उठेर नुहाउनाले शरीरमा चुस्तीफुर्ती बढ्छ, शरीर शुद्ध हुन्छ । तोरीको तेल वा तिलको तेलले शरीर मालिस गरेर नुहाउनु सुनमा सगन्ध छरेझैं हुन्छ । धेरै जाडो भएको खण्डमा मनतातो पानीले नुहाउन सकिन्छ । तर, धेरै तातो पानी टाउको तथा आँखामा पर्न दिनु हँुदैन । अतः यसरी जाडो मौसमको उचित आहारबिहारको पालना गर्ने हो भने शरीर पुष्ट, सुडौल तथा स्वस्थ हुन्छ, जसले गर्दा गर्मी मौसममा पनि शरीर स्वस्थ रहन्छ ।