बुटवलमा सडक खाना महोत्सव सुरु

मेचीकाली संवाददाता

१६ पुष २०७९, शनिबार
308 shares

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा तीनदिने सडक खाना महोत्सव सुरु भएको छ ।

लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका परिकारलाई एकैथलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले बुटवलमा चौथो सडक खाना महोत्सव आयोजना गरिएको हो । बुटवल–९ तीनकुने चोकदेखि नयाँ बसपार्कसम्म निर्माणाधीन कालिकापथ सडकको दायाँबायाँ सडक खाना महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा विभिन्न खानाका परिकारहरुको एक सयभन्दा बढी स्टल राखिएको छ ।

सडक खाना महोत्सवको शुक्रबार एक कार्यक्रमबीच संघीय सांसद तथा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले उद्घाटन गरेका छन् । उक्त अवसरमा सांसद विश्वकर्माले बुटवललाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिने बताए । आर्थिक केन्द्रसँगै बुटवल होटल तथा पर्यटन क्षेत्रमा अब्बल शहरको रुपमा विकास भएको उनको भनाइ छ ।

संघका अध्यक्ष रामप्रसाद गौतमले साँझ ६ देखि राति १२ बजेसम्म सडक खाना महोत्सव सञ्चालन हुने बताए ।
‘नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवर्द्धन र रोजगारी सृजना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सडक खाना महोत्सव आयोजना गरिएको महासचिव माधव खनालले बताए । महोत्सवमा करिब १ करोडको आर्थिक कारोबार हुने र १ लाख बढीले अवलोकन गर्ने आयोजकहरुको अनुमान छ ।