लुम्बिनी प्रदेशसभा सांसदले लिए शपथ

मेचीकाली संवाददाता

१७ पुष २०७९, आईतवार
308 shares

प्रकाश आचार्य/रमेश पराजुली
बुटवल । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेशप्रमुख अमिक शेरचनले प्रदेश सांसदहरूलाई एकमुष्ठ सपथ ग्रहण गराएका हुन् ।

अन्य प्रदेशहरुमा ज्येष्ठ सदस्यले प्रमुख प्रमुखबाट सपथ लिएर त्यसपछि सपथ गराए पनि प्रदेशसभा नियमावली नियम ४ बमोजिम लुम्बिनी प्रदेशमा प्रमुखले नै सबै सांसदहरूलाई सपथ ग्रहण गराएका हुन् । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीको नवनिर्मित अस्थायी प्रदेशसभा भवनमा सांसदहरूले सपथ लिएका थिए । सपथ ग्रहणका क्रममा विभिन्न जातजातिका भेषभूषा झल्कने पोशाकले सांसदहरूले लगाएका थिए । रोल्पा र रूकुमका मगर समुदायका महिला पुरूष सांसदहरूले आफ्नो परम्परागत पहिरन लगाएर सपथ खाएका थिए ।

दाङ, बाँके र बर्दियाका थारू समुदायका सांसदले पनि आफ्नै मौलिक पहिरनमा सपथ लिएका थिए । रूपन्देही, कपिलवस्तु, बाँकेका मधेसी समुदायका सांसदहरूले पनि आफ्नै पहिरनमा सपथ लिए । सपथपछि सांसदहरूलाई सचिवालयका सचिव पुनले त्यसमा हस्ताक्षर गर्न लगाएका थिए । हस्ताक्षरपछि उनीहरूलाई प्रदेश प्रमुख, मुख्यमन्त्री बसेको ठाउँमा झोला लिन बोलाइयो । प्रदेशप्रमुख शेरचन र मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा सदस्यलाई बधाई दिँदै झोला दिए ।

लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी ८७ सांसद छन् । यो पटक लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व छ । प्रदेशसभामा नेकपा एमाले २९, नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४, नागरिक उनमुक्ति पार्टी ४, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ३, जनमत पार्टी ३, जनता समाजवादी पार्टी (जसपा) ३, राष्ट्रिय जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र ३ सांसद छन् । यसअघि २०७४ मा लुम्बिनीमा ५ दलको प्रतिनिधित्व रहेको थियो । प्रदेशसभाका सांसदहरूको सपथसँगै अब सभामुख चयनको प्रक्रिया अगाडि बढ्नेछ ।

ज्येष्ठ सदस्य भुसालले अध्यक्षता गर्ने
लुम्बिनी प्रदेशको प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने भएका छन् । लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव पुनका अनुसार प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्य भुुसालले सभाको अध्यक्षता ग्रहण गर्नेछन् । प्रदेश प्रमुखले ६९ वर्षीय भुुसाललाई यससम्बन्धी जिम्मेवारी पत्र प्रदान गरेका छन् । भुसाल नेकपा एमालेबाट गुल्मी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका हुन् । प्रदेश सभामुख र उपसभामुखको चयन नहुँदासम्म अध्यक्षता भुसालले नै गर्नेछन् । हप्ता दिनभित्र सभामुख र उपसभामुख चुनिने अपेक्षा गरिएको छ । प्रदेशसभाको पहिलो बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।

नौ सांसदद्वारा मातृभाषामा सपथग्रहण
लुम्बिनी प्रदेशसभाका निर्वाचित ९ जना सांसदहरूले मातृभाषामा सपथग्रहण गरेका छन् । आइतबार आयोजित सपथग्रहण कार्यक्रममा ९ जना सांसदले मातृभाषामा सपथ खाएका हुन् । नागरिक उन्मुक्ति पार्टीका ३ जना, जनमत पार्टीका २, जनता समाजबादी पार्टी (जसपा) का २, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्र का १÷१ जना गरी ९ जनाले मातृभाषामा सपथ लिएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, निर्मलादेवी थारु चौधरी र राजकुमार चौधरीले थारु भाषामा सपथ लिएका हुन् । त्यसैगरी जनमतका सुमन शर्मा रायमाझी र चन्द्रकेश गुप्ताले अबधी भाषामा सपथ लिए । जसपाका भण्डारी लाल अहिर र आदेशकुमार अग्रवालले अबधीमा सपथ लिए । यसैगरी लोसपाका कन्यैयाल बानियाँले पनि अबधी भाषामा सपथ लिए र माओवादीकी कृष्णा कुश्मा थारुले थारु भाषामा सपथ लिएको संसद् सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

हत्या तथा अपहरणको आरोपी सांसद कुर्मीले पनि लिए सपथ
अपहरण, शरीर बन्दक तथा कर्तव्य ज्यान मुद्दा खेपिरहेका लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अधिकारकर्मीहरूले उनलाई सपथग्रहण नगराउन माग गरे पनि आइतबार उनले अन्य प्रदेशसभा सदस्यहरूसँगै सपथग्रहण गरेका हुन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ की एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको आरोप लागेका बादशाहलाई प्रदेशसभा सदस्यको शपथ ग्रहण नगराउन अधिकारकर्मीहरूले माग गरेका थिए ।
रुबी खाँन नेतृत्वको महिला अधिकार मञ्च बाँकेले लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचनलाई भेटेर बाँके–३ (२) बाट निर्वाचित कुर्मीलाई गृह मन्त्रालयबाट गठित छानबिन समितिले दोषी ठहर गरेको र अहिले प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानसमेत जारी रहेको अवस्थामा सपथग्रहण रोकेर न्याय निरूपणमा सहयोग गर्न आग्रह गरेको थियो ।

नेपालगञ्ज–१७ निवासी बादशाह नेपाली कांग्रेस बाँके–३ (२) बाट निर्वाचित सांसद हुन् । २०६२ मा निर्मलाका श्रीमान्को मृत्यु भएको थियो । २०६६ मा उनका १६ र १८ वर्षका दुवै छोराका १५ दिनको फरकमा मृत्यु भयो । कुनै रोग नलागेका छोराको अचानक मृत्यु भएको थियो । तर, दुवै छोराको शवको पोस्टमार्टम गर्न बादशाह कुर्मीले रोकेको आरोप लाग्दै आएको छ ।
पोष्टमार्टम नगरी दाहसंस्कार गरिएपछि बादशाहमाथि त्यतिबेलैबाट निर्मलाका छोराको हत्या गरेको आरोप लाग्दै आएको थियो । मञ्चले २०७७ चैत २० गते एकल महिला निर्मलाको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान कसुर मुद्दाको मुख्य आरोपितको रूपमा बादशाहसहितलाई कारबाहीको माग गर्दै ८ जनाविरुद्ध जिल्ला प्रहरीमा जाहेरी दर्ता गरेको थियो ।

संघीय सांसदहरू पनि उपस्थित
आइतबार भएको लुम्बिनी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम प्रतिनिधिसभा सदस्यहरूले पनि अवलोकन गरेका छन् । शपथग्रहण कार्यक्रम तीनजना संघीय सांसदहरूले अवलोकन गरेका हुन् । शपथ ग्रहण समारोहको अवलोकनका लागि प्रतिनिधिसभा सदस्यहरू चन्द्र भण्डारी, छविलाल विश्वकर्मा र वासुदेव घिमिरे पुगेका थिए ।

भण्डारी गुल्मी–१, विश्वकर्मा रुपन्देही–१ र घिमिरे रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । भण्डारी नेपाली कांग्रेस तथा विश्वकर्मा र घिमिरे एमालेबाट निर्वाचित भएका हुन् । सपथ ग्रहण समारोहको एमाले नेत्री शान्ता चौधरीले पनि अवलोकन गरेकी थिइन् । उनी प्रतिनिधिसभा सदस्यमा दाङ १ बाट नेकपा एसका मेटमणी चौधरीसँग पराजित भएकी थिइन् ।