एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा गिरी, उपनेतामा आचार्य

मेचीकाली संवाददाता

१८ पुष २०७९, सोमबार
348 shares

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन् । आइतबार प्रदेश राजधानी दाङको राप्ती उपत्यका (देउखुरी) मा बसेको बैठकले गिरीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । दलको उपनेतामा अर्घाखाँचीका चेतनारायण आचार्य चयन भएका छन् ।

एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सदस्यहरुको भेलाले केन्द्रीय तहको शीर्ष नेतृत्वको सहमतिलाई अनुमोदन गर्दै नेता र उपनेता चयन गरेको बताए । दलको नेता चयन गर्न एमालेका महासचिव शंकर पोखरेल, केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मासमेत उपस्थित थिए ।

यसअघि महासचिव शंकर पोखरेलले चेतनारायण आचार्यलाई दलको नेता बनाउन निकै जोडबल गरेका थिए । तर, एमाले उपाध्यक्ष विष्णु पौडेलले आफूनिकट नेतालाई दलको नेता बनाएका छन् ।

गिरी लुम्बिनीको मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । दलीय भागबण्डामा लुम्बिनी एमालेको भागमा परेको खण्डमा गिरी मुख्यमन्त्री बन्ने छन् । रुपन्देहीको क्षेत्र नम्बर २ (१) बाट लुम्बिनी प्रदेशसभामा दोस्रोपटक निर्वाचित गिरीले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका थिए । हाल उनी एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सहइन्चार्ज छन् । आचार्य अर्घाखाँचीको १ (२) बाट निर्वाचित भएका हुन् ।