बुटवलमा ५ हजार मिटर दौड आयोजना

मेचीकाली संवाददाता

१९ पुष २०७९, मंगलवार
498 shares

बुटवल । नेपाल खेलकुद महासंघ बुटवल उपमहानगर कमिटीले विविध कार्यक्रमसहित स्थापना दिवस मनाउने भएको छ । महासंघले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा पौष २० गते अनाथ बालकालिका आश्रमलाई खाद्यान्न तथा राहतसामग्री प्रदान गर्ने भएको छ । कोही भोकै मर्न नपरोस् भन्ने उद्देश्यले खाद्यान्न तथा राहतसामग्री प्रदान गर्ने कार्यक्र राखिएको उपाध्यक्ष युवराज घतानेले जानकारी दिए ।

‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ २०६६ सालमा स्थापना भएको यस संस्थाले पौष २३ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने मूल उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रमका संयोक तथा संस्थाका उपाध्यक्ष प्रेम थापा खाम्चाले बताए ।

यसैगरी बुटवलका खेलाडीहरुको मनोबल, प्रतिभा र खेलस्तरलाई वृद्धि गर्ने तथा सामाजिक क्रियाकलापमा समेत संगठनलाई आबद्ध गराउने उद्देश्यका पौष २५ गते ‘प्रथम बटौली ५ हजार मटिर दौड प्रतियोगिता’ गर्ने भएको छ । अन्तर माविस्तरीय दौड प्रतियोमा योगिकुटीदेखि सुरु भएर कालिकानगर, राजमार्ग चौराहा, मिलनचोक (सडक डिभिजन कार्यालय चोक) बाट पुनः राजमार्ग चौराहा, कालिकानगर हुँदै योगिकुटीमै आई समापन गर्नेगरी रुट तय गरिएको छ ।

दौड प्रतियोगितामा प्रथम हुनेले छात्रा तथा छात्रले समान १२÷१२ हजार पुरस्कार राशीसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी दोस्रो र तेस्रो हुनेले क्रमशः ७ हजार र ४ हजार नगद राशी प्राप्त गर्ने छन् । दौड प्रतियोगिता सम्पन्न गर्नका लागि संस्थाका कोषाध्यक्ष प्रवेश आचार्यको संयोजकत्वमा व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रा÷छात्रको विद्यालयहरुलाई समेत सम्मान गरिने संयोजक आचार्यले बताए । खेलकूदको विकासँगै विभिन्न सामाजिक क्रियाकलापहरुमा समेत युवालाई सहभागिता गराउने उद्देश्यले स्थापना दिवसमा विविध कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष त्रिभुवन पाण्डे शर्मा (सविन) ले बताए ।