‘सिरियल किलर’ सिंह दम्पती ! ४ महिनामा ३ जनाको हत्या अन्ततः प्रहरी फन्दामा

मेचीकाली संवाददाता

२५ पुष २०७९, सोमबार
372 shares
कपिलवस्तु, गुल्मी र अर्घाखाँचीका तीनजना वृद्धाको हत्याका आरोपीलाई सार्वजनिक गर्दै अर्घाखाँची प्रहरी ।

रमेश पराजुली
बुटवल । अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा गरी ३ जना वृद्ध महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । श्रृंखलाबद्धरूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुटपाट गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्दप्रसाद रिजालका अनुसार यी दम्पतीले यही पुस १७ गते अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० बोखरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीया योगमाया गैरेको समेत हत्या गरेको खुलेको छ ।

सुशान्तले श्रीमतीसँग मिलेर श्रृंखलाबद्धरूपमा हत्या गरेको खुलेपछि उनकी श्रीमती शीतगंगा नगरपालिका–१० सिद्धाराकी २२ वर्षीया शिवा परियारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । सिंहले ३ वर्षअघि परियारसँग विवाह गरी कपिलवस्तुमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ । थापाको हत्या गर्न श्रीमानलाई सघाएको र योजना बनाउन सहयोग गरेको परियारले प्रहरीलाई बयान दिएकी छन् । उनिहरुले चार महिनामा गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा गरी तीन जना महिलाको हत्या गरी गरगहना तथा नगद लुटेको पुष्टि भएको प्रहरी निरीक्षक पौडेलले बताए ।

अर्घाखाँचीमा तेस्रो पटक महिलाको हत्या गरी भाग्ने क्रममा प्रहरीले सिंह दम्पतीलाई पक्राउ गरेको हो । पक्राउ गरी अनुसन्धान गर्दा सिंहले तीनवटै घटनामा आफ्नो संम्लग्नता रहेको प्रहरी समक्ष स्वीकारेका हुन् । यही पुस १७ गते शितगंगा नगरपालिका–१० बोखरकी ६० वर्षीया राधा थापालाई दूध लिन जाने क्रममा बाटोमा ढुकेर हत्या गरे । थापालाई ढुंगा र हँसिया प्रहार गरी हत्या गरेर जंगलको खोल्सामा फालेर गहना लिएर भागेका थिए । शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे । तत्काल घटनास्थल पुगेको प्रहरीले शंकास्पद व्यक्तिको खोजी गरे । हत्यारा खोज्दै जाँदा शीतगंगा–११ स्थित मुद्रेबास जंगलमा लुकेर बसेको अवस्थामा सुशान्त र शिवा पक्राउ परे । यो घटना कपिलवस्तु र गुल्मीमा भएको वृद्धा हत्याकै घटनासँग मिल्दोजुल्दो देखिएकाले प्रहरीले सबै कोणबाट अनुसन्धान अगाडि बढाएको थियो ।

त्यस्तै, गएको असोज १४ मा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ विजयनगरकी ७० वर्षीया योगमाया गैरेको पनि सुशान्तले नै हत्या गरेको पुष्टि भएको छ । सुशान्त दम्पतीले योगमायाको हत्या गरी गहना लुटेर भारत गएको प्रहरीलाई बयान दिएका छन् । सिंहले गएको कात्तिक २८ मा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापालाई पनि घरमै पुगेर हत्या गरी गहना लुटेर भागेको खुलेको छ । जीवकला घरमा एक्लै रहेको भिडियो युट्युबमा हेरी सिंह गुल्मी पुगेको बताएका छन् । घरमा छोराछोरी कोही नभएको र श्रीमानको मृत्यु भइसकेको थाहा पाएर घरमा पुगेका सिंहले उनको घाँटी थिची हत्या गरी सुनका गरगहना लुटी भागेको प्रहरी निरीक्षक पौडेलले बताए । थापाको जीवनकथा एउटा युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो ।

‘तीनवटै घटनामा गहनाकै लागि सिंहले हत्या गरी भागेको खुलेको छ । बिभिन्न माध्यमबाट एकल महिला भएको पत्ता लगाउने र योजना बनाएर हत्या गर्दै गहना लुट्ने गरेको अनुसन्धानबाट देखियो ।’ प्रहरी निरीक्षक पौडेलले भने । यसरी लगातार एउटै प्रकृतिका घटनामा सिंह दम्पती मात्रै संलग्न छन् की अरु गिरोह नै छ भन्ने बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

अनुसन्धानमा अब्बल बन्दै प्रहरी निरीक्षक पौडेल
नौ महिना अगाडि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा सरुवा भई आएका प्रहरी निरीक्षक अर्जुन पौडेल अपराध अनुसन्धानमा अब्बल देखिएका छन् ।

प्रहरी निरीक्षक अर्जुन पौडेल

छोटो समयमा उनले जघन्य प्रकृतिका अपराधिक घटनामासमेत सफलता पाएका छन् । गत साउनमा मालारानी गाउँपालिका–२ का विष्णुबहादुर पाण्डेको हत्यामा सम्लग्न पाणिनी गाउँपालिका–२ डाँडाकटेरीका दिपक भन्ने कुलचन्द्र गौतमलाई प्रहरी निरीक्षक पौडेलकै नेतृत्वको टोलीले अनुसन्धान गरी पक्राउ गरेको थियो ।

त्यस्तै गत कार्तिकमा भूमिकास्थान नगरपालिका–१ का ६९ वर्षीय विरबहादुर गमालको हत्यामा सम्लग्न सहोदर दाइ हिमबहादुर गमाललाई समेत प्रहरी निरीक्षक पौडेलकै नेतृत्वमा अनुसन्धान गरी पक्राउ गरिएको थियो । त्यस्तै गएको मंसिरमा छत्रदेव गाउँपालिका–१ का बलबहादुर सार्कीको हत्यामा सम्लग्न लक्ष्मी नेपालीलाई पनि प्रहरी निरीक्षक पौडेलकै नेतृत्वमा पक्राउ गरिएको थियो ।

प्रहरी निरीक्षक पौडेल २०७६ देखि नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनी एकैपटक नेपाली सेनाको अधिकृत क्याडेट, शसत्र प्रहरी बलको प्रहरी निरीक्षक र नेपाल प्रहरीको प्रहरी निरीक्षकमा छनोट भएका थिए । त्यसपछि उनले नेपाल प्रहरी छनोट गरी हाल अर्घाखाँचीमा कार्यारत छन् । यसअघि जिल्ला प्रहरी कार्यालय सल्यानमा अनुशन्धान अधिकृतको रुपमा रहँदासमेत उनले विभिन्न गम्भीर प्रकृतिका घटनाको सफल अनुसन्धान गरिसकेका छन् ।