फुटबलमा वारियर र भलिबलमा फुलबारी विजयी

मेचीकाली संवाददाता

२५ पुष २०७९, सोमबार
334 shares

वालिङ। स्याङ्जाको वालिङमा स्पन्दन युनाइटेड क्लबद्वारा आयोजित प्रथम प्रेम स्मृति भलिबल तथा फुटबल प्रतियोगिता शनिवार सम्पन भएको छ । प्रतियोगितामा फुटबलतर्फ २३ टिम र भलिबलतर्फ २५ टिमको सहभागिता रहेको थियोे । २३ टिम सहभागी भएको फुटबलतर्फको उपाधि वारियर फेमिली वालिङले हात पारेको छ । फाइनल खेलमा वारियर फेमिलीले उपाधी दावेदार स्याङ्जा युथ क्लब पुतलीबजारलाई शून्यका विरुद्ध ३ गोल गर्दै विजयी हुन सफल भएको हो ।

त्यस्तै भलिबलतर्फ प्रतिस्पर्धात्मक खेलमा फुलबारी युवा क्लब सिर्सेकोटले रंगीन युवा क्लब वालिङ–१४ करादीलाई २–१ सेटले पराजित गर्न सफल भएको छ । विजेता तथा उपविजेता टोलीहरूलाई वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पदक तथा पुरस्कार वितरण गरे । सो अवसरमा खेलकुदलाई स्थानीय सरकारबाट सक्दो सहयोग गर्ने प्रमुख खाँणले बताए ।

लिङको खेलकुद विकासको लागि सक्दो सहयोग गर्ने र खेलकुद तथा समग्र वालिङको आर्थिक विकासमा लाग्न जोड उनले दिए । स्व.प्रेम थापाले खेल क्षेत्रमा पु¥याएको योगदानको पनि स्मरण गरे । खेलले ममनसिक र बौद्धिक क्षेत्रमा महत्वपूर्ण भूमिका रहने उनले बताए । खाँणले खेलकुद व्यावसायिक र आयआर्जन गरी व्यावसायिक बनाउनमा जोड दिए ।

उक्त समापन समारोहमा व्यक्तिगत उत्कृष्टता हासिल गर्ने खेलाडीहरूलाई पनि पदक तथा पुरस्कार प्रदान गरिएको थियो । जसमा भलिबलतर्फ उत्कृष्ट सर्भर फुलबारी युवा क्लबका याम आले, उत्कृष्ट डिफेन्डरमा फुलबारिकै इश्वर गुरुङ, उत्कृष्ट ब्लकरमा रंगीन युवा क्लबका लेस्सन गुरुङ, उत्कृष्ट सेटरमा फुलबारीका दिपेस गुरुङ, उत्कृष्ट स्पाइकरमा रंगीन युवा क्लबका नवीन महतो र उत्कृष्ट खेलाडीमा फुलबारी सिर्सेकोटका इश्वर थापा पुरस्कृत भए ।

यसैगरी फुटबलतर्फका व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक स्याङ्जा युवा क्लबका किरण शाक्य, उत्कृष्ट मिडफिल्ड वारियर फेमिलीक प्रीयन्सन गुरुङ, उत्कृष्ट डिफेन्डर वारियरकै रमेश थाप, उत्कृष्ट स्ट्राइकर र उच्च गोलकर्ता वारियरकै आशिष् गुरुङ र उत्कृष्ट खेलाडी वारियरकै रमेश थापा पुरस्कृत भए ।

उक्त समापन समारोहमा प्रतियोगिता सम्पना गराउन सहयोग गर्ने विभिन्न महानुभावहरूलाई मायको चिनो प्रदान गरिएको थियो भने प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने व्यक्तिहरूलाई दिने मायाको चिनो बनाउने खर्च जोगाएर त्यस रकमबाट राम्दीस्थित शिव पार्वती वृद्धाश्रममा आश्रीत ज्येष्ठ नागरिक र भुम्रे माविमा अध्यायनरत फरक क्षमता भएका बालबालिकालाई सहयोग गर्ने कुरा सञ्चालक रेशम आलेले बताए । अध्यक्ष दिपक श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको समापन समारोहको सञ्चालन क्लबका सदस्य रेशम आलेले गरेका थिए ।