स्वास्थ्यकर्मी महासंघ तिलोत्तमाद्वारा मुटुसम्बन्धी कार्यशाला

मेचीकाली संवाददाता

२६ पुष २०७९, मंगलवार
391 shares

बुटवल । राष्ट्रिय स्वास्थ्यकर्मी महासघं, तिलोत्तमा नगर कमिटीको आयोजनामा निरन्तर चिकित्सा शिक्षा कार्यक्रमअन्तर्गत मुटुसम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको सहजीकरण मुटु रोग विशेषज्ञ डा. अर्जुन बुढाथोकीले गरेका थिए । मुटु रोगका लक्षणबारे बताउँदै एक स्वास्थ्यकर्मीले प्राथमिक स्वास्थ्य उपचारमा के गर्ने के नगर्ने बताउँदै बुढाथोकीले जनचेतना कसरी फैलाउने भन्नेबारे जानकारी दिए । हृदयघातको उदाहरण पेश गर्दै हृदयघात हुनुभन्दाअघि छातीमा सहन नसक्ने पीडा हुन्छ । यसका साथै पेटको माथिल्लो भाग दुख्ने, अत्याधिक पसिना बग्ने, वाकवाकी लाग्ने, बान्ता हुने जस्ता समस्या हुन्छन् । यस्तो समस्या भएमा तत्काल चिकित्सककहाँ जानुपर्छ जब एक स्वास्थ्यकर्मी भएको नाताले गर्नुपर्ने आधारभूत क्रियाकलापबारे जानकारी दिए । बुढाथोकीले मुटुसम्बन्धी स्वास्थ्य परीक्षणका सामग्रीको प्रयोग र ती सामग्रीले देखाउने परिणामअनुसार कस्तो कदम चाल्नेबारे स्वास्थ्यकर्मीलाई सहजीकरण गरेका थिए ।

शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेकपा एमाले केन्द्रीय स्वास्थ्य, जनसंख्या विभाग सदस्य तथा रूपन्देही प्रमुख सुनिल श्रेष्ठले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न स्वस्थ्य नेपाली पहिलो पाटो रहेको बताउँदै स्वस्थ्य नेपाली भए मात्रै उत्पादनमूलक काम साथै समाजको अग्रगती हुने बताए । श्रेष्ठले स्वास्थ्यकर्मीलाई आफ्नो काममा सक्षम बनाउन निरन्तर कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रवाह भए नभएको, औषधी तथा स्वास्थ्यसम्बन्धी सामग्री सोहीअनुरुप उत्पादन भए नभएको राज्यले निरन्तर निगरानी गर्नुपर्ने बताउँदै सो विषयमा आफूहरू सधैं चनाखो भएर लागेको बताए । स्वास्थ्यकर्मीको सुरक्षाको बन्दोबस्त मिलाउन र न्युनतम पारिश्रमिक दिलाउन केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागले पहल गरिरको श्रेष्ठले बताए ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, तिलोत्तमा नगर कमिटी अध्यक्ष केशव भट्टराईको अध्यक्षता सम्पन्न कार्यक्रममा टीकाराम शर्मा, भास्कर आत्रेय, रामेश्वर ढकाल ढकाललगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा तिलोत्तमा–बुटवल क्षेत्रका सयौं स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।