लुम्बिनीमा मुख्यमन्त्री बन्दै लिला गिरी, ५८ सांसदको समर्थनसहित दाबी पेश

मेचीकाली संवाददाता

२७ पुष २०७९, बुधबार
325 shares

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गरेका छन् । सत्तारूढ गठबन्धन दलहरूबीच लुम्बिनी प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री एमालेलाई दिने सहमतिअनुसार एमाले संसदीय दलका नेता गिरीले ५८ सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका हुन् ।

कुल ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । नेता गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३, लोसपाका ३ र स्वतन्त्र २ गरी जम्मा ५८ जना सांसदले समर्थन गरेका छन् ।

लुम्बिनीमा नेपाली कांग्रेस (२७), नेकपा एकीकृत समाजवादी (१) र राष्ट्रिय जनमोर्चा (१) मात्रै प्रतिपक्षमा बसेका छन् । यहाँ एमाले संसदीय दलका नेता गिरीले पहिलो साढे २ वर्ष र माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले पछिल्लो साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको छ । प्रदेश प्रमुख शेरचनले आज दिउसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका थिए ।

एमाले नेता गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बन्न लागेका हुन् । ०७४ को पहिलो प्रदेशसभा निर्वाचनपछि एमालेका महासचिव शंकर पोखरेल पहिलो मुख्यमन्त्री भएका थिए । उनको सरकार ढाल्दै २०७८ साउन २८ मा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री भएका थिए ।