लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त

मेचीकाली संवाददाता

२७ पुष २०७९, बुधबार
353 shares

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता एवं पूर्व मन्त्री लिला गिरी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बनेका छन् ।

सत्तारूढ गठबन्धन दलहरूबीच लुम्बिनी प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री एमालेलाई दिने सहमतिअनुसार एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनको शपथ भोलि बिहीबार दिउसो १ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नेता गिरीले ५८ सांसदको समर्थनसहित आज नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । नेता नेता गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३, लोसपाका ३ र स्वतन्त्र २ गरी ५८ जना सांसदको समर्थन रहेको छ । साढे २ वर्ष पछि माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछन् ।

गुल्मीको रुरु गाउँपालिका–५ बम्घामा वि.सं.२०११ सालमा जन्मीएका नेता गिरी किसान आन्दोलनबाट उदाएका हुन् । नेता गिरी एमालेका पोलिटब्यूरो सदस्यसमेत हुन् । २०३१ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा समर्पित नेता गिरीलाई यस क्षेत्रका सालिन, इमानदार र अनुभवी नेता मानिन्छ । उनि रुपन्देही क्षेत्र नम्बर २ (क) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै निर्वाचित भएका हुन् । नेता गिरी ०७४ को निर्वाचनमा पनि रुपन्देही–२ (क) बाटै निर्वाचित भएका थिए । यसअघि नेता गिरीले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री र स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।