चारपाला सामुदायिक वनको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२८ पुष २०७९, बिहीबार
667 shares

बुटवल । बुटवल–१२ स्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले सामुदायिक वनको संरक्षक उपभोक्ताहरू नैं रहेको बताए । उनले पछिल्लो समय वन क्षेत्रमा ठूलो उपलब्धी हाँसिल भएको बताए ।

वन क्षेत्रको विकासमा पालिकाले धेरै योजनाहरू अगाडि सारेको जानकारीसमेत सो अवसरमा बस्यालले दिए । नेपालको नमुना वनको रूपमा विकास भएको वनमा झण्डै १ लाख उपभोक्ताहरू आश्रित छन् । सैनमैना वन डिभिजन कार्यालयका प्रमुख मोसाफिर भगतले वन क्षेत्रको विकासमा सबै जुट्नुपर्ने बताए ।

वनका अध्यक्ष जगतनाथ पौडेलले वन र वनक्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण, विकास र दिगो व्यवस्थापन गर्दै अगाडि बढिएको बताए । उनले वन पैदवार काठ तथा जंगलमा खेर गइरहेका दाउराको सदुपयोग गरी उपभोक्तालाई सहज रूपले आवश्यकताअनुसार वितरण गर्न र उद्योगमार्फत रोजगार प्रदेश सरकारमार्फत सहमिल सञ्चालन गरिएको बताए । वन संरक्षणको लागि हरेक वर्ष वृक्षरोपणालाई वनले प्राथामिकतामा राखेको बताए । यो वर्ष पनि ५ हजार विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

चारपाला वन नेपालकै नमुना र ठूलो वनमा पर्छ । वनको क्षेत्रफल २ हजारभन्दा बढी छ । वनले जिल्लाको कूल क्षेत्रफलका ७।९५ प्रतिशत क्षेत्रफल ओगटेको वनका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए । वनको यस क्षेत्रको भू क्षय कटान र नियन्त्रणमा ठूलो भूमिका खेलेको छ ।

वनमा दुर्लभ जंगली जनावरहरु पनि फेला परेका छन् । कार्यक्रममा बुटवल–१२ का वडा अध्यक्ष डिल्लीप्रसाद आचार्य, पूर्ववडा अध्यक्ष दुर्गा सुवेदी, सल्लाहकार प्रेमशर्मा काफ्ले, धर्मआचार्य होमबहादुर क्षेत्रीलगायतले बोलेका थिए । उपाध्यक्ष रामकुमारी पौडेलको स्वागत तथा सचिव दुर्गा पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वन संरक्षणको लागि हेरालु नियुक्त गर्ने तयारी गरिएको छ ।