कोहलपुर नगरपालिकाको १२ औं नगरपालिका शुरु

मेचीकाली संवाददाता

३० पुष २०७९, शनिबार
474 shares


कोहलपुर ,पौष ३०

लुम्बिनी प्रदेश बाके जिल्ला अन्तरगत कोहलपुर नगरपालिकाको १२ औं नगर सभा शुरु भएको छ।

नगरसभामा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अर्को बैठक बस्नु पूर्व सबै सभाषद समक्ष पुग्ने गरी चार वटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ । कोहलपुर नगरपालिकामा साविक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९, कोहलपुर बांगमय प्रतिष्ठान विद्येयक २०७९, बजेट, योजना तथा कार्यक्रम संशोधन र नगरपालिकाको संगठन संरचनामा हेरफेर लगायतका प्रस्ताव नगरसभाका सभाध्यक्ष एवम् नगर प्रमुख आचार्यले प्रस्तुत गर्नुभएको हो । ती प्रस्ताव उपर आगामी माघ १३ गते बस्ने नगरसभाको र्को बैठकमा दफावर छलफल हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो । नगरपालिका प्रमुख आचार्यले प्रस्ताव प्रस्तुत गर्नु अघि सार्वजनिक महत्वको बिषयमा नगरसभाका सदस्यहरु लालबहादुर राना, गोविन्द वाग्ले, तारादेवी सिंह, कविराम पुलामी, इश्वरी विश्वकर्मा, माधव रिजाल र भीम पौडेलले सार्वजनिक महत्वको बिषयमा आआफ्नो धारणा राख्दै नगरपालिकाको समग्र विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । कोहलपुर नगरपालिकाको विकासका लागि योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा समेत नगर सभा सदस्य हरुले जोड दिएका थिए ।
ढल, नाला तथा सडक निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँहरुले त्यसको गुणस्तरीयताको सवालमा अनुगमन संयन्त्रलाई प्रभावकारी गराइनुपर्ने बताए । डिजिटल कोहलपुरको अवधारणालाई साकार पार्नेदेखि शिक्षा र स्वास्थ्यमा नमुना पालिका बनाउने सवालमा सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक रहेकोमा नगरसभाका सदस्यहरुको जोड थियो । त्यसक्रममा नगरसभा सदस्यहरुले उठाएका केही सवालहरुको बारेमा जवाफ दिँदै नगर प्रमुख आचार्यले नगरपालिकाको नीतिगत सुधारका सवालमा सकारात्मक अभ्यासहरुको थालनी गरिएको जानकारी दिनुभयो । ठेक्का लिने तर सम्झौता अनुसार काम नगर्ने व्यवसायीहरुलाई खरिद ऐन अन्तर्गत कारवाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो । त्यस्तै नगर उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकालाई व्यवस्थित नगरपालिका बनाउने सवालमा सकारात्मक कामहरुको थालनी भइसकेको बताउनुभयो । नगरपालिकाले नगरभित्र भइरहेका कामहरुको प्रभावकारी अनुगमन र कमजोरी भएका स्थानमा सुधार्ने काम भइरहेको बताउनुभयो । नगरसभाको अर्को बैठक माघ १३ गतेका लागि तोकिएको छ ।