वालिङमा राष्ट्रिय फुटबल प्रतियोगिता सुरु

मेचीकाली संवाददाता

१ माघ २०७९, आईतवार
284 shares

मुक्ति न्यौपाने
वालिङ । स्याङ्जाको वालिङमा शनिबारदेखि प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता सुरु भएको छ । वालिङ युनाइटेड क्लवले प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिता उद्घाटन गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैहेले क्लवले राष्ट्रिय स्तरमा फुटवल जस्ता प्रतियोगिता आयोजना गरेर देश र समाजलाई चिनाउन सहयोग पुर्याएको बताइन । खेलको माध्यमबाट युवाहरुको आर्थिक विकासका साथै जीवन् स्तरमा समेत सहयोग पुर्याउन टेवा पुग्ने उनले उल्लेख गरीन् ।

शनिबार भएको उद्घाटन खेलमा आयोजक वालिङ युनाइटेड क्लव रातोले विजयी सुरुवात गरेको छ । युनाइटेड क्लव रातोले लिस्नु क्लव कोटिहवा रुपन्देहीलाई शुन्यका विरुद्ध एक गोल गर्दै विजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफ गोल रहित सकिएको थियो दोस्रो हाफको छैटौं मिनेट युनाइटेड क्लव रातोले गोल गर्न सफल भएको हो । मैदानको दायाँबाट सफल थापाले गरेको प्रहारलाई लिस्नुका गोलकिपर सन्देश थापाले फर्काएसँगै जर्सी नम्वर ८का सकुल गुरुङले गोलमा परिणत गरेका थिए । गुरुङको गोल नै युनाइटेड रातोको जीतका लागि निर्णायक बन्यो ।

खेलको सुरुदेखि युनाइटेड रातोले लिस्नुलाई दवावमा पारेको थियो । खेलको इन्जुरी समयको चार मिनेटमा लिस्नुका आशिष चापागाईंले पाएको डाइरेक्ट फ्रिकिकलाई युनाइटेड रातोका गोलकिपर रुपेश हमालले कुशलतापूर्वक बचाएसँगै लिस्नु क्लव दुर्भाग्य बन्यो । यसैगरी वालिङ गोल्ड कपको दोस्रो दिन माघ १ गते आइतबार शसस्त्र प्रहरी बल (एपिएफ) र केबिए बीएफएस भरतपुर चितवनका बीच प्रतिस्पर्धा हुने छ । खेल दिउसो साढे एक बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विभागीय टीम त्रिभुवन आर्मी, शसस्त्र प्रहरी बल (एपिएफ), साहरा फुटवल क्लव पोखरा, केबिए बीएफएस चितवन, लिस्नु क्लव कोटिहवा रुपन्देही, एभिनेयर फुटवल क्लव अफ्रिका र स्थानीय दुई टीमसहित ८ समूहको सहभागिता रहेको पहिलो वालिङ गोल्ड कप माघ ७ गते समापन हुनेछ ।