सुस्ता बचाउँ अभियान्ता ‘गोपाल गुरुङ बचाउँ अभियान सुरु’

मेचीकाली संवाददाता

४ माघ २०७९, बुधबार
131 shares

बुटवल । सुस्ता बचाउँ अभियानका अभियान्ता गोपाल गुरुङको उपचारका लागि गोपाल गुरुङ बचाउन अभियन शुरु गरिएको छ । पश्चिम नवलपरासीको सुस्ताको नेपाली भूमि भारतीय पक्षले अतिक्रमण गरेपछि गोपाल गुरुङले सुस्ता बचाउन अभियान सञ्चालन गरेका थिए ।

नेपाली भूमि बचाउन भारतीय ज्यादतीविरुद्ध लड्दै आएका गुरुङ अहिले विरामी छन् । अकस्मात मष्तिष्क घात भएपछि गुरुङको गत पुस ८ गतेदेखि भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । ६२ वर्षिय गुरुङको अहिले भ्यान्टिलेटरमा राखेर उपचार भैरहेको गोपाल गुरुङकी छोरी प्रसन्द गुरुङले जानकारी दिइन । ।उपचारका लागि आर्थिक समस्या भएको घरपरिवारले बताएपछि बुटवलबाट गोपाल गुरुङ बचाउन अभियान सञ्चालन गरिएको छ ।

गोपाल गुरुङको उपचारमा आर्थिक समस्या भएपछि लिट्स कलेजका प्रमुख बसन्तराज खनाल, लेखक तथा साहित्यकार दलबहादुर गुरुङ र पत्रकार श्यामलाल पोखरेलको अगुवाईमा गोपाल गुरुङ बचाउन अभियान शुरु गरिएको हो । गोपाल गुरुङको उपचारका लागि लिट्स कलेज बुटवलले रु १५ हजार, सिद्वाबाबा मन्दिर विकास समिति पाल्पाले रु १५ हजार, बुटवलका लोकनाथ भुसालले रु ५ हजार, बेनप्रसाद थापाले रु ५२५, गोपाल श्रेष्ठले रु ५ सय र कोपिला बुढाले रु ५ सय सहगोग गरेका छन् ।

गुरुङको उपचारका लागि प्राइम बैंकमा गुरुङकी छोरी प्रसन्द गुरुङको नाममा रहेको खाता नम्बर १७२०००२१ पी इ मा रकम जम्मा गर्न सकिनेछ । आर्थिक अवस्था कमजोर भएका गुरुङका परिवारले अहिलेसम्म सरसापट गरेर उपचारमा करिब ६ लाख बढी खर्चेका छन् । आईसीयूमा उपचारबाट निको नभएपछि गुरुङको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगका लागि गोपाल गुरुङकी छोरी प्रसन्त गुरुङले सबैलाई आग्रह गरेकी छन् । देशको भूमि जोगाउन जीवन मरणको लडाई लड्दा पनि राज्य पक्षले केही सहयोग नगरेको भन्दै गुरुङी छोरी प्रसन्द गुरुङले गुनासो गरेकी छन् ।

देशको भूमि बचाउन लड्दै आएका गोपाल गुरुङ अहिले आफैलाई बचाउन आग्रह गर्दापनि राज्यले उपचारमा सहयोग नगरेकाले आर्थिक जुटाउन अभियान चलाईएको गोपाल गुरुङ बचाउ अभियानका सदस्य दलबहादुर गुरुङले बताए ।
नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि सुस्तामा बसेर भारतीय अतिक्रमणविरुद्ध अभियान नै चलाएका थिए । २०६२ सालदेखि भारतीयले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही २०६२ साल जेठ १७ गते गुरुङले सुस्ता बचाउ अभियान नामक समिति गठन गरेर अतिक्रमणविरुद्व अभियानमा लागेका थिए ।

भारतीय अतिक्रमणबारे नेपाल सरकारलाई पटक–पटक लिखित रुपमा जानकारी गराएका गुरुङलाई भारतीय सुरक्षाकर्मीले झुठा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको थियो । अतिक्रमणविरुद्व भारतीय पक्षको बिरोध गर्दा गोपाल गुरुङलाई धेरैपटक ज्यान मार्ने धम्की पनि खेपेका थिए । आफ्नो भूमि जोगाउन लामो समय लडेका उनै गुरुङ अहिले उपचार विरामी छन् ।