लुम्बिनी प्रदेशका सभामुख घर्ती र उपसभामुखमा खाँणले लिए शपथ

मेचीकाली संवाददाता

४ माघ २०७९, बुधबार
209 shares

बुटवल । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खाँणले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले सभामुख घर्तीलाई प्रदेश सभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराएका थिए । भने उपसभामुख खाँणलाई सभामुख घर्तीे सपथ गराएका हुन् ।

मंगलबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुख र उपसभामुखलाई निर्विरोध निर्वाचित गरेको थियो । घर्ती पाल्पा २(ख) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् भने खाँण गुल्मीबाट समानुपातिक सांसद बनेकी हुन् । शपथ कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, विनाविभागीय मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो ।

सभामुख र उपसभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गरेका थिए । अब माघ ५ गते बिहीबार बस्ने प्रदेश शभाको बैठकको सञ्चालन भने सभामुख घर्तीले गर्नेछन् । सोही दिन मुख्यमन्त्री गिरीले विश्वासको मत लिने कार्यतालिका छ ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा सरकारलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३, लोसपाका ३ र स्वतन्त्र २ गरी ५८ जना सांसदले समर्थन गरेका छन् । लुम्बिनीमा नेपाली कांग्रेसका २७, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एकएक सांसद रहेका छन् ।