पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

मेचीकाली संवाददाता

१२ माघ २०७९, बिहीबार
298 shares

बुटवल । पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–४ केराबारीमा गएराती १२ बजेतिर भएको दुर्घटनामा चालक सरोज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाल्पाबाट बुटवलतर्फ आउदै गरेको ना ८ ख ७९२४ नम्बरको टिप्पर दुर्घटनामा स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय न्यौपानेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटना पछि घटनास्थलमा पुगेको प्रहरीले बुधबार राती खोजतलास गर्दा चालकलाई फेला नपारेपछि विहिबार बिहान पुनः खोजी गर्ने क्रममा उनी पानीमा डुबेको अवस्थामा मृत फेला परेका थिए ।

दुर्घटनाग्रस्त टिपर सडकबाट करिब १ हजार २ सय मिटर तल तिनाउ खोलामा खसेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।